प्रगतिको २७औं वार्षिकोत्सव सम्पन्न

एक संस्था र दुई व्यक्तिलाई सम्मान

प्रगति अंग्रेजी मावि, मेलम्चीले वार्षिकोत्सवको अवसरमा एक संस्था र दुई फरक विधाका व्यक्तिलाई सम्मान गरेको छ ।

शनिबार भएको वार्षिकोत्सवमा शब्द–सारथिलाई प्रगति साहित्य सम्मान प्रदान गरेको हो । सारथीले हरेक शुक्रबार सिर्जना सुन्ने, सुनाउने शृङ्खला सञ्चालन गर्दै आएको छ । सिन्धु साहित्यमा नवीन आयाम थप्ने कार्य गरेको भन्दै शब्द–सारथिलाई सम्मान गरिएको सम्मान संयोजक डम्बर रसिक भारतीले बताउनुभयो । कार्यक्रममा सारथिको तर्फबाट कार्यसमितिका ७ जनाले सम्मानपत्र ग्रहण गर्नुभएको थियो ।

प्रगति पत्रकाकारिता सम्मान पत्रकार युवराज पुरीलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको पूर्व अध्यक्ष समेत रहनुभएको पुरी हाल अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत हुनुहुन्छ । त्यस्तै प्रगति संगीत सम्मान लोकगायक सूर्यमणी आचार्यलाई प्रदान गरिएको थियो । कार्यक्रममा सम्मानित हुनेहरुलाई शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख गौरीशंकर पाण्डेले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।


कार्यक्रममा स्रष्टाहरुले साहित्यिक सृजना समेत प्रस्तुत गर्नुभएको थियो । स्रष्टा अमित घिमिरे, सुन्दर शिरीष, रचना विक, किश्मा किशोर, सुरेश बुढाथोकी, हेमन प्रधान, विजय नेपाल, दुर्गा किरण तिवारीले र रस्मी रसिक निरले आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न विधामा उत्कृष्ठ हुने विद्यार्थीलाई सम्मान गरेको थियो । त्यस्तै नेपालको तर्फबाट इन्डोनेसिया र बङ्गलादेशमा भएको तेक्वान्दो प्रतियोगितामा क्रमसः स्वर्ण पदक र कास्य पदक जित्न सफल सोहि विद्यालयको शिक्षिका करिना पुरीलाई सम्मान गरिको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले गीत, नृत्य, सिर्जना वाचन, लगायतका प्रस्तुती प्रस्तुत गर्नु भएको थियो ।


वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख गौरीशंकर पाण्डेले शिक्षा क्षेत्रमा प्रगति स्कूलले छुट्टै पहिचान बनाउन सफल भएको बताउनुहुँदै त्यसलाई कायम राख्न आग्रह गर्नुभयो । ‘अहिलेको सन्दर्भमा हामीले विद्यार्थीहरुलाई वैज्ञानिक शिक्षा प्रदान गर्न जरुरी हुन्छ’, उहाँले भन्नुभयो– ‘त्यसो गर्न सकियो भने विद्यार्थीको मात्र होईन विद्यालयको भविश्य समेत उच्च हुन्छ ।’

विद्यालयले वार्षिकोत्सवको अवसरमा विहीबार विद्यालयमा गणित विषयलाई रुचिकर बनाउने प्रभावकारी उपायहरुको विषयमा अन्र्तरक्रिया समेत गरेको विद्यालयका प्रिन्सिपल ऋषिराम नेपालले जानकारी दिनुभयो । अन्र्तक्रिया कार्यक्रममा मेलम्ची नगरपालिका भरका विद्यालयको सहभागिता रहेको समेत उहाँले बताउनुभयो ।


कार्यक्रममा प्याव्सन सिन्धुपाल्चोकका पदाधिकारीहरु, बुद्धिजीवि, शिक्षाप्रेमी, सञ्चारकर्मी, साहित्यकार, शिक्षक, अभिभावक, विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष विजयकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

, , , , ,