पर्यटन विकासमा जोड


त्रिपुरासुन्दरी गाउँपालिकाले पर्यटनको विकासमा जोड दिईरहेको जनाएको छ । लोकप्रिय नेत्रज्योति सञ्चार समूहले गरको जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रमा पालिकालाई समद्ध बनाउन पर्यटन क्षेत्रको विकासमा लागिपरिरहेको जनाईएको हो ।
‘हामीले हाम्रो पालिकालाई पर्यटनको क्षेत्र बनाउन लागिरहेको छौं,’ पालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले भन्नुभयो– ‘यहाँ पर्यटनको थुप्रै सम्भावनाहरु छन्, त्यसको खोजी गर्दै स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउन लागिपरिरहेका छौं ।’ कालिञ्चोक जोड्ने मार्ग निर्माण गर्ने, त्रिपुरा सुन्दरी मन्दिरलाई व्यस्थित बनाउने, लट्टेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने लक्ष्य गाउँपालिकाले लिएको छ । १ करोड ५० लाखमा बुद्ध पार्क बनाउन लागिएको जानकारी दिनुहुँदै अध्यक्ष श्रेष्ठले त्यसले पर्यटनको विकासमा एउटा खुट्किलो थप्ने आशा व्यक्त गर्नुभयो ।
पर्यटनको साथसाथै शिक्षा, स्वास्थ्य, विकास निर्माण, कृषि, पुननिर्माणका पक्षलाई पनि गाउँपालिकाले महत्वका साथ लिएको उहाँले बताउनुभयो । ‘हामीले जनताका आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने थुप्रै काम गर्दै आएका छौं’, अध्यक्ष श्रेष्ठले भन्नुभयो– ‘यहाँ भएका सम्भावनाहरुलाई पहिल्याउँदै जनताको आयआर्जनमा बृद्धि गर्ने कुरामा हामी गम्भीर भएर लागेका छौं ।’ पालिकाले २४ वटा ऐन बनाई कार्यान्वयन गरेको जानकारी दिदै श्रेष्ठले समाजलाई समृद्ध बनाउन पहल थालिएको जानकारी दिनुभयो ।
लोकप्रिय नेत्रज्योति सञ्चार समूहका कार्यकारी प्रमुख नेत्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा गाउँ कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरु, बुद्धिजीवि, शिक्षक, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

, , ,