मेलम्ची सामुदायिकको वार्षिकोत्सव सम्पन्न


मेलम्ची सामुदायिक अंग्रेजी माध्यमिक विद्यालयको १३औँ वार्षिकोत्सव शनिबार मेलम्चीमा विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास निर्देशनालय, प्रदेश ३ का निर्देशक दिनेशकुमार श्रेष्ठले संस्कारसहितको शिक्षामा जोड दिनुभयो । धेरै ज्ञानगुनका कुरा  जानेर पनि राम्रो व्यवहार गर्न सिकेन भने विद्यार्थीको सिकाइ काम नलाग्ने बताउनुभयो ।
विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्थापकीय निर्देशक तारा बानियाँले प्रदेशकै अब्बल विद्यालय बनाउन लागिपरेको बताउनुभयो । उहाँले अध्ययनका साथै अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिई विद्यार्थीका प्रतिभालाई उजागर गर्न जोड दिने बताउनुभयो ।
कार्यक्रममा मेलम्ची ११ का वडाध्यक्ष रुद्रप्रसाद दुलाल, व्याब्सन सिन्धुपाल्चोकका सचिव ओमप्रकाश उप्रेती, संस्थापक अध्यक्ष पुष्कर धिताल, रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले विद्यालयको प्रगतिका लागि शुभकामना दिनुभयो ।
विद्यार्थीहरुले गायन, नृत्य, गीतिनाटक आदि प्रस्तुतिबाट दर्शकस्रोताका मन जित्न सफल भएको थियो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थी, शिक्षकलाई अवार्डका साथै शिक्षक तथा कर्मचारीलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
वार्षिकोत्सवकै सिलसिलामा शुक्रबार मेलम्ची नगरव्यापी माविस्तरीय एकल गायन प्रतियोगिता भएको थियो । प्रतियोगितामा १० माविको सहभागिता थियो । प्रतियोगीहरुले दुई÷दुई गीत प्रस्तुत गरेका थिए । प्रतियोगितामा आयोजक मेलम्ची कम्युनिटी अंग्रेजी माविका अजित परियार पहिलो, प्रगति माविकी स्मृति विष्ट दोस्रो र समता शिक्षा निकेतनका लिल्साङ घले तेस्रो हुनुभयो । तेर्से माविकी विमली तामाङ र शीतलादेवी माविका आय’ष दाहालले सान्त्वना स्थान पाउनुभएको थियो । कार्यक्रम विद्यालयका अध्यक्ष दिनेश बस्नेतको अध्यक्षतामा भएको हो ।

, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.