भूकम्पपीडितको गुनासो सम्बोधन हुने

राष्ट्रिय पुनर्निर्माण प्राधिकारणका प्रमूख कार्यकारी अधिकृत शुसिल ज्ञवालीले भूकम्पपीडितको सुचिमा नाम छुटेकाहरुको गुनासो छिट्टै सम्बोधन हुने बताउनुभएको छ ।
हिजो राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई सिन्धुपाल्चोकले मेलम्चीमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उहाँले यस्तो कुरा बताउनु भएको हो । ‘चैत पहिलो साताभित्र १४ वटै जिल्लाका भूकम्प प्रभावितहरुको गुनासो सम्बोधन गर्ने तयारीमा हामी छौं,’ ज्ञवालीले भन्नुभयो– ‘भूकम्पपिडितको सूचिमा नाम नपेकाहरुले भर्नुभएको गुनासो फारमका आधारमा छानविन गरी छिट्टै सूचि प्रकाशन गर्ने तयारीमा रहेका छौं ।’ विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कमजोरीका कारण गुनासो सम्बोधमा ढिलाइ हुन गएको भन्दै ज्ञवालीले अब पिडितले धेरै समय कुर्न नपर्ने बताउनुभयो ।
प्राधिकरणको पहिलो प्राथमिकता नै जनताको घर बनाउनु रहेकोले यसको लागि सबै टीम मेहनत गरेर लागिरहेको उहाँले बताउनुभयो । पहिलो किस्ता लिएर पनि आर्थिक अभावकै कारण घर बनाउन नसक्नेहरुको लागि घोषणा गरिएको तिन लाखको सहुलियत ऋण प्रदान गर्न कार्यविधि समेत तयार भैसकेकोले अब छिट्टै सो कार्यविधि कार्यान्वयनमा आउने उहाँले बताउनुभयो ।
मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीप्रसाद थपलियाले नगरपालिका भित्र १३ हजार ३ सय ७४ भुकम्प प्रभावित लाभग्राहि रहेकोमा १३ हजार ५५ लाभग्राहीले मात्रै पहिलो किस्ता बापतको ५० हजार रुपैया लिएको बताउनुभयो । ति मध्ये १२ हजार २४ ले दोस्रो र आठ हजार २ सय ८६ ले तेस्रो किस्ता लिएको बताउनुभयो । हालसम्म ८ सय १० जनाको गुनासो सम्बोधन भएको र नगरपालिका भित्र अझैपनि ९ सय १५ जनाको गुनासो सम्बोधन बाकी रहेको समेत थपलियाले बताउनुभयो ।
सार्वजनिक सुनुवाई समारोहमा उपस्थित व्यक्तिहरुको प्रश्नको जवाफ दिदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आफुहरु सकेसम्म कुनै पनि भूकम्पपिडितको अनुदान प्रकृया छिटै सकेर खातामा पैसा हालिदिने तयारीमा रहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई सिन्धुपाल्चोकका प्रमुख सन्तोष निरौला, स्थानीय जनप्रतिनिधि तथा शिक्षकहरुको पनि उपस्थिती रहेको थियो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.