दोलालघाट महोत्सव– ३ हुदैं

एकराज श्रेष्ठ/दोलालघाट

दोलालघाट पर्यटन प्रवद्धर्न तथा समाज केन्द्र र  दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवको संयुक्त आयोजनामा दोलालघाटको भुम्लुमा बृहत् पर्यटन मेला र दोलालघाट महोत्सव ३ को आयोजना हुने भएको छ ।
दुई संस्थाको आयोजनमा सो महोत्सव  यहि चैत्र २७ गते देखि २०७६ बैशाख ४ गतेसम्म सञ्चालन हुनेछ । दुई चरणमा बाँडिएको सो महोत्सवको पहिलो चरण चैत्र २७ देखि ३० सम्म दोलालघाट पर्यटन प्रवद्धर्न तथा समाज केन्द्रले र दोस्रो चरण २०७६ बैसाख १ देखि ४ सम्म दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवको संयोजनमा कार्यक्रम सञ्चालन गरिनेछ । सो अवधिभर पहिलो चरणको कार्यक्रमको अध्यक्षता पर्यटनका अध्यक्ष रमेश लामाले र दोस्रो चरणको कार्यक्रमको क्लबका अध्यक्ष अष्टबहादुर श्रेष्ठले अध्यक्षता गर्नुहुनेछ ।

महोत्सबमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुती रहने छ । त्यस्तै डिजे सिजन, औधोगिक प्रदर्शनी, खाना महोत्सब समेत सञ्चालन हुनेछ । महोत्सवमा बालबालिकालाई लक्षित गरि बाल उद्यान तथा रमाइलो मेला सञ्चालन हुनेछ । महोत्सवमा सहभागि हुने दर्शकले काठे डुङ्गाको समेत आनन्द लिन सक्ने व्यवस्था मिलाइएको क्लबका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका एक संयोजक श्रेष्ठले बताउनुभयो । ‘हामी विभिन्न झाँकी तथा कृषी प्रदर्शनी समेत गर्नेछौं,’ श्रेष्ठले भन्नुभयो– ‘भुम्लु गाँउपालिकाको वडा स्तरीय फुटबल प्रतियोगिता समेत सञ्चालन गर्छौं ।’ महोत्सव अवधिभर स्वास्थ्य शिविर समेत सञ्चालन गरिनेछ ।
भुम्लु गाउँपालिका भित्रका लुकेर बसेका सम्भावित स्थलहरुलाई पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउने मूख्य उद्देश्य रहेको पर्यटनका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका अर्का संयोजक रमेश लामाले बताउनुभयो । भुम्लु गाउँपालिका दोलालघाटस्थित सुनकोशी तथा इन्द्रवती नदीको दोभानमा अवस्थित प्रसिद्ध धार्मिक स्थल दुलालेश्वर महादेव स्थान नजिक रहेको  अति दुर्लभ अशोकको बृक्षलाइ अशोक बाटिकाको रुपमा विकास गर्न प्रचारप्रसार गर्ने उद्देश्य समेत लिइएको लामाले बताउनुभयो ।
‘पालिका तथा दोलालघाट आसपासमा पर्यटीकय सम्भावनाको खोजी गरि आन्तरिक तथा बाह्य पर्यटक आगमनका लागि विभिन्न कार्यक्रमहरु मार्फत आकर्षित गर्ने योजनका साथ यो महोत्सव आयोजना गरिएको हो,’ लामाले भन्नभयो– ‘भुम्लु गाउपालिका तथा दोलालघाट क्षेत्रको पर्यटन विकासको लागि नेपाल सरकार, स्वदेशी तथा विदेशी लगानीकर्ता, स्थानीय निकाय विभिन्न संघ संस्था एंव नागरिक समाजको समन्वयमा विभिन्न विकास निर्माण लगाएतका कार्यक्रम सञ्चालन गर्न समेत यो महोत्सबले प्रभावकारी भुमिका खेल्नेछ भन्ने विश्वास लिएका छौं ।’

दोलालघाटलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास दोलालघाट क्षेत्रमा रहेका विभिन्न पर्वहरुलाई महोत्सवको रुपमा रुपान्तर, धार्मिक र संस्कतिक पहिचान गरि दोलालघाटलाई पर्यटकीय स्थल घोषणा गर्न ध्यानकर्षण गराउन तथा पूर्वाधारहरु तयार गर्न नेपाल सरकारलाइ घचघच्याउने महोत्सवको उद्देश्य रहेको छ । नेपाली कला संस्कृतिको रक्षा गर्दै स्थानीय उत्पादनलाई प्राथामिकता सहित स्थानीय संस्कृति, उद्योग व्यापार प्रवद्र्धन गरि दोलालघाटमा रहेका आदीबासी तथा जनजातीलाई तथा अन्यलाई पारस्पारिक सदभाव कायम गर्न पनि महोत्सबले महत्वपूर्ण भुमिका खेल्नेछ ।
दुई चरणमा हुन लागेको मेला महोत्सवको बारेमा दोलालघाट समाजको एकताप्रति बाहिर गलत सन्देश जान नदिन सबै पक्ष गम्भीर हुनपने क्लका संस्थापक अध्यक्ष तथा पर्यटनका पूर्व उपाध्यक्ष  सुरेश कुमार कक्षपती यस्तो सन्देश नजाने गरि कार्यक्रमको तयारी गर्न सुझाव दिनुभयो । ‘आपसी छलफलको समय अभावको कारण यस वर्ष  फरक ढंगबाट महोत्सब सञ्चालन गर्नु परेको हो,’ समाजसेवी कक्षपतीले भन्नुभयो– ‘महोत्सबले पालिका र दोलालघाट समाजको  हितको निमित रहने हँुदा यस विषयमा अनावश्यक टिका टिप्पणी गुर्न जरुरी छैन ।’
आफुहरु पूर्ण तयारीमा रहेको र सहयोग गर्न चाहने संस्थाहररुलाई सह आयोजकको रुपमा सहभागी हुन समेत मुल आयोजक समितिले आह्वान गरेको छ । कार्यक्रमको दुबै संस्थाले फरक फरक अभिलेख राखी सोही अनुसार आर्थिक विवरण अद्यावदीक गर्ने गरि गाउँपालिकाबाट अनुमती लिइएको छ । दुवै संस्थाहरुले मेला तथा महोत्सव तयारीको मूल समारोह समिती तथा विभिन्न तयारी उप समितीहरु समेत गठन गरि आवश्यक तयारी गरि सकेका छन् । कार्यक्रमको व्यवस्थापन भने नेपाल मेला महोत्सव संघले गर्नेछ ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.