अपर चाकुमा विष्फोट, चारको मृत्यु

शिवश्री हाइड्रोपावर कम्पनीबाट निर्माणाधिन अपर चाकु जलविद्युत आयोजनामा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ ।

कम्पनीको इन्टेक सिल्डुङमा रहेको मजदुर तथा ठेकेदारको  आवासमा सोमबार भएको विष्फोटमा परी उनीहरुको मृत्यु भएको हो । साँझ आवासमै बसिरहेको अवस्थामा ग्याँस सिलिन्डर पड्किएर उक्त घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धनले बताएको छ ।

‘भान्छाकोठामा रहेको ग्याँस सिलिण्डर पड्कीएर घटना भएको प्रारम्भीक जानकारी पाएका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक माधवप्रसाद काप्mलेले भन्नुभयो– ‘थप अनुसन्धान भएपछि मात्र घटनाको सत्यतथ्य विवरण प्राप्त हुन्छ ।’ स्थानीय हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष बासु पौडेलले भने ग्याँस नभई अरु नै कुनै विस्फोटक पदार्थ पड्केको हुनसक्ने बताउनुभएको छ । ‘घटना किचेनमा नभई स्टोर रुममा भएको छ,’ पौडेलले भन्नुभयो– ‘किचेनमा भएको ग्यासँ सिलिण्डर जस्ताको तस्तै छ ।’ पौडेलले स्टोर रुममा सुरुङ निर्माणको लागि ल्याइएको विष्फोटक पदार्थ पड्कीयको हुनसक्ने बताउनुभयो ।

घटनामा परि दोलखाका गोपाल शेर्पा, भाइकाजी शेर्पा, सन्जुक लामा र एके थापामगरको ज्यान गएको हो । उनीहरु क्रमशः सिआससीका ठेकेदार, साइट इन्चार्ज,  स्टोर किपर र वेल्डीङ मिस्त्री रहेका छन् । घटनामा परि मृत्यु भएका उनिहरुको लास क्षतविच्छेद अवस्थामा रहेको प्रहरीले जनाएको छ । साँझको समयमा घटना भएकोले मंगलबार बिहानैबाट शव संकलन गरिने र त्यसपछि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा पोष्टमार्टम गरी परिवारलाई बुझाइने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले जानकारी दिनुभयो ।

२२ मेगावाट उत्पादन क्षमता रहेको हाइड्रोपावरको काम ७५ प्रतिशत भन्दा वढी सम्पन्न भैसकेको छ । भोटेकोशी गाँउपालिका वडा नंं. ४, फुल्पीङकट्टीमा निर्माणधिन उक्त हाइड्रोपावरको साइट ठेक्का भने सिआरसीले पाएको थियो । निर्माणको अन्तीम चरणमा भएको यस घटनाले आयोजनको निर्माण अवधि बड्न सक्ने आयोजनाले बताएको छ ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.