राष्ट्रिय बालसाहित्य सम्मेलन जारी

२६ औं राष्ट्रिय बाल साहित्य सम्मेलन तथा प्रथम नगरस्तरिय बालसाहित्य कार्यशाला सिन्धुपाल्चोकमा शुरु भएको छ । बिहीबारबाट शुरु भएको सो सम्मेलन तीन दिनसम्म चल्नेछ ।
सम्मेलनमा हिजो बाल साहित्य सम्बन्धि १० वटा कार्यपत्र प्रस्तुत गरिएको ‘सिन्धु साहित्य भित्र बाल साहित्यको अवस्था, विगत देखि वर्तमानसम्म’ नामक कार्यपत्र प्रस्तोता शब्द–सारथिका सचिव सुन्दर शिरीषले बताउनुभयो । ‘यस लगाएत विभिन्न विषयमा विज्ञता हाँसिल गर्नुभएका गंगा पौडेल, उद्धवप्रसाद प्याकुरेल, केशवलोच शर्मा लगाएतका विज्ञहरुले समेत विभिन्न कार्यपत्र पेस गर्नुभएको थियो ।

उद्घाटन सम्मेलनमा बोल्दै नेकपाका नेता एवं पूर्व सूचना तथा सञ्चामन्त्री अग्नीप्रसाद सापकोटाले बालबालिका काँचो माटो जस्तै भएकोले उनीहरुलाई जस्तो सिकायो त्यस्तै बन्ने बताउनुभयो । ‘म पनि आप्mना दुई नातीहरुको बाल अध्ययन गरिरहेको छु,’ सापकोटाले भन्नुभयो– ‘बालबालीकालाई पढ्न साहित्यका पुस्तक पढेजस्तो सजिलो छैन ।’
सम्मेलनको उद्घाटन कार्यक्रममा नेपाल बाल साहित्य समाजले हरेका वर्ष प्रदान गर्दै आइरहेको विभिन्न पुरस्कार समेत प्रदान गरिएको थियो । आठ वर्षभन्दा माथिका बालबालिकाको लागि लेखिएका पूस्तक म र बुद्ध, सम्पदा र विपदा एवम् टहटह जुनको लागि क्रमशः सर्जकहरु सौरभकिरण श्रेष्ठ, प्रा.डा. तारानिधि भट्टराई र कृष्णकुमारी सिग्देललाई नगद १०÷१० हजार रुपैया सहित पुरस्कृत गरिएको थियो । त्यस्तै सात वर्ष मुनिमा बालबालिकाको लागि लेखिएको बज्यो बज्यो बाजा र टुसा खाने मुसा पुस्तकको लागि क्रमशः सर्जक यशु श्रेष्ठ र प्रमोद प्रधानलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट चित्राङ्कनको लागि भने रमाइलो खेतबारी पुस्तकका चित्रकार उजेली सुनारलाई पुरस्कृत गरियो ।

सम्मेलनमा कथा लेखन, कविता लेखन, चित्र लेखन, नाटक लेखन तथा प्रस्तुती, बालसमिक्षा लेखन, दैनिकी लेखन लगाएतका विधामा बालबालीकालाई प्रशिक्षण समेत दिइनेछ । बालबालिकाको रुची र उमेर तहको आधारमा उनीहरुलाई कार्यशालामा सहभागी गराइने छ । नगपालिकाभित्रका २३ वटा माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई बाल साहित्यका विज्ञहरुका साथै सिन्धुपाल्चोकका शब्द सारथी अभियानका साहित्यकारहरुले समेत सहजीकरण गर्ने प्रचारप्रसार उपसमितिका संयोजक सुरेश कसजूले बताउनुभयो ।
सम्मेलन अवधीभर बालपुस्तक प्रदर्शनीका साथै कार्यशाला समेत गरी बालबालिकाले तयार पारेको बाल साहित्य प्रस्तुती समेत गरिने नेवासासका केन्द्रीय अध्यक्ष शैलेन्दुप्रकाश नेपालले बताउनुभयो । कार्यक्रममा सहभागि हुन विज्ञको रुपमा के.के कर्माचार्य, डा. देनि नेपाल, डा. ऋषिराम शर्मा, डा. जयन्ती रुपाखेती लगाएतको उपस्थिति रहेको छ । सम्मेलनको अन्त्यमा सिन्धुपाल्चोक बालसाहित्य घोषणापत्र समेत जारी गरिनेछ ।

, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.