लोकप्रियले मनायो विश्व रेडियो दिवस

लोकप्रिय नेत्रज्योति सञ्चार समूहले विश्व रेडियो दिवस मनाएको छ । सम्मान एवम् सिर्जना वाचन कार्यक्रम गरेर बुधबार समूहले दिवस मनाएको हो ।

जिल्लामा कुनै पनि सञ्चार संस्थाहरुले दिवस नमनाएको अवस्थामा नेत्रज्योति सञ्चार समूहले दिवस मनाएर सह्रानिय काम गरेको कार्यक्रमका प्रमुख अतिथि एवम् चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताउनुभयो ।
नगरपालिका स्थित वडा नं. ५ को सभाहलमा भएको कार्यक्रममा तामाङले सञ्चारले समाजलाई परिवर्तन गर्ने भएकोले परिवर्तनकारी भूमिका खेल्न सञ्चार क्षेत्रलाई आग्रह गर्नुभयो । ‘समाजका साना भन्दा साना समस्यालाई सञ्चारमाध्यमले उजागर गर्नुपर्दछ’, तामाङले भन्नुभयो– ‘त्यसो हुँदा समाजमा विसंगति फैलन पाउँदैन ।’
कार्यक्रममा विशेष अतिथि एवम् चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. ५ का वडा अध्यक्ष नरमान श्रेष्ठले सञ्चार जगत सदैव सत्य तथ्यमा आधारित सहेर सञ्चालन हुनुपर्नेमा जोड दिँदै रेडियोले यस विषयमा विशेष भूमिका खेल्नुपर्ने औल्याउनुभयो ।

कार्यक्रममा रेडियोकर्मी एवम् साहित्यकार अमित घिमिरेले रेडियोहरुले सधैं अरुकोमात्र कार्यक्रम चलाउने गरेकोप्रति चिन्ता व्यक्त गर्दै आफ्नै मौलिकपनमा रेडियो कार्यक्रम उत्पादन गरी प्रशारण गरिनुपर्नेमा जोड दिनुभयो । ‘रेडियोमा गीत, अरुका कार्यक्रम बजाउनु भन्दा हाम्रै समाजमा भएका सानातिना घटनाहरुलाई प्रथमिकताका साथ प्रशारण गर्न सक्यौं भने आफ्नोपन झल्कन्छ’, घिमिरेले भन्नुभयो– ‘रेडियोहरुले त्यतातर्फ ध्यान पु¥याउन सके आवाज विहिनहरुको आवाज बन्न सक्नेछ ।
कार्यक्रमा सञ्चार समूहले जिल्लामा साहित्यको क्षेत्रमा एक वर्षदेखि निरन्तर कार्य गर्दै आईरहेको शब्द–सारथीलाई सम्मान गरेको छ । नगरपालिकाका प्रमुख अमानसिं तामाङले शब्द–सारथीको अध्यक्ष अमित घिमिरेलाई सम्मान प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न स्रष्टाहरुले सिर्जना बाचन समेत गरेका थिए । कवि सुरेश बुढाथोकी, अविरल अप्रिय, कृष्णबहादुर ढकुरी, पार्वति फुयाँल, सदिना कुईकेलले रचना बाचन गर्नुभएको थियो ।
नेत्रज्योति सञ्चार समूहको कार्यकारी प्रमुख नेत्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पार्वती फुयाँलले स्वागत गर्नुभएको थियो । साहित्यकार सुन्दर शिरीषले सञ्चालन गर्नुभएको सो कार्यक्रममा जनप्रतिनिधि, बुद्धिजीवि, सञ्चारकर्मीहरुको उपस्थिति थियो ।



, , ,
Lokpriyasamachar@. Powered by Blogger.