हेलम्बुमा ७५ प्रतिशत खर्च

हेलम्बु गाँउपालिकाले आर्थीक वर्ष २०७५÷०७६ को कुल विकास बजेट मध्ये ७५ भन्दा बढी रकम खर्च भैसकेको जनाएको छ । आप्mनो विकासको लागि छुट्याएको १८ करोड २७ लाख १३ हजार रकमबाट ७५ प्रतिशत रकम खर्च भै भुक्तनी समेत गरिएको पालिकाले जानकारी दिएको हो ।
बुधबार लोकप्रिय नेत्रज्योती सञ्चार समूहले गाँउपालिकाकै सभाहलमा आयोजना गरेको जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा गाँउपालिकाले सो कुरा जानकारी गराएको हो । समूहले जिल्लाका १२ वटै स्थानीय तहमा सञ्चारकर्मी र जनप्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेको समूहका कार्यकारी प्रमुख नेत्रबहादुर बस्नेतले बताउनुभयो । सोही क्रममा बुधबार हेलम्बु गाँउपालिकामा सो कार्यक्रम आयोजना गरिएको थियो ।

‘हामीले विकासको कार्यक्रम सञ्चालन सम्बन्धी ऐनमा नै चैत मसान्तभित्र भुक्तानी नलिएमा रकम नै फ्रिज जाने नीति बनाएकोले नै यो सम्भव भएको हो,’ हेलम्बु गाँउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भन्नुभयो– ‘असारको अन्त्यमा मात्रै काम शुरु गर्ने परिपाटी अन्त्य गर्न यस्तो प्रयास गरेकोमा सो सफल पनि भएको छ ।’ असार मसान्तसम्म स्थानीय नागरिक र जनप्रतिनिधिका साथै कर्मचारी समेत काम सम्पन्न र भुक्तानीमा अल्मलिने गरेको कारण सो रोक्न चैत मसान्तभित्रै कार्यक्रम सक्नुपर्ने नीति लिएको गाँउपालिका प्रमुख शेर्पाले बताउनुभयो । असारभरि विकासे काम गर्दा काम पनि गुणस्तरीय नहुने एवम् कर्मचारी र जनप्रतिनिधि समेत त्यसमै अल्झेर बस्नुपर्दा आगामी वर्षको नीति तथा कार्यक्रम बनाई बजेट विनियोजन गर्न समेत समस्या आउने गरेकोले यस्तो निति लिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।
गाँउपालिकाको विकास बजेटमध्ये पूर्वाधार विकासमा छ करोड ३९ लाख, ११ हजार रुपैंया, आर्थिक विकासमा एक करोड सात लाख पच्चीस हजार रुपैया विनियोजन गरिएको थियो । त्यस्तै सामाजिक विकासमा १० करोड ५५ लाख ६९ हजार तथा वातावरण तथा विपद् व्यवस्थापनमा २५ लाख ८ हजार रुपैंया गरी विकास बजेटमा कुल १८ करोड २७ लाख १३ हजार रुपैंया विनियोजन भएको थियो । जसमध्ये फिल्डमा भने ९० प्रतिशत काम सम्पन्न भैसकेको र तिनीहरुको भुक्तानी दिन भने बाँकी रहेको गाँउपलिकाले जनाएको छ । अन्य पालिकाहरुमा २० प्रतिशत पनि विकासे बजेट खर्च नहुँदा आप्mनोमा भने यति धेरै प्रगति हुदाँ धेरै खुसी लागेको अध्यक्ष शेर्पाले बताउनुभयो । नेपालको प्रमुख समस्या नै विकास बजेट समयमै खर्च नहुनु रहेको उहाँको दाबी रहेको छ ।

गाँउपालिकाका प्रमुख कार्यकारी अधिकृत भिमराज कोइरालाले गाउँपालिकामा भौतिक पूर्वाधारतर्फ बृद्धबृद्धाको जमघटको लागि आमा बुवा दिवा सेवा केन्द्र स्थापना गरिएका बताउनुभएको छ । गाँउपालिकाको वडा नं. ५ मा सो केन्द्र बनाइएको कोइरालाले बताउनुभयो । ‘गाँउपालिकाले दलित वर्गमा उद्दमशीलता विकासको लागि शुरु गरिएको दलित एकीकृत औधोगिकरणको भवनको डिपीआर सम्पन्न भएको छ,’ कोइरालाले भन्नुभयो– ‘गाँउपालिकाका सबै दलितलाई आप्mनो सीप अनुसारको काम गर्न सो हाल भवनमा बेग्लाबेग्लै कोठा प्रदान गरिनेछ ।’ स्थानीय जनतालाई आवश्यक पर्ने सबै सामाग्री एकै स्थानमा पाउने अवस्था सिर्जना गर्न  सो केन्द्रको स्थापना गर्न लागिएको कोइरालाले बताउनुभयो । सो केन्द्रमा उत्पादन भएर गाँउपालिकामा खपत नभएका सामग्री बजारीकरणमा समेत गाँउपालिकाले सहयोग गर्नेछ ।
अन्तरक्रिया कार्यक्रममा गाँउपालिकाका विषयगत शाखाका प्रमुख एवं कर्मचारी, वडा अध्यक्ष तथा सदस्यहरु, गाँउ कार्यपालिकाका सदस्यहरु, महिला सञ्जालका प्रतिनिधिहरु, दलित सञ्जालका प्रतिनिधिहरु, स्थानीय शिक्षक तथा अन्य व्यक्तिहरुका साथै जिल्ला तथा राष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.