माझी बस्ती सिलन्यासको घटनाप्रति नेकपाको खेद

प्यूघर–भदौरे एकीकृत बस्ती शिलन्यासको क्रममा इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङले देखाएको व्यवहारप्रति नेकपा इन्द्रावती संसदीय दलले खेद प्रकट गरेको छ ।
बस्ती शिलन्यासको क्रममा कार्यक्रम स्थल पुग्नुभएको प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलाललाई लक्षित गरी अराजनैतिक शैलीमा पालिका अध्यक्ष उपस्थित हुनु खेदजनक भएको भन्दै संसदीय दलले गम्भीर भत्र्सना गरेको हो ।
‘बस्ती शिलन्यासका लागि प्रदेश सरकारका सामाजिक विकास मन्त्रीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्ने स्थानीय उपभोक्ता समितिको निर्णयलाई चुनौति दिँदै समितिका पदाधिकारीलाई फोन मार्फत धम्क्याउने, डोनर संस्थालाई अनावश्यक टर्चर दिने जस्ता हर्कत अध्यक्ष स्वयम्बाट हुनु र कार्यक्रम स्थलमा उपस्थित मन्त्रीले छलफलको लागि गरेको आग्रहलाई अस्वीकार गरेको घटनाले अध्यक्षको पदीय मर्यादा र हैसियत समाप्त गरेको छ’, खेद प्रस्तावमा उल्लेख छ ।
नेकपा इन्द्रावतीले यस्तो हर्कतप्रति अध्यक्ष तामाङसँग स्पष्टिकरण समेत मागेको छ । ‘यस्तो अराजनैतिक र अपमानजनक गतिविधिप्रति हामी गम्भीर आपत्ति र खेद प्रकट गर्दै उक्त घटनाको सन्दर्भमा गाउँ कार्यपालिका र आगामी गाउँसभामा स्पष्टिकरण लिन गाउँपालिका अध्यक्षसँग जोडदार माग गर्दछौं’, ११ सदस्यीय गाउँपालिका संसदीय दलका पदाधिकारीहरुद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

, , ,