‘भर्जिन’ जुगल हिमाल आरोहण हुँदै

विजय नेपाल÷चौतारा
१० फागुन २०७५– राजधानीबाट नजीकै भएर पनि अहिलेसम्म आरोहण नखुलेको ‘भर्जिन’ जुगल हिमश्रङ्खलाको छ हजार एक सय ५१ मिटर अग्लो ग्याल्चेन हिमालको आरोहण गरीने भएको छ ।
हिजो पर्यटन बोर्डको सभाकक्षमा पत्रकार सम्मेलन गर्दै जुगल गाँउपालिकाले सो कुराको जानकारी गराएको हो । पर्यटनको विकासले राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पु¥याउनुका साथै अन्तराष्ट्रिय शान्ति, समझदारी, सम्वन्ध र भाइचारामा समेत महतवपूर्ण योगदान पु¥याउने भन्दै जुगल हिमालको आरोहण गर्न लागिएको सो गाँउपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो । ‘संघीय राजधानी काठमाण्डौबाट  १४५ कि.मि दुरीमा रहेको जुगल हिमश्रृंखला हालसम्म औपचारिक रुपमा मानव पाइला नपरेको ‘भर्जिन’ क्षेत्र हो ।’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘ जुगल गाउँपालिकाको आयोजना, ३ नं. प्रदेश सरकारको मुख्य सहयोग र सिन्धुु पर्यटन परिषद्को सहजीकरण, पर्यटन संबद्ध निकाय र गैर सरकारी संघसंस्थाहरु समेतको सहयोगमा प्रथम जुगल हिमाल आरोहण कार्यक्रम तय भएको हो ।’
यहि २०७५ चैत्र १५ गते देखि जुगल हिमाल आरोहणको कार्यक्रम तय गरिएको श्रेष्ठले बताउनुभयो ।  हिमाल आरोहणका लागि सम्भाव्यता अध्ययन, रुट पहिचान तथा निर्धारण लगायतका कार्य भएकोले सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा पहिलो चरणमा हिमाल आरोहणका विज्ञ टोली यसमा सामेल हुनुहुनेछ । यो आरोहण अवधि २० देखि ३० दिन रहन सक्ने अनुमान गरिएको छ । हिमालको आरोहणसँगसँगै ट्रयाक समेत निर्माण गर्नुपर्ने भएकोले टोलीमा सगारमाथा आरोहण गरिसकेका विज्ञहरु मात्रै सहभागी हुने गाँउपालिकाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका अन्तर्गत पर्ने जुगल हिमश्रृंखला एक उत्कृष्ट गन्तव्य बनाउने योजना गाँउपालिकको छ । गाउँपालिका वडा नं ३ को उत्तरी भेगमा रहेको यस हिमश्रृंखलामा २ दर्जन भन्दा बढि चुचुरा रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । यो सँख्या एकै जिल्लाको लागि सबैभन्दा धेरै हुनसक्ने गाँउपालिकाले बताएको छ ।
‘३५ सय मिटरको उचाइमा रहेको नेपेमासालको मनोरम दृश्य यस क्षेत्रको महत्वपूर्ण पर्यटकीय गन्तव्यको आधार हो । उच्च भुभागमा रहेको फराकिलो मैदान, नजिकै कलकल बगिरहेको ब्रहायणी नदी , हरियाली जंगल, जंगलमार्गमा तोङश्युक (हजार जना अट्ने) गुफा र त्यसैको आडमा रहेको जुगल हिमश्रृंखलाको सुन्दरतम दृष्यको संयोजन आफैमा एक अद्भुत क्यानभास हो ।’ गाँउपालिकाले भनेको छ ‘बौद्ध धर्मालम्बीहरुको आस्था विश्वासका दृष्टिले पनि यस क्षेत्रको विषेश महत्व रहेको छ । बौद्ध धर्मका गुरु पद्यमसम्भाले ध्यान गरेको तथा भविष्यमा हुन सक्ने विभिन्न परिघटनाका भविष्यवाणीको लिखतहरु यस क्षेत्रमा सुरक्षित रुपमा राखिएको किंवदन्ती पनि रहेको छ । बौद्ध धर्मका अलावा अन्य धर्मावलम्बीहरुले पनि यस क्षेत्रलाई विशेष आस्था र श्रद्धाका साथ महत्व दिएको पाइन्छ  ।’
भ्रमण वर्ष २०२० लाई लक्षीत गरी गाँउपालिकाले काठमाण्डौबाट गुम्बा, तेम्बाथान हुदै यात्राको रुट तयार गरेको छ । गुम्बासम्म मोटरबाटो प्रयोगगरी सवारी साधनमार्फत यात्रा गर्न सकिन्छ । तेम्बाथान पार गरेपछि मानव बस्तीको अन्त्य हुनेछ । तेम्बाथानबाट पैदल यात्राबाट छेन्दाङ पार गरेपछि नेपेमासाल पुग्न सकिन्छ । नेमेमासालबाट चुचुरोको शुरुवात हुनेछ । त्यहाँबाट अगाडी बढेपछि बुम्बाशेर्पु आधारक्षेत्र (बेसक्याम्प) पूग्न सकिन्छ । बेसक्याम्प हाइक्याम्प समिट (शिखर) पुगरे फर्र्कीएपछि यात्राको समापन हुनेछ ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.