सम्पन्न हुँदै एकीकृत बस्ती

रामबाबु कोइराला .
अक्सफाम ईन्टरनेश्नल र जनहित  ग्रामीण सेवा समाजको साझेदारीमा सिन्धुपाल्चोकको तेम्बाथानमा निर्माण भैरहेको एकीकृत बस्ति चैत्र १५ भित्र निर्माण सम्पन्न हुने भएको छ ।
९० प्रतिशत काम पूरा भैसकेकोले समयमै निर्माण सम्पन्न गरि लाभग्राही लाई बुझाउन लागेको एकीकृत बस्ती निर्माण समितिका संयोजक साङ्गे लामाले जानकारी दिनुभयो । ४४ घर बनाउने लक्ष रहेकोमा हाललाई ४० घर मात्र बनाइने लामाले बताउनुभयो । त्यसमध्ये ३८ घर सम्पन्न भैसकेको छ । समितिका उपाध्यक्ष पेमा ह्याल्मोको अनुसार कुल ९३ रोपनी जग्गामा छ करोड लगानीमा बस्ती निर्माण भएको हो । घर बनाउनको लागि अक्सफाम र जनहित ग्रामीण सेवा समितिले तीन करोड खर्च गरेको छ भने उक्त बस्तिमा सडक, बिजुली र अन्य पूर्वाधार निर्माण गर्नको लागी भौतिक योजना मन्त्रालयले दुई करोड नब्बे लाख बजेट बिनियोजन गरेको छ ।
२०७२ वैशाख  १२ को भूकम्पले पूर्ण क्षति भई उच्च जोखिममा रहेका यम्बालामा, नादाङ र टासीथाङ टोलका जनतालाई स्थानान्तरणको लागि एकीकृत बस्ती निर्माण गरिएको हो । सरकारले उक्त स्थानका करिब ४८ घर परिवार लाई स्थानान्तरण गर्नुपर्ने बताउनुभएको थियो । बस्ती निर्माण सुरू गर्न लाभग्राहीबाट प्रति घर पहिलो किस्ता बापत ५० हजार र सिआरसीको सहयोग दुई लाखले जग्गा सम्याएको लामाले बताउनुभयो । प्रत्येक घरबाट श्रमदान र संस्थाको सहयोगमा बस्ती बन्न सम्भव भएको ह्याल्मोको भनाई छ ।

बस्तीको प्रत्येक घर भित्र धुँवारहित चुलो, धारा र शौचालय को ब्यबस्था हुनुको साथै परम्परागत ह्याल्मो संस्कृति झल्काउने गरि घरहरूको डिजाइन गरिएको छ । आगामी दिन बस्ती मै माध्यामिक तहसम्मको विद्यालयको ब्यबस्था गरिने गाँउपालीकाले जनाएको छ । ती घरहरुमा ह्योल्मो संस्कृति झल्कने गरि विशेष प्रकारको झ्याल हालिएको छ । सो झ्याल बनाउनको लागि कालिगढलाई विशेष प्रकारको तालिम प्रदान गरिएको जनहित ग्रामीण सेवा समितिका कार्यकारी प्रमुख राजेन्द्र प्रसाद शर्माले बताउनुभयो । सो झ्याल निर्माण गर्दा एउटाको मुल्य करिब एक लाख परेको उहाँले बताउनुभयो ।
बस्तीसम्म पुग्ने सडक बर्खायाममा समेत सवारी सञ्चालन गर्न गाँउपालिकाले सहयोग गर्ने पालिका प्रमुख निमाग्याल्जेन शेर्पाले बताउनुभयो । ‘होमस्टेको रूपमा बस्ती निर्माण भएकोले पर्यटकीय आकर्षणको लागि पनि उक्त ठाँऊ सुविधा सम्पन्न बनाउन गाँउपालिकाले सहयोग गर्छ’ शेर्पाले बताउनुभयो ।



, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.