मेलम्ची अझै अनिश्चीत

मेलम्ची खानेपानी आयोजनको काममा असहयोग गरेको आरोप लगाई मन्त्रालयका सचिव सरुवा गरे पनि इटालियनल ठेकेदार कम्पनी सिएमसी काममा फर्कने सम्भावना टर्दै गएको छ ।
कर्मचारी र नयाँ सचिवले सिएमसीलाई नै काममा फर्काउनु अवैध भएको भन्दै प्रकृया नै अगाडि बढाएका छैनन् । खानेपानी मन्त्री विना मगरले सिएमसीलाई फिर्ता बोलाएर सकेसम्म चाँडो मेलम्चीको पानी काठमाण्डौ ल्याउने योजनामा सचिव लगाएत कर्मचारीले अवरोध गरेका कारण मेलम्ची आयोजनामा अन्योलता बढ्दै गएको छ । आप्mनो योजनामा साथ नदिएको भन्दै मन्त्री मगरले साविकका सचिव गजेन्द्र ठाकुरलाई सरुवा गराएर नयाँ सचिव दीपेन्द्रनाथ शर्मालाई मन्त्रालयमा ल्याउनुभएको थियो ।
सचिव फेरेरै भएपनि पुरानै ठेकेदार मार्फत काम गराउने योजनामा रहनुभएको मन्त्री बिना मगरको चाहना विपरीत नयाँ सचिवले पनि सिएमसीलाई काममा लगाउनु कानुन विपरीत भनी व्याख्या गरेपछि थप अन्यौलता बढेको मन्त्रालय स्रोतले जनाएको छ । सचिव लगाएत कर्मचारीले कुनै पनि हालतमा सिएमसी फर्काउन नहुने भन्दै यसको विरोधमा एकजुट भएको स्रोतको दावि छ । तर मन्त्री मगर भने सिएमसीलाई फर्काउने पक्षमा रहनुभएको छ ।
‘नयाँ ठेक्का प्रकृयामा जाँदा धेरै लामो समय लाग्ने भएकोले  मन्त्रीज्यूले सिएमसीलाई फर्काउने योजना बनाउनु भएको हुनसक्छ,’ मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भन्नुभयो– ‘तर टाट पल्टिएर इटालीको अदालतमा मुद्दा खेपिरहेको कम्पनी फर्केर आउला र काम गर्ला भन्ने हामिलाई आश छैन ।’ प्रवक्ता पन्तका अनुसार यदि सिएमसीको मुद्दा फछ्र्याैट भई काम गर्न पाउने भै आउन चाहेमा विशेष निर्णय गरेर उसलाई नै काममा लगाउने सम्भावना पनि जीवितै छ । काठमाण्डौलाई जति सक्यो छिटो पानी र सिएमसीलाई काम चाहिएकोले दुबै पक्षको हितको लागि विशेष अवस्थामा यो निर्णय हुनसक्दछ ।
आयोजनाको लागि दातृ निकाय एसियाली विकास बैंकले पनि नयाँ प्रकृयाबाट नै ठेकेदार छनौट गर्नुपर्ने राय व्यक्त गरेको छ । यसरी नयाँ ठेकेदार छनौट गर्दा काम शुरु हुनै सात÷आठ महिना लाग्ने अनुभव आयोजनासँग छ । यसअघि पनि चिनिया कम्पनीलाई हटाएर इटालियन कम्पनीलाई ठेक्का दिँदा काम शुरु हुनै आठ महिना लागेको थियो ।
नयाँ आएको ठेकेदारले पनि लगातार काम गर्ने हो भने पनि काम सक्न कम्तिमा तीन देखि छ महिना लाग्ने प्रवक्ता पन्तले बताउनुभयो । त्यसको लागि पनि ठेकेदारले सुरुङ भित्रको बाँकी रहेको फिनीसिङको काम र बाँध बाँध्ने काम समानान्तर रुपमा एकै पटक शुरु गर्नु पर्दछ । अन्यथा काम सक्ने समय दोब्बर पनि हुनसक्छ । यसरी हेर्दा नयाँ ठेकेदार मार्फत काम गराउने हो भने कम्तीमा एकवर्ष पछि मात्रै मेलम्चीको पानी काठमाण्डौ पुग्ने देखिन्छ ।
यहि समस्यालाई ध्यानमा राखेर मन्त्री मगरले पुरानै ठेकेदार फर्काइ फर्केको छ महिनाभित्रै मेलम्ची काठमाण्डौ ल्याउने सोचमा हुनुहुन्छ । तर कानुनी जटिलता रहेको भन्दै दाता एडिबि र कर्मचारी समेत नयाँ ठेकेदार नै ल्याउने सोचमा छन् । केही समयअघि मन्त्री मगरले एक टोली सिंगापुर पठाएर सीएमसीसँग वार्ता गराउनुभएको थियो । सो टोली सिएमसिको ३१ बुँदे मागपत्र लिएर फर्केको थियो । मन्त्री मगर ती शर्तहरु पूरा गरेरै भएपनि सीएमसीलाई काममा फर्काउन समिति र आयोजनामाथि चर्को दबाव दिइरहनुभएको छ ।
मागपत्रमा सीएमसीले ९५ करोड बराबरको क्षतिपूर्ति र बोनस दिन प्रस्ताव गरेको छ । जफत भएको जमानत फिर्ता गर्नुपर्ने र अन्य विभिन्न भेरियसन बापतको करिब ५० करोड भुक्तानी तत्काल दिए काममा फर्किन सकिने उसको शर्त छ । उसले क्षतिपूर्ति, बोनस, पुरानो दावी तथा बक्यौतासहित करिब १ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरिए ७ दिनभित्र काममा फर्किने बताएको थियो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.