जग्गाविहिन माझीलाई एकीकृत बस्ती

‘माझी बालबालिका पढ्नबाट बञ्चित हुनेछैनन्’– मन्त्री दुलाल
इन्द्रावती गाँउपालिका– ५, प्यूघरका ३६ घर माझी परिवारको लागि एकीकृत बस्ती बन्ने भएको छ । आफ्नो नाममा जग्गा नभएका माझी परिवारलाई जग्गाको लालपूर्जा समेत उपलब्ध गराई सो बस्ती निर्माण गरिन लागेको हो ।
घरबारविहिन माझीहरु यस अघि इन्द्रावती बगर आसपास बस्दै आएका थिए । पटक पटकको इन्द्रावती बाढीले घरबास बगाएका माझी परिवारलाई भूकम्पले घर भत्काएपछि झनै कष्टका साथ जीवन बिताईरहेका थिए । आफ्नो नाममा जग्गा नभएपछि उनीहरुको भूकम्प पीडित परिचय पत्र पाएका थिएनन् । जग्गाकै कारण लाभग्राही सूचिमा नपरेपछि उनीहरु अस्थायी टहरोमा नै बस्दै आएका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विस्थापितलाई जग्गा खरिद गर्न दिएको दुई लाख रुपैया प्रदान गरी जग्गा खरिद गरेपछि उनीहरुको घर बनाउने सपना साकार हुन लागेको हो । भदौरे र प्यूघरका ३६ घरको लागि महिला आत्मनिर्भर केन्द्रको सहजिकरणमा गैर सरकारी संस्था अक्सफामले  आर्थिक सहयोग गर्ने भएपछि सो बस्ती बन्न लागेको हो । बस्ती बन्ने भएपछि स्थानीय खुसी भएका छन् ।
‘हाम्रो आफ्नै जग्गा थिएन, घर थिएन, सुकुम्बासी बनेर बसेका थियौं’, स्थानीय लक्ष्मी माझिले भन्नुभयो– ‘अहिले सरकारले जग्गा दिएको छ,  अब घर पनि बन्ने भएपछि खुसी भएका छौं ।’ लक्ष्मीजस्तै सोहि ठाउँका रामभक्त माझी घर बन्ने भएपछि खुसी देखिनुभयो । ६६ वर्षका माझी लालपूर्जा नभएकै कारण सुकुम्बासी बन्न पुग्नुभएको थियो ।
‘लालपूर्जा नभएकै कारण हामीले घर बनाउन पाएका थिएनौं’, उहाँले भन्नुभयो– अहिले लालपूर्जा पनि छ, घर पनि बन्ने भएको छ । त्यो भन्दा के चाहिएको छ र हामीलाई ।’ केहि नभएको गरिबलाई राज्यले हेरेकोमा धन्यवाद दिनुहुँदै उहाँले अब आफ्नै घरमा मर्न पाउने आशा व्यक्त गर्नुभयो ।

बस्ती शिलान्यास गर्न पुग्नुभएका प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले अब माझी बालबालिका पढाईबाट बञ्चित हुनु नपर्ने बताउनु भयो । ‘बस्ती बनेसँगै अब यो ठाउँका बालबालिका पढ्नबाट बञ्चित हुनेछैनन्’, उहाँले भन्नुभयो– ‘कोहि पढ्न पाउँदैनन् भने पढाउने जिम्मा हामी लिनेछौं ।’
बस्तीमा घर मात्रै भएर नपुग्ने भएकोले त्यसलाई आवश्यक पर्ने विजुली, सडक, खानेपानी, विद्यालय, सामुदायिक भवन निर्माण गर्न आपूmले जिम्मेवारी लिने घोषणा गर्दै मन्त्री दुलालले माझी समुदायको बस्न पाउने अधिकारको सुनिश्चितता भएको बताउनुभयो ।
इन्द्रावती गाउँपालिका अध्यक्षले बस्ती शिलन्यासमा असहयोग गरेको प्रसङ्गप्रति इङ्कित गर्दै मन्त्री दुललाले आपूm एकीकृत बस्ती बनाउन जगमा ढुङ्गा राख्न मात्र आएका होईन जिम्मेवारी बोक्न आएको बताउनु भयो । ‘म यहाँ कसैसँग लड्न आएको होईन, जनताको सुख दुःख बुझ्न आएको हुँ’, उहाँले भन्नुभयो– ‘त्यसैले जनताभन्दा कोहि ठूला हुँदैनन् यो कुराको हेक्का राख्न गाउँपालिका अध्यक्षन्ज्यूलाई आग्रह गर्दछु ।’ विकासको काममा अवरोध होईन सहयोग गर्न मन्त्री दुलालले अपिल समेत गर्नभयो ।
प्राधिरणले उपलब्ध गराएको जनही दुई लाख रुपैयाबाट २३ रोपनी जग्गा खरिद गरिएको छ । सो जग्गाको लालपूर्जा समेत गत फागुनमै इन्द्रावती गाँउपालिकाका अध्यक्ष बंशलाल तामाङ मार्फत माझीहरुले प्राप्त गरिसकेका छन् । ढिलै भएपनि जग्गा प्राप्ती गरेपछि बस्ती निर्माण गर्न शुरु गरिएको र यसलाई छिटै निर्माण गरिसक्ने एकिकृत बस्ती निर्माण समितिका अध्यक्ष शर्मिला माझीले बताउनुभयो ।
शिलन्यास कार्यक्रममा नेकपाका नेता झम्क नेपाल, जिल्ला विकास समिति सिन्धुपाल्चोकका पूर्व सदस्य जगन्नाथ आचार्य, समाजसेवी रत्नप्रसाद आचार्य, वडा सदस्य रुद्रबहादुर कटुवाललगायतले बस्ती बन्ने भएपछि माझी समुदायको जीविकोपार्जनमा टेवा पुग्ने भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो । 

, , ,