बमजनमाथिको प्रहरी अनुसन्धान सुस्त

चौताराः सरकारको यथेष्ट आड नपाएपछि रामबहादुर बमजनमाथि प्रहरीले अघि बढाएको छानबिन सुस्त बनेको छ । बमजनको आश्रमबाट बेपत्ता भएका ५ जनाको परिवारले दिएका जाहेरीमाथि डेढ महिनादेखि जारी प्रहरी अनुसन्धान निष्कर्षमा पुग्न सकेको त छैन नै, यसको गति पनि धेरै सुस्त बनेको छ ।
डेढ महिनाअघि सेतोपाटीले बमजनका आश्रममा भएका बलात्कार, हत्या र हिंसाबारे खोजमूलक स्टोरीहरू प्रकाशन गरेको थियो । त्यसलगत्तै आश्रममा हत्या भएका र बेपत्ता पारिएका व्यक्तिका परिवारले प्रहरीमा जाहेरी दिए । अनुसन्धान अघि बढाउन सुरू गर्नुपहिले प्रहरी नेतृत्वले गृहमन्त्री रामबहादुर थापासँग भेटेर बमजन प्रकरणबारे जानकारी गराएको थियो ।
‘बमजनको सिन्धुपाल्चोक आश्रममा खानतलास गर्न प्रहरी जानुअघि हाम्रो नेतृत्वले गृहमन्त्री थापालाई यसबारे जानकारी गराउँदै निर्देशन मागेको थियो,’ अनुसन्धानमा सक्रिय एक अधिकृतले भने ‘उहाँले यो ‘केसमा’ त्यतिखेर चासो र सक्रियता देखाउनु भएको भए, अनुसन्धानको गति अर्कै हुने थियो ।’
निर्मला पन्त बलात्कार र हत्या प्रकरणपछि ‘रक्षात्मक’ अवस्थामा पुगेको नेपाल प्रहरीलाई गृह मन्त्रालयको राम्रो आड प्राप्त नभएपछि बमजनमाथि अनुसन्धानको गति पनि सुरूदेखि  नै सुस्त बनेको छ । नेपाल प्रहरीले अनुसन्धानबाट हात पूरै झिकेको भने छैन । सिन्धुपाल्चोकका एसपी मुकुन्द मरासिनीको नेतृत्वमा अनुसन्धान जारी छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले त्यसमा सघाइरहेको छ। प्रहरीले घटनामा संलग्न केहीको बयान पनि लिएको छ । तर प्रहरीले सजिलै गर्न सक्ने र गर्नु पर्ने कतिपय परिणाममूलक काम गरेको छैन ।
भदौ ३० गते रौतहटकी गंगामायाले काठमाडौं आएर बमजनमाथि बलात्कारको आरोप लगाउँदै पत्रकार सम्मेलन गरिन् । उक्त पत्रकार सम्मेलनमै प्रहरी उपस्थित थिए। आफूमाथि बलात्कार भएको भन्दै पत्रकार सम्मेलन गरेकी बालिकालाई प्रहरीले तत्काल संरक्षण दिनुपर्थ्यो। उजुरी लिएर अनुसन्धान सुरू गर्नुपर्थ्यो । प्रहरीले त्यस्तो पहल गरेन ।
गंगामाया भोलिपल्ट प्रहरीमा उजुरी दिन आफैं गइन्। तर हदम्याद नाघेको भन्दै उनको उजुरी लिन प्रहरीले मानेन । बालबालिका संरक्षण गर्ने एउटा संस्थाको जिम्मा लगाएर पन्छियो । तर अहिलेसम्म उनको घटनामा छानबिन वा मुद्दा अघि बढाउने प्रयास गरेको छैन। जबकी नाबालक हुँदै गंगामायामाथि भएको बलात्कारबारे अनुसन्धान गर्न र अदालतमा मुद्दा लैजान सक्ने बलियो कानुनी व्यवस्था छ ।
बालबालिका ऐन २०७५ अनुसार, नाबालक हुँदै कसैमाथि बलत्कार वा यौन हिंसा गरिएको छ भने सो नाबालक १८ वर्ष पुगेपछि एक वर्ष्भित्र त्यस्तो यौन हिंसाविरूद्ध उजुरी दिन पाउँछ । उक्त ऐनको दफा ६६ र ७४ मा बालबालिकाविरूद्धको कसुर के हो र ती कसुर भएमा कहिलेसम्म उजुरी गर्न सकिन्छ भन्ने स्पष्ट व्यवस्था छ । गंगामाया अहिले १८ वर्ष पुगेकी छन्। त्यसैले उनको उजुरीको हदम्याद सकिएको छैन । प्रहरीले बमजनविरुद्ध बलियो गरी अघि नबढाएको अर्को ‘केस’ मकवानपुरका सञ्चलाल वाइवाको हत्या पनि हो ।
बमजनको सिन्धुपाल्चोकस्थित आश्रममा वाइवाको हत्या भएको देख्ने कम्तिमा दुई जना प्रत्यक्षदर्शीसँग प्रहरीले बयान लिइसकेको छ । ती प्रत्यक्षदर्शीको बयान पुष्टि हुने सहायक प्रमाण पनि प्रहरीसँग छन् । ‘हत्या भएका व्यक्तिको लास नभेटिएसम्म केस अघि नबढाउनु भन्ने आसय गृह मन्त्रालयबाट आएपछि बमजनलाई पक्रिने र थप अनुसन्धान गर्ने दिशामा प्रहरी अघि बढ्न नसकेको हो,’ एक प्रहरी अधिकृतले भन्नुभयो ।
कुनै पनि हत्याको पुष्टिका लागि लास महत्वपूर्ण प्रमाण हो । अदालतले लास खोज्ने गर्छ। तर लास नभेटी हत्या प्रमाणित नै नहुने होइन। सर्वोच्च अदालतले यस्तो नजिर स्थापित गरिसकेको छ । पर्वतमा भएको एउटा कर्तव्य ज्यानसम्बन्धी मुद्दाको फैसलामा लास नभेटिए पनि हत्या अभियोजन हुन सक्ने नजिर सर्वोच्चले स्थापित गरेको छ ।
बमजनको सिन्धुपाल्चोक आश्रममा सञ्चलालको हत्या घटनाको अभियोजनमा पनि सर्वोच्चका यी दुई फैसला नजिर बन्न सक्छन् । २०७१ साल चैत १४ गते सञ्चलालले आफ्ना छोरालाई १७ गते घर आउँछु भन्दै सिन्धुपाल्चोक आश्रमबाट फोन गरेका थिए । आउँछु भनेको १० दिनसम्म नआएपछि छोरा महिन्द्र बाबु खोज्दै त्यहाँ पुगे । आश्रमले आधिकारीक जवाफ दिएन । केही मानिसहरूले झरी परेको बेला निस्केर गएको भने । यो कुरा महिन्द्रले प्रहरीमा दिएको जाहेरीमै उल्लेख छ। यही सूचना र बयान सञ्चलालको मुद्दा स्थापित गर्ने पहिलो कडी हो ।
 त्यहाँ उत्खनन गर्दा पाँच सात फिट जमिनमूनि ९ वटा नुनको पोका फेला परेका थिए। साक्षीहरूले भनेको कुरा सत्य नभएको  भए एकै ठाउँमा यति धेरै नुनका पोका भेट्न सम्भव थिएन ती नुनका पोका घरमा प्रयोग गरिएका होइनन् भन्ने पोकाका प्रकृतिबाट पनि पुष्टि हुन्छ ।
घरायसी प्रयोग गर्न नुनको पोका एउटा छेउबाट वा माथिबाट पुरै काटिन्छ। तर उत्खनन् गर्दा फेला परेकामा सबै पोका बीचबाट ठूलो प्वाल पारेर खोलिएको छ। लासमा नुन खन्याउदा जसरी पोखिए पनि फरक पर्दैन, त्यसैले बीचमा भ्वाङ पारेर पोका फुटाइएको छ। साक्षीले भनेकै ठाउँमा यति धेरै फिट जमिनमूनि भेटिएका ती नुनका पोका अदालतसामू उनीहरूको बयानको सत्यता पुष्टि गर्ने बलियो प्रमाण हुन् ।

Lokpriyasamachar@. Powered by Blogger.