शंकास्पद १७ जना प्रहरी नियन्त्रणमा


जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जिल्लामा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ठ पार्टीले चन्दा आतंक, धाकधम्की लगाएका गतिविधि बढाएको गुनासोको आधारमा शंकास्पद १७ जना व्यक्तिलाई पक्राउ गरेको छ ।
उनीहरुलाई चौतारा साँगाचोकगढि नगरपालिका– १० बाट शुक्रबार राती एकै पटक नियन्त्रणमा लिएको हो । उनीहरुका गतिविधिलाई उच्च निगरानीमा राखिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको टोलीले नगरपालिकाको कार्कीटारबाट शुक्रबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले शंकाको आधारमा केही व्यक्ति पक्राउ परेको उनिहरुमाथि अनुसन्धान भैरहेको बताउनुभयो । ‘चार जना महिला सहित १७ जना नियन्त्रणमा लिएका छौं ।’ सूचना अधिकारी रेग्मीले भन्नुभयो ‘उनीहरुमाथि अनुसन्धान भैरहेकोले थप कुरा अहिले नै भन्न सकिदैन ।’
उता विप्लब समूहका नेता किरण घिमिरेले भने आफ्ना १७ कार्यकर्ता पक्राउ परेको सञ्चारकर्मीलाई बताउनुभयो । घिमिरेले भन्नुभयो– ‘उहाँहरु केहि जिल्ला तहको नेता हुनुहुन्छ भने केही चाँही समर्थक मात्रै पक्राउ पर्नुभएको जानकारी हामीले पाएका छौं ।’ घिमिरेका अनुसार पक्राउ पर्नेमा जिल्ला सदस्य रञ्जित ठकुरी, धनबहादुर श्रेष्ठ, पूर्ण मल्ल ठकुरी, मेलम तामाङ, पार्टी आन्तरिक मिडिया हेर्ने समीर तामाङ लगायत छन् ।
पार्टी सुदृढिकरणको लागि कार्कीटारमा छलफल चलिरहँदा उनीहरु पक्राउ परेको जिल्ला पूर्वसेक्रेटरी सकेत रहनुभएका घिमिरेले बताउनुभयो । ‘पछिल्लो दुई महिनायता हामी पार्टी संगठन बनाउने र विस्तार गर्ने अभियानमा छौँ,’ घिमिरेले भन्नुभयो– ‘रञ्जितजी, धनबहादुरजी लगाएतका साथीहरु सोही क्रममा कार्कीटार पुग्नु भएको थियो ।’ हाल ब्यूरो कार्यालयमा काम गरिरहेकोे भन्दै घिमिरेले संगठन निर्माणसँगै राजनीतिक असहमति भण्डारफोर गर्ने बाहेक चन्दा असुली र अन्य गतिविधि नगरेको दाबी गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालयले भने यसबारे अहिले नै धेरै कुरा गर्न नमिल्ने भन्दै थप सूचना दिन चाहेन । अनुसन्धान प्रक्रिया सकिएपछि मात्रै विस्तृत विवरण दिन मिल्ने प्रहरी निरिक्षक रेग्मीले बताउनुभयो ।  प्रहरी उपरिक्षक मुकुन्द मरासिनी भने सम्पर्कमा आउन नै चाहनुभएन ।
विप्लब समूहले पछिल्लो समय धम्की दिएर स्थानीय जनप्रतिनिधि, विभिन्न उद्योगी, व्यवसायी, क्रसर उद्योगीमाझ चन्दा आतंक मच्चाउँदै आएको गुनासो बढिरहेको थियो । पछिल्लो समय जिल्लामा चन्दा आतंक मच्चाएको, धाकधम्कीको राजनीति अघि बढाएको गुनासोको आधारमा प्रहरीले उनीहरुमाथि निगरानी बढाइरहेको थियो । यसै क्रममा कार्कीटारको एक घरमा सुतिरहेको अवस्थामा उनिहरुलाई एकै स्थानबाट पक्राउ गरिएको हो । प्रहरी कार्यालयले उक्त घरधनीको नाम समेत दिन मानेको छैन भने घरधनीलाई पक्राउ समेत गरेको छैन ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.