७ जनाले जुगल हिमालको प्रथम आरोहण गर्ने

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रहेको जुगल हिमालमा आरोहण हुने पक्का भएको छ ।
जिल्लाकै सगरमाथा आरोही माया गुरुङको नेतृत्वको टोली चैत १५ गते बेसक्याम्प पुग्ने भएका छन् । बैशाख ७ गतेसम्ममा आरोहण पूरा गरिने आयोजकले जनाएको छ ।
आरोहण टोली सात जनाको रहने जनाईएको छ । टोलीमा पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गेका नाति र पर्वतारोहण विज्ञसमेत रहनेछन् ।
सिन्धु पर्यटन परिषद् एवं जुगल गाउँपालिकाको संयुक्त आयोजनामा गरिएको पत्रकार सम्मेलनमा जुगल गाउँपालिकाका प्रमुख होमनारायण श्रेष्ठले धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक दृष्टिकोणले पर्यटन क्षेत्रका लागि प्रबल सम्भावना रहेको बताउनुभयो ।
‘जुगल हिमश्रृंखलाको हिम चुचुराहरु आरोहण खुलाई नेपालको पर्यटन उद्योगमा एक आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने उद्देश्य रहेको छ,’ गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले भन्नुभयो– ‘यो पर्यटन विकासको एउटा अध्याय हो ।’ जुगलको पनि थुप्रै चुचुराहरु मध्ये समुन्द्र सतहबाट ६ हजार १ सय ५१ मिटरको उचाईमा रहेको ‘ग्याल्चेन पिक’को प्रथम आरोहण गर्न लागेको जानकारी दिनुहुँदै उहाँले  राजधानीदेखि सबैभन्दा नजिक पर्ने हिमाल नै जुगल भएको बताउनुभयो ।
श्रेष्ठले गाउँपालिकाले पर्यटन विकासलाई महत्व दिएर अगाडि बढेको बताउँदै छोटो समयमा र थोरै खर्चमा पदयात्रा जान चाहनेका लागि जुगल उत्कृष्ट गन्तव्य हुनसक्ने जानकारी दिनुभयो । उहाँले भ्रमण वर्ष २०२० का लागि सूचीकृत गन्तव्यका रूपमा सो क्षेत्रलाई राख्न पनि सम्बद्ध निकायसमक्ष आग्रह गर्नुभयो ।
सोहि कार्यक्रममा संघीय सांसद अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक सबैथोकले भरिपूर्ण रहेको उल्लेख गर्दै जुगल हिमालले सिन्धुपाल्चोक पर्यटन र अर्थतन्त्रमा कायापलट गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सिन्धुपाल्चोकलाई मात्र समृद्ध नभई जुगलले देशले लिएको लक्ष्य ट्वान्टी–ट्वान्टीको पनि एक हिस्सा बन्ने बताउनुभयो । ‘समृद्ध नेपाल निमार्ण गर्न पर्यटनले नै भूमिका खलेको हुन्छ । र यसको एक हिस्सा जुगल पनि बन्ने पक्का छ,’ सापकोटाले भन्नुभयो ।
 कार्यक्रममा प्रदेश नं ३ का पर्यटन मन्त्री अरुण नेपालले पर्यटन नै देशको आर्थीक विकासको मूख्य पाटो रहेको उल्लेख गर्दै राजधानीदेखि सबैभन्दा चाँडो पुगिने हिमाल नै जुगल हुने बताउनुभयो । ‘जुगलको प्रथम पटक आरोहण गर्न म पनि तयार हुँदैछु’, मन्त्री नेपालले भन्नुभयो– ‘जुगलले अब प्रदेश नं ३ को आर्थीक विकासमा टेवा पु¥याउँछ ।’ उहाँले । प्रदेश नं ३ को तर्फबाट पनि यो कार्यको लागि ४० लाख बजेट अनुदानको रुपमा प्रदान गर्ने भएको जानकारी दिनुभयो ।
कार्यक्रममा आरोहणको नेतृत्व गरिरहेकी गुरुङले जुगल हिमाल अहिलेसम्म कसैले पनि आरोहण नगरेको जानकारी दिनुभयो । सगरमाथा आरोही गुरुङले जुगल हिमशृङ्खलामा अहिलेसम्म मानव पाइला नपुगेको ‘भर्जिन’ क्षेत्र भएकाले हिमाल आरोहणमा मात्र केन्द्रित नभएर सम्भाव्यता अध्ययन, ‘रुट’ पहिचान तथा निर्धारणलगायतका कार्यमा पनि केन्द्रित हुने जानकारी दिनुभयो ।
‘यो पहिलो रेकर्ड हुनेछ,’ गुरुङले भन्नुभयो– ‘जुगलको २६ वटा पिकमध्ये ग्याल्चोङ पीक हाम्रो टार्गेट हो । जुन ६ हजार १ सय ५१ मिटर अग्लो उचाइमा छ ।’
उनले आरोहण पछि सिन्धुपाल्चोकको रुप नै परिवर्तन गर्ने बताउँदै गौरीशंकरको देब्रे पट्टी र लाङटाङ हिमालको दाहिने पट्टी बिचमा रहेको जुगलले पनि अब पर्यटकलाई सजिलै आकर्षण गर्ने बताउनुभयो ।


, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.