पाँचपोखरीको मूल सडक स्तरोन्नती हुने

पाँचपोखरी थाङपाल गाँउपालिकाको प्रमुख सडक स्तरोन्नती हुने भएको छ । पहिलो चरणमा मेलम्ची नगरपालिकाको सीमाना राम्चे डिलदेखि धापसम्मको सडक स्तरोन्नती हुन लागेको हो ।
पहिलो चरण अन्तर्गत गाँउपालिकाको सीमाना राम्चेडिलदेखि तिपेनी, गाँउपालिकाको कार्यलय थापटार, गुन्सा, मानेखर्कहुदैं धापसम्मको १० किलोमिटर सडक स्तरोन्नती हुनेछ । यसको लागि ठेक्का प्रकृया सम्पन्न भई ठेकेदारले खन्ने काम शुरु गरिसकेको गाँउपालिकाका अध्यक्ष टासी लामा ह्योल्मोले बताउनुभयो । ‘मेलम्ची नगरपालिकाको चार किलोमिटर क्षेत्र सकिनासाथ हाम्रो क्षेत्रमा पिच गर्नको लागि काम नै शुरु भइसक्यो ।’ ह्योल्मोले भन्नुभयो ‘मेलम्ची नगरपालिकाले पनि डिपिआरको प्रकृया शुरु गरिसकेकोले सबै १४ किलोमिटर क्षेत्र नै पिच हुनेछ ।’ सडक स्तरोन्नती भएपछि स्थानीय जनताको जीवनस्तरमा समेत सुधार आउने उहाँले बताउनुभयो ।
स्तरोन्नती हुने सडक १० मिटर चौडाईको हुनेछ । सो मध्ये सात मिटर कालोपत्र, एक मिटर नाली र बाँकी भाग पैदल यात्रुले प्रयोग गर्न सकिने गरि निर्माण गरिनेछ । दुई वर्षमा निर्माण कार्य पूरा गरिसक्ने लक्ष्यका साथ काम शुरु गरिएको गाँउपालिका अध्यक्ष टासी लामाले बताउनुभयो । सडक निर्माणको लागि कुल ६४ करोडको लागत स्टिमेटमा टेन्डर आह्वान गरेको र सो मूल्यमा ३८ प्रतिशत कम मूल्यमा काम गर्न चाहने निर्माण व्यवसायीको छनौट समेत भैसकेको लामाले बताउनुभयो । सडक निर्माणको लागि स्थानीयको जग्गा समेत खनेर सडक चौडा पार्नुपर्ने भएकोले सबै उपभोक्तलाई यसमा राजी गराइसकिएको र अब कुनै समस्या आउने अवस्था नरहेको समेत लामाले प्रष्ट पार्नुभयो ।
‘मेलम्ची नगरपालिकाको सीमाना रहेको राम्चेडिलमा केहि समस्या आएको छ, त्यसलाई पनि छिट्टै समाधान गर्छौं,’ लामाले भन्नुभयो–  ‘त्यसबाहेक गाउँपालिका प्रवेश गरेपछि कहिँ पनि कुनै पनि समस्या आउन नदिइ निर्धारित समयमै आयोजना सम्पन्न गराउने योजनामा छौं ।’ बाँकी मेलम्ची बजार पुलदेखि राम्चेसम्मको ४ किलोमिटर सडकको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) गर्न बाँकी रहेको छ । यो वर्ष मेलम्ची नगरपालिकाले आफ्नो खर्चमा डिपिआर गर्न सम्झौता गरिसकेको छ ।
सो सडक प्रसिद्ध धार्मीकस्थल पाँचपोखरी जान प्रयोग हुने मुल सडक पनि हो । सडकको स्तरोन्नती भएपछि पाँचपोखरी जाने धार्मीक पर्यटकको संख्या पनि बृद्धि हुने अपेक्षा गाँउपालिकाको छ । यसबाट सो क्षेत्रको मानिसको आर्थिक अवस्थामा पनि सुधार आउने गाँउपालिकाले जनाएको छ । ‘यो सडकसँगै राजधानी र पाँचपोखरीको दुरी छोटिनेछ ।’ लामाले भन्नुभयो– ‘अहिले धापबाट काठमाण्डौ जान कम्तीमा छ घण्टा लाग्ने गरेकोमा यसपछि बढीमा तीन घण्टामा नै काठमाण्डौ पुगिनेछ ।’ सो सडकमा पर्ने माझीरुम्टा र हाँडीखोलाको पुल निर्माण भइ सञ्चालन समेत भैसकेकोले निर्वाध सडक सञ्चालनमा कुनै अवरोध नआउने लामाले बताउनुभयो ।
पाँचपोखरी क्षेत्रको विकासको लागि पर्यटकलाई सहज र आकर्षक सेवा दिने योजना गाँउपालिकाको छ । धापबाट हवेली देउरालीसम्म सडक पु¥याउनको लागि ट्रयाक खोल्ने काम भैरहेको लामाले बताउनुभयो । यो वर्ष कठिन पहरा फोर्ने काम भैरहेको र अर्को वर्ष देउरालीसम्म सडक लानको लागि आवश्यक बजेट विनियोजन गर्ने योजना गाँउपालिकाको रहेको छ । देउरालीसम्म सडक पुगेपछि त्यहाँबाट भने दर्शनार्थीलाई केबुलकार मार्फत पाँचपोखरी पु¥याइने लामाले बताउनुभयो ।
केबुलकार निर्माणको लागि भने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको लागि सरकारसँग अनुमति लिने काम अन्तिम चरणमा पुगेको छ । विभिन्न कानुनी प्रकृया पूरा गर्दै छिट्टै डिपिआर निर्माणको काम सुरु गरिने लामाले बताउनुभयो । सडक स्तरोन्नतीको दुई वर्ष अवधि भित्रै सबै काम गरिसक्ने योजना रहेको गाँउपालिकाका अध्यक्ष लामाले बताउनुभयो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.