घर बनाउन गाँजाको डाँठ

विजय नेपाल÷हेलम्बु
संसद बैठकमै नेपाल कम्युनिष्ठ पार्टीका साँसद विरोध खतिवडाले गाँजा खेतीलाई मान्यता दिनुपर्ने तर्क राखेसँगै यसको चर्चा चुलिन थालेको छ । गाँजा लागु पदार्थ मात्रै नभएर बहुउपयोगी प्राकृतीक सम्पदा समेत भएकोले यसको प्रतिबन्ध फुकुवा गर्न सकेमा नेपालले धेरै आर्थिक लाभ लिनसक्ने संभावना पनि रहेको छ ।
गाँजाको संभावना खोजी गर्ने क्रममा सिन्धुपाल्चोकको हेलम्बुमा गाँजाको डाँठ (ह्याम्पस्) बाट घर बन्दै गरेको फेला परेको छ । हेलम्बु गाँउपालिका– २, शेर्माथानका गोपाल शेर्पाले गाँजाको डाँठबाट घर निर्माण गरिरहनुभएको छ । पर्यटकीय स्थल शेर्माथानमा पर्यटकलाई होमस्टेको सुविधा दिनेगरि सो घर निर्माण भैरहेको हो । शौचालय र वाथरुम बाहेक नै २२ वटा कोठा रहने सो घर चारतल्लाको हुनेछ । पिल्लर, विम, ढलान र भ¥याङ आरसिसि मोडेलबाट निर्माण गरिएको सो घरमा घरको बाहिरी गार्हो (वाल) भने गाँजाको डाँठबाट निर्माण गरिएको छ । यसको वाल १२ इन्चको हुने भएकोले ठाँउ बचत गर्नको लागि शेर्पाले घरको पार्टेसन र शौचालय भने सिमेन्ट ब्लकको प्रयोग गरिएको छ ।
गाँजाको डाँठमा चुनाको घोल बनाई फर्मा बनाएर शेरवाल लगाए जसरी सो वाल लगाइएको छ । गाँजाको पात तथा अन्य सामाग्री लागुपदार्थको रुपमा प्रयोग गरिने भएपनि यसको बीउ र डाँठमा भने लागुपदार्थको गुण नहुने शेर्पाले बताउनुभयो । सो घर निर्माणको लागि आवश्यक १२ टन गाँजाको डाँठ बझाङबाट ल्याइएको हो । बझाङमा उत्पादन भएको गाँजाको बोटबाट गाँउपालिकको रोहबरमा लागुपदार्थजन्य सामाग्री हटाएर त्यहीं नष्ट गरिएको थियो । त्यसपछि गाँउपालिकाले लागुपदार्थ नभएको किटानी सिफारीस दिएपछि सोही सिफारीसको आधारमा जनकपुरमा ल्याएर सो डाँठलाई मेसिनको सहायताबाट टुक्रा गरिएको थियो ।

एक इन्च भन्दा सानो टुक्रा गरिएको सो डाँठ १२ चक्के ट्रकमा सिन्धुपाल्चोकको मेलम्चीसम्म ल्याइएको थियो । वजन कम भएपनि आयतन बढी भएका कारण एक पटकमा तीन टन मात्रै ह्याम्पस् मेलम्ची आइपुगेको थियो । मेलम्चीबाट फोर ह्वील ट्रकबाट शेर्माथानसम्म ढुवानी गरिएको थियो । खरिद भन्दा ढुवानीमा नै बढी लागत तिर्नुपरेको शेर्पाले बताउनुभयो । ‘हामीले बझाङदेखि ह्याम्पस् ल्याउँदा पनि शेर्माथान आइपुग्दा भक्तपुरको इटाको बराबरको मूल्य मात्रै परेको छ,’ शेर्पाले बताउनुभयो– ‘यदि हाम्रै ठाँउमा सजिलै उत्पादन हुने गाँजाको प्रयोग गर्न सकिएको भए त्यो सित्तैमा प्रयोग हुन्थ्यो ।’ ह्याम्पस्मा घोल्ने १६ टन चुना भने भारतबाट ल्याइएको हो । नेपालमा पाइने चुनामा मिसावट भएको फेला परेकोले त्यसबाट सोचेको जस्तो फाइदा नहुने देखिएपछि भारतबाट शुद्ध चुना झिकाइएको हो ।
नेपालका अधिकांश स्थानमा गाँजा आफै उम्रने भएकोले यसको प्रयोग गर्न सकेमा कम लागतमा नै आवास निर्माण गर्न सकिने शेर्पाको धारणा छ । चैत बैसाख गाँजा खेति गर्ने उपयुक्त समय भएको र बढीमा सात महिनामा नै यसको प्रयोग गर्न सकिने गरि उत्पादन हुने शेर्पाले भन्नुभयो । यदि एक रोपनी जग्गामा गाँजाको खेती गर्ने हो भने त्यसबाट लागुपदार्थजन्य सामाग्री हटाएर एक घर निर्माणको लागि आवश्यक ह्याम्पस् उत्पादन हुन्छ । यसरी उत्पादन भएको सामाग्री निःशुल्क प्रयोग गर्न सकिने भएकोले केही चुना मात्रै खरिद गरेर पनि घर निर्माण गर्न सकिन्छ । यसरी निर्माण गरिएको घर सिमेन्टको भन्दा बढी आयु हुने गर्दछ । चुनाको आयु सिमेन्टको भन्दा धेरै नै हुने भएकोले सोही चुनाले ह्याम्पस्को आयु पनि बढाउँदछ ।

यसरी निर्माण गरिएको घर कार्बन न्यूनिकरणमा फलदायी हुने शेर्पाको दाबी छ । गाँजाको बोटले वातावरणमा भएको कार्बन सोसेर जमीनमा प्mयाकीदिने हुनाले यसले कार्बन घटाउदछ । वातावरणमा भएको कार्बन घटाउने भएकोले विश्वव्यापी तापमान ¬(ग्लोबल वार्मीङ) बाट नेपालजस्तो मुलुकलाई कम असर पार्न पनि ह्याम्पस् घरले सहयोग गर्दछ । यसको बोटले पनि म्याजीक प्लान्टको रुपमा कार्बन सोसेर जमिनमा प्mयाँकिदीने शेर्पाले बताउनुभयो । यो घर आगलागिबाट पनि सुरक्षित हुने शेर्पाले बताउनुभयो । कुखुरा पोल्न मासु पसलले प्रयोग गर्ने ग्यास लाइटरले निरन्तर आधा घण्टा पोल्दा पनि सो ह्याम्पस्मा कुनै असर नपरेको शेर्पाले सुनाउनुभयो । त्यसैले यो घर आगलागिबाट सुरक्षीत रहेको उहाँले दावि गर्नुभयो ।
यो घरको अर्को विशेषता भनेको यसले इन्सुलेसनको काम समेत गर्दछ । बाहिर हिँउ परिरहने ठाँउमा पनि यो घरभित्र सामान्य कपडा लगाएर बस्दा पनि चिसो नहुने शेर्पाले बताउनुभयो । ह्याम्पस्को घर एक त बाक्लो भित्ता हुनेगरि निर्माण गरिएको हुन्छ भने अर्को यो आफै न्यानो हुने गर्दछ । त्यसैकारण दम, वाथजस्ता रोग भएका मानिसलाई पनि यो घर उपयुक्त हुने गर्दछ । त्यस्ता रोगीलाई सिमेन्टको घरको केमिकलले असर गर्ने भएकोले यो घरमा भने कुनै रसायनिक पदार्थ समेत नहुने भएकोले पनि यो बेअसरदार हुने शेर्पाको कथन छ ।
शेर्पाले यो घर व्यवसायिक प्रयोजनको लागि निर्माण गर्नुभएको छ । यसको चौथो तल्ला शेर्पा आप्mनै प्रयोगको लागि निर्माण गर्नुभएको हो भने बाँकी तीन तल्ला भने पर्यटकको लागि होमस्टेको रुपमा प्रयोग हुनेछ । आफ्नो व्यक्तिगत दुई करोड पचास लाख भन्दा बढीको लगानीमा सो घर निर्माण गरिएकोले यसलाई व्यवसायिक रुप दिन लागेको उहाँले बताउनुभयो । सो घरको भुईतल्ला र चौथो तल्लाको निर्माण सम्पन्न भैसकेको छ । नौ वटा कोठा बस्नको लागि तयार भैसकेकोले विहीबार नै सो घरमा बस्नको लागि ३० जना नेपाली पाहुनाहरु आउन लागेको शेर्पाले बताउनुभयो । बाँकी दुई तल्लाको पनि बैसाख १५ सम्ममा निर्माण सम्पन्न गरी त्यस क्षेत्रको पर्यटकीय सिजन अक्टोबर भरिमा होमस्टेको रुपमा विकास गरिसक्ने शेर्पाको लक्ष्य छ । विशेषगरि पोर्चुलगबाट भित्रिएको ह्याम्पस् घरको प्रविधि एसियाका केही मुलुकमा निर्माण भइरहेको भएपनि यती ठूलो आकारमा भने यो घर नेपालकै पहिलो भएको शेर्पाको दाबी छ । नेपालको जनकपुर लगाएतका ठाँउमा भुईंतल्लाको दूइकोठे घर निर्माण भैसकेको शेर्पाले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा अझै पनि धेरै घरहरु पुनर्निर्माण हुन बाँकी छ । सरकारी तीनलाख अनुदानले ढुवानीकै समस्याका कारण घर बन्न नसक्ने हुँदा सरकार वा गाँउपालिकाले आप्mनै रोहबारमा गाँजा खेती गराएर लागु पदार्थ नष्ट गरी ह्याम्पस्बाट भने घर बनाउन दिनुपर्ने शेर्पाको धारणा छ । एक रोपनी जग्गामा गरेको खेतीले एउटा घर बन्न पुग्ने ह्याम्पस् उत्पादन हुने भएकोले निःशुल्क उपलब्ध हुने सामाग्रीले नै घर बन्न सक्दछ । साथै गाँजाको बीउ पनि लागुपदार्थ नभएको र यसको अचार स्वादिलो र स्वास्थ्यको लागि समेत उपयोगी हुने शेर्पाले बताउनुभयो ।
ह्याम्पस्बाट बन्ने कागज पनि अति नै गुणस्तरीय हुने शेर्पाले बताउनुभयो । अमेरीकाको संविधान नै यहि ह्याम्पस्बाट बनेको कागजबाट बनेको दाबी शेर्पाको छ । नेपालमा पनि यसबाट झोला, टिसर्ट जस्ता सामाग्री बनाउने तीन दर्जन जती कम्पनी खुलिसकेको भन्दै शेर्पाले कटनमा ह्याम्पस् मिसाएर बनेको कपडा समेत वर्षैं टिक्ने बताउनुभयो । विश्वमा विस्तारै गाँजामाथीको प्रतिवन्ध फुकुवा भैरहदा नेपालमा पनि यसको व्यवसायीको संख्या थपिदैं गएको शेर्पाले बताउनुभयो ।
गाँजाको प्रयोग १ सय बर्ष भन्दा अगाडिबाट भैरहेकोले यसलाई प्रतिबन्ध लगाउनु नहुने बरु नियन्त्रण र निगरानीका साथ उपयोग गरिनुपर्ने शेर्पाको धारणा छ । प्रकृतिले निःशुल्क दिएको चिज सरकारले बन्द गर्नु नहुने शेर्पाले बताउनुभयो । असर गर्छ भन्दैमा प्रतिबन्ध नै लगाउनु गलत भएको भन्दै शेर्पाले भन्नुभयो– ‘आगोले जलाएर नष्ट गर्छ भन्दैमा यसलाई प्रतिवन्ध त लगाउने हैन नि, यसको सुरक्षित प्रयोग गर्न तर्फ पो सचेत गराउने हो त ।’

, , ,
Lokpriyasamachar@. Powered by Blogger.