चौतारामा सीपमूलक तालिम सञ्चालन हुने


सन्तोष भण्डारी
चौतारा साँगाचोकगढी नगरपालिकामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् नेपालबाट सीपमूलक तालिम सञ्चालन गरिने भएको छ ।
बनेपा पोलीटेक्नीक इन्टिच्युट, काभ्रेको प्राविधिक सहयोगमा नगरपालिकाका विभिन्न वडामा सो तालिम सञ्चालन हुन लागेको हो ।  सामाजिक विकास मन्त्रलायबाट स्वीकृत भई सञ्चालन हुन लागेको तालिमको शनीबार उद्घाटन गर्दै प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री तथा सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा २ प्रदेश क का सांसद युवराज दुलालले नेपालको विकासको लागि नेपाली नै लाग्नुपर्ने बताउनुभयो ।
‘वैदेशिक रोजगारीका कारण नेपालका हरेक गाँउहरु युवाविहीन बन्दैछन्,’ मन्त्री दुलालले भन्नुभयो– ‘युवाहरुलाई विदेश जानबाट रोक्न र गाँउमै बसेर आर्थिक उपार्जनका काम गर्न सकियोस् भनेर यस्तो तालिम प्रदान गरीएको हो ।’ मन्त्री दुलालले तालिमले दक्ष जनशक्तिको उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उद्घाटन समारोहमा चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख जानुका पराजुलीले गरिवि र बेरोजगारी अन्त्य गर्ने र युवाहरुलाई सीप सिकाएर उद्यमी बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । उपप्रमुख पराजुलीले तालिम चौतारा साँगाचोकगढी नगरपालिकामा सञ्चालन गर्न पहल गर्नुहुने सामाजिक विकास मन्त्री लगाएत सबैलाई धन्यवाद दिनुभयो । तालिम अवधी र तालिम पछि पनि उत्पादन भएका सामग्रीलाई बजार व्यवस्थापन गर्न पनि नगरपालिकाले सहयोग गर्ने उपप्रमुख पराजुलीले बताउनुभयो ।
सरकारको लगानीमा देशभर ४२ हजार र प्रदेश नं. ३ मा मात्रै छ हजार जनाले यस्तो तालिम लिइरहेको बनेपा पोलिटेक्नीकका शिक्षालय प्रमुख मिस्टरकान्त मैनालीले बताउनुभयो । नगरपालिकाका विभिन्न स्थानमा ६५ दिनसम्म निशुल्क तालिम सञ्चालन हुनेछ । प्रशिक्षार्थीहरुलाई विल्डीङ इलोक्ट्रिसियन, बेमौसमी तरकारी खेती, बेकर, ढाका बुनाइ तथा सिलाइ कटाइका तालिम सञ्चालन गरीनेछ ।