दृष्टिविहिन बालबालिकालाई पहिचानसहित विद्यालयमा भर्ना गरिनुपर्ने


लोकप्रिय समाचार÷चौतारा
चालु शैक्षिक सत्रमा दृष्टिविहिन बालबालिकालाई पहिचानसचित विद्यालयमा भर्ना गर्न उत्प्रेरित गर्नुपर्नेमा सरोकारवालाहरुले प्रतिबद्धता जनाउनुभएको छ ।

नेपाल नेत्रहिन संघ सिन्धुपाल्चोक परियोजनाले आयोजना गरेको सरोकारवालाहरुको बैठकमा उहाँहरुले भर्ना अभियान सञ्चालन भईरहेको अवस्थामा दृष्टिविहिन बालबालिकाहरुलाई विद्यालयसम्म ल्याउन पहल गर्न जरुरी रहेको बताउनुभएको हो ।
बैठकले दृष्टिविहिन बालबालिकाहरुको भर्ना गर्दा उनीहरुको पहिचान खुल्ने गरी फारम बनाउन समेत सुझाव दिएको छ । ‘हामीले दृष्टिविहिन बालबालिकालाई विद्यालयमा ल्याउन जरुरी रहेको छ’ स्रोतव्यक्ति डम्बर श्रेष्ठले भन्नुभयो– ‘बैठकले त्यस्ता बालबालिकालाई विद्यालयमा भर्ना गर्दा पहिचान खुल्ने गरी फारम बनाउन सुझाव समेत दिएको छ ।’ सुझावलाई सम्बन्धित पक्षले ध्यान पु¥याउन समेत उहाँले आग्रह गर्नुभयो ।
सो कार्यक्रममा सरकारी एवम् अन्य कार्यालयहरुमा अपाङ्गता भएका एवम् दृष्टिविहिन व्यक्तिहरुलाई प्रदान गरिने सेवाहरुलाई प्रभावकारी रुपमा लैजानुपर्ने विषयमा छलफल भएको नेपाल नेत्रहिन संघ सिन्धुपाल्चोकको अध्यक्ष सोमकुमार दुलालले जानकारी दिनुभयो ।
दृष्टिविहिन व्यक्तिहरुले थुप्रै समस्या भोगिरहनुपरेको तर त्यसतर्फ सरोकारवालाहरुको ध्यान नपुगेको विषयमा बैठकले त्यसतर्फ ध्यान दिन सबै संयन्त्रलाई आग्रह गरेको नेपाल नेत्रहिन संघ सिन्धुपाल्चोक परियोजनाका कार्यक्रम संयोजक मणिसुनदर कोईरालाले जानकारी दिनुभयो । उहाँले आ–आफ्नो तर्फबाट दृष्टिविहिन व्यक्तिहरुलाई सेवा प्रवाह गर्न सघाउ पु¥याउन सरोकारवालाहरुले प्रतिबद्धता समेत जनाएको बताउनुभयो ।
बैठकमा जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाई, चौतारा साँगाचोकगढी नगरपालिका नगर शिक्षा शाखा, घरेलु तथा साना उद्योग विकास समिति, सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च, राष्ट्रिय अपाङ्ग महासंघ, नेपाल पत्रकार महासंघ लगायत संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नेपाल नेत्रहिन संघ सिन्धुपाल्चोक परियोजनाले सन् २०१६ देखि शिक्षा, स्वास्थ्य, रोजगारी र दृष्टिविहिनको अधिकारको विषयमा विभिन्न कार्यक्रम गर्दै आएको छ । दृष्टिविहिन विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने, शैक्षिक सामग्रीहरु वितरण गर्ने, सेतो छडी वितरण गर्ने, विभिन्न सीपमूलक तालिम प्रदान गर्ने काम परियोजनाले गरिरहेको कार्यक्रम संयोजक कोईरालाले जानकारी दिनुभयो ।


, , ,
Lokpriyasamachar@. Powered by Blogger.