आज विश्व क्षयरोग दिवस


विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ ।
क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ ।
एक जना क्षयरोगीले समयमा औषधी नगर्दा एक वर्षमा अरु १० देखि १५ प्रतिशतलाई रोग सार्ने चिकित्सकहरुले बताएका छन् । सक्रिय खालको क्षयरोग भएको व्यक्तिमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, रातीमा पसीना आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या केही दिन या केही महिना सम्म देखिन्छ ।
यस्तो बेला तत्काल परिक्षण गराएर औषधी शुरु गरिहाले रोगबाट जोगिन सकिने चिकित्सकको सुझाव छ । क्षयरोग सजिलै उपचार हुने रोग भएकाले रोग लागेको थाहा हुने बित्तिकै नियमीत औषधी सेवन गरे यसबाट जोगिन सकिन्छ ।
औषधी नियमीत खान छोडे कडा खालको संक्रमण हुने र ज्यानै जाने सम्भावना हुने भएकाले औषधीको नियमीततामा स्वास्थ्यकर्मीले जोड दिएका छन् ।
नेपालमा राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम मार्फत देशभरी क्षयरोगीका लागि प्रत्यक्ष निगरानीमा गरिने डट्स विधीबाट उपचार गर्ने गरिएको छ । ४ हजार २ सय ५१ उपचार केन्द्रमा डट्स विधीबाट उपचार हुन्छ ।
त्यस्ता उपचार केन्द्रमा बिरामीलाई निशुल्क औषधी चिकित्सकको प्रत्यक्ष निगरानीमा खुवाउने गरिन्छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा क्षयरोगीको संख्या झण्डै ३६ हजार छ ।

, , , , ,