सुनकोशीमा बालुवा उत्खनन बन्द

आफ्नो बस्ती जोखिममा पर्ने भएपछि तेमाल गाउँपालिका–२ र ३ का बासिन्दाको विरोधपछि सुनकोशी किनारमा बालुवा उत्खनन कार्य बन्द गरिएको छ ।
गाउँपालिकाले सुनकोशी नदी किनारमा बस्ती नजिकै बालुवा उत्खनन गर्न दिएपछि स्थानीयवासीले विरोध गरेका थिए । गाउँपालिकासँगको सम्झौताविपरीत ठेकेदारले बालुवा उत्खनन गर्दा आफ्नो बस्ती जोखिममा परेको जनाउँदै चुखाबेँसी र च्यूरीआँपका बासिन्दा आन्दोलनमा उत्रिएका थिए । दुवाकोट कन्ट्रक्सन एवं सालीनदी निर्माण सेवा प्रालिका निमित्त सञ्चालक सत्यमान लामाले दुई स्थानमा सम्झौताविपरीत बालुवा उत्खनन गरेपछि स्थानीयवासीले विरोध गर्दै आएका थिए ।
सम्झौताअनुसार ९२ सेन्टिमिटर मात्रै बालुवा निकाल्नुपर्नेमा ठेकेदार कम्पनीले १० देखि १५ मिटरसम्म बालुवा निकालेपछि बस्ती जोगाउन विरोधमा उत्रिएको स्थानीयवासी टेन्डी लामाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो बस्ती नदीको किनारमा छ, १५ मिटरसम्म बालुवा निकाल्दा वर्षामा सुनकोशी नदीले बस्ती नै बगाउने खतरा छ ।’ स्थानीयवासीले मापदण्डविपरीत र बोलपत्रअनुसार सम्झौता नभएको समेत बताएका छन् ।
सम्झौतामा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म नदीको बगरमा ९२ सेन्टिमिटर मात्र बालुवा निकाल्नु पर्ने उल्लेख छ । तर, ठेकेदार कम्पनीले राति १२ बजेसम्म स्काभेटर र टिपर चलाएर नदीको दोहन गरेको स्थानीय चन्द्र लामाले जानकारी दिनुभयो । ‘ठेकेदारले सम्झौताविपरीत काम गरेको गाउँपालिका अध्यक्षलाई जानकारी गराउँदासमेत कुनै चासो नदिएपछि आन्दोलन नै गर्नुप¥यो’, उहाँले भन्नुभयो ।
चुखाबेँसी र च्यूरीआँप बगरमा एक करोड ५० लाखको टेण्डरमा लामाले ६० प्रतिशतमा मात्रै सम्झौता कागज मिलाएको स्थानीयवासीले आरोप लगाउँदै आउनुभएको छ । ‘ठेकेदारसँग मिलेर ४० प्रतिशत गाउँपालिकामा मिलाएको छ, यसको पनि छानबिन हुनुपर्छ, अन्यथा, अख्तियार जान्छौँ’, स्थानीयवासी लामाले भन्नुभयो । उहाँका अनुसार बस्ती जोखिममा पर्ने भएपछि दुवै स्थानका बासिन्दाले बालुवा उत्खनन् गर्न नदिन गाउँपालिकासमक्ष अनुरोध गर्दागर्दै बोलपत्र खुलाइएको हो ।
स्थानीयवासीले जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालयलगायत ८ सरोकारवाला निकायमा समेत बालुवा उत्खनन बन्द गर्न माग गर्दै पत्राचार गरेका थिए । साथै, स्थानीयवासीले आन्दोलन गरी बालुवा बोक्न आउने टिपर फर्काउने र ठेकेदारलाई भगाएपछि गाउँपालिकाले बालुवा उत्खनन बन्द गराएको हो । त्यस स्थानमा बालुवा उत्खनन गर्दा, बस्तीसँगै विद्यालय र स्वास्थ्यचौकी जोखिममा पर्छन् ।
गाउँपालिकाका अध्यक्ष सलामसिंह लामाले विवाद भएपछि बालुवा उत्खनन बन्द गराएको बताउनुभयो । उहाँले आफूप्रति स्थानीयवासीको ओरोप गलत भएको जिकिर गर्नुभयो । ‘स्थानीयवासीको विरोधपछि उत्खनन बन्द गरायौँ, उत्खनन गर्न दिने÷नदिनेबारे छानबिन गर्दैछौँ’ उहाँले भन्नुभयो ।
ठेकेदार लामाले गाउँपालिकाको नियममै रहेर बालुवा निकालेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘गाउँपालिकाको नियमकै आधारमा बालुवा निकालेका छौँ, स्थानीय जनप्रतिनिधिले केही भन्नु नपर्ने अनि गाउँलेले जे भन्दा पनि हुन्छ ।’

, , , ,
Lokpriyasamachar@. Powered by Blogger.