लेखापढी व्यवसायी सिन्धुको अध्यक्षमा दिपक


 लोकप्रियसमचार
मालपोत, नापी कार्यालय तथा अदालतमा जनतालाई सेवा पु¥याउँदै आइरहेको लेखापढी व्यवसायीहरुको साझा संगठन नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन, जिल्ला शाखा सिन्धुपाल्चोको अध्यक्षमा दिपककुमार श्रेष्ठ चयन हुनुभएको छ ।
एसोसियसनको शनिबार सम्पन्न तेह्रौं साधारण सभा एवम् एघारौं अधिवेशनले श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । एसोसियसनको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः फसबहादुर न्यौपाने, रामबहादुर श्रेष्ठ, राजेश लामा र गणेश अर्याल चयन हुनुभएको छ । त्यस्तै सहकोषध्यक्षमा रमेश श्रेष्ठ तथा सदस्यहरुमा जितबहादुर पोखरेल, अप्सरा भुजेल र लोकनाथ दुलाल चयन हुनुभएको छ । एसोसियसनको बाँकी चार सदस्य भने समितिको बैठकले मनोनयन गर्ने निवर्तमान अध्यक्ष हिराप्रसाद नेपालले बताउनुभयो ।
अधिवेशनमा प्रमुख अतिथि एवं मालपोत कार्यालयका नायव सुब्बा कृष्णमुरारी पुडासैनीले लेखापढी व्यवसायीहरुकै कारण कार्यलयको काममा सहजता आउन सकेको बताउनुभयो । ‘लेखापढी व्यवसायी नहुने हो भने सेवाग्राहीले एउटै काम गर्न पनि धेरै दिन लाग्छ,’ पुडासैनीले भन्नुभयो– ‘लेखापढी व्यवसायी साथीहरुले सहजै काम सकेर फर्काउनको लागि महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।’ पुडासैनीले आगामी दिनमा पनि लेखापढी व्यवसायी र कर्मचारीबीच सहकार्य गर्दै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा एसोसियसनका निवर्तमान अध्यक्ष हिराप्रसाद नेपालले पञ्चायतकाल पाएको सुविधा समेत त्यसपछिका सरकारले खोस्दै लागेको आक्रोस पोख्नुभयो । ‘पञ्चायतकाल रहँदा लेखापढी व्यवसायीहरुले अभिवक्ताको परिक्षा दिन पाउने व्यवस्था थियो, त्यसै व्यवस्था अनुसार जिल्लामा पनि धेरै व्यवसायीहरु वकील बन्नुभएको छ,’ निवर्तमान अध्यक्ष नेपालले भन्नुभयो– ‘तर लोकतान्त्रीक गणतन्त्र आइसकेपछि देशभर रहेका ४५ हजार भन्दा वढी लेखापढी व्यवसायीहरुको रोजीरोटी खोस्न सरकार लागिपरेको छ ।’
पछिल्लो पटक भुमि सुधार तथा व्यवस्था मन्त्रालयले तयार गरेको नयाँ ढाचाँको फारममा लेखकको नाम हटाएको प्रति नेपालले आक्रोश पोख्नुभएको हो । केन्द्रीय समितिले सर्वोच्च अदालत गएर मात्रै आप्mनो हक फिर्ता पाएको नेपालले स्मरण गराउनुभयो । निर्वाचित कार्यसमितिको पदावधी तीन वर्षको हुनेछ ।

, ,