सीमान्तकृतको सहभागाीताबारे पैरवी अभियान सम्पन्न

महिला तथा सीमान्तकृत समुदायको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सम्बन्धी पैरवी अभियान सम्पन्न भएको छ ।

मार्च ८, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन देखि मार्च २२ सम्म थालिएको उक्त अभियानमा रेडियो जिंगल, रेडियो साक्षात्कार तथा महिला तथा सिमान्तकृत समुदायको वर्तमान अवस्थिति सम्बन्धी कार्यपत्र प्रस्तुत गरी कार्यक्रम सम्पन्न गरिएको हो । महिला तथा सीमान्तकृत समुदायको अवस्था सम्बन्धी तयार पारिएको कार्यपत्रमा महिला हकसँग सम्बन्धीत बाध्यकारी कानुनी व्यवस्था, राजनैतिक संरचनामा महिलाको प्रतिनिधित्वमा भएका व्यवस्था तथा चुनौतिहरुलाई समेटिएको थियो ।

स्थानीय सरकार सञ्चालन ऐनले प्रत्याभूत गरेको महिला तथा सीमान्तकृतका सवालमा, नीति निर्माण, योजना तर्जुमा, बजेट कार्यक्रमको कानुनी मापदण्डमा पनि कमजोर भूमिका रहेको निष्कर्ष निकालेको थियो । सिन्धुपाल्चोक जिल्ला समन्वय समितिकी उपप्रमुख बाल कुमारी सापकोटाले स्थानीय सरकार संचालनमा महिला तथा सीमान्तकृत जनताको भूमिका गौण ठान्ने गलत प्रवृत्तिले विभिन्न प्रकारका षड्यन्त्र गरी कार्य सम्पादनमा प्रतिकूल असर पारिरहेको धारणा राख्नुभयो ।

‘नियम संगत व्यवहार नगर्ने तथा दलित महिला वडा सदस्यको प्रतिनिधित्वलाई गौण रूपमा हेरिने गरिएको छ,’ सापकोटाले भन्नुभयो–‘महिला तथा सीमान्तकृत समूहका जनप्रतिनिधिलाई अनिवार्य रूपमा सहभागी गराउन यस अभियानले महत्वपूर्ण भूमिका खेलेको छ ।’ बाह्रविसे नगरपालिका उपप्रमुख शुसिला पाख्रिनले विकासका लागि गरिएका संस्थागत तथा कार्यक्रमगत प्रयासहरू अपर्याप्त भएको बताउनुभयो ।

‘विकास कार्यक्रमहरूले लक्षित सबै क्षेत्र र बर्गलाई समेटन नसक्नाले महिला तथा बञ्चितिमा परेका समुदायहरुमा आर्थिक तथा सामाजिक सशक्तिकरण हुन सकेको छैन,’ पाख्रीनले भन्नुभयो– ‘अनुगमन तथा मूल्याङ्कन र प्रतिवेदन प्रणालीहरुमा लैङ्गिक समानता र सामाजिक समाबेशीकरणलाई पूर्ण रुपमा संस्थागत गर्दै सबै सेवा प्रदायक निकायमा आन्तरिकीकरण गर्दै आगामि दिनमा सुधार गर्न जरुरी छ ।’

सुनकोशी गाँउपालिकाका उपप्रमुख लक्ष्मी पौडेलले ब्यबहारिक रुपमा स्थानीय तहमा राजनीतिक, प्रशासनिक तथा प्राबिधिक नेतृत्व बीचको टकरावको स्थितिलाई निरुपण गर्न जनप्रतिनिधि तथा कर्मचारीहरू बीच आवश्यक समन्वय, सहयोग र सहकार्य गर्न यस अभियानले थप हौसला दिने बताउनुभयो । कार्यक्रममा अधिवक्ता चन्द्र बस्नेतले सामाजिक साँस्कृतिक मूल्य मान्यता, संस्कार र व्यवहारले जरो गाडेर बसेको संकीर्ण सोचको अन्त्य हुनुपर्ने बताउनुभयो । महिला तथा सीमान्तकृत जनताको प्रतिनिधित्व केवल उनीहरुको लागि मात्र ठान्ने प्रवृत्ति हावी भन्दै बस्नेतले ‘अर्थपूर्ण सहभागीताले महिला तथा सीमान्तकृत समूहको सशक्तीकरणको तह बढाउदछ’ भन्नुभयो ।

सेसी नेपालको सहयोगमा टुकी संघ सुनकोशीद्वारा सञ्चालित सुशासन परियोजनाले महिला तथा सिमा्नतकृत समुदायको क्षमता अभिवृद्धिका लागि तालिमहरु सञ्चालन गर्दै आईरहको छ । कार्यक्रममा, सेसी नेपालबाट टिम लिडर हेम तेम्बे, सुशासन सल्लाहकार विनोद उपाध्यायको उपस्थिति रहेको थियो ।

, , ,