जल्केनी रेडक्रस उपशाखा भवन शीलान्यास


लोकप्रिय समचार नेपाल रेडक्रस सोसाइटी जल्केनी उपशाखाको भवन निर्माण कार्यको लागि असार ३ गते एक समारोहका वीच कार्यक्रमका प्रमुख अतिथि एवं सिन्धुपाल्चोक जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभडेलले उपशाखा भवनको शीलान्याश गर्नुभएको छ ।


सिन्धुपाल्चोक जिल्लाको साविक कदम्वास, ठूलोसिरुवारी र साँगाचोक क्षेत्रलाई भौगालिक रुपमा समेटेको जल्केनी उपशाखाबाट सामान्यतया वर्षेनी कुनै न कुनै प्राकृतिकरुपमा हुने विपद तथा २०७२ सालको विनाशकारी भूकम्पबाट प्रभावितहरुका लागि तत्कालिन राहत सेवा उपलव्ध गर्र्दै आएको उक्त उपशाखाले भवन निर्माण पश्चात राहत व्यवस्थापन लगायत मानवीय सेवामा प्रभावकारी कार्यान्वयन गर्न थप सहज हुने भएको छ । भवन निर्माणका लागि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० जल्केनी स्थित चन्द्रकुमारी खड्काले आफ्नो निजी पाँच आना जग्गा उपशाखाको नाममा निःशुल्क उपलव्ध गराउनु भएको थियो ।
शीलान्यास कार्यक्रमका अध्यक्ष तथा जल्केनी उपशाखाको सभापति वेलबहादुर महतको अध्यक्षतामा सञ्चालन सो कार्यक्रममा उपशाखा भवन निर्माण कार्यका लागि जिल्ला शाखाबाट प्राप्त भएको केही निर्माण सामाग्री तथा उपशाखाको पदाधिकारी तथा स्थानीय समाजसेवीको प्रयासबाट भवन निर्माणको थालनी भएको र हाल प्राप्त सहयोग मात्र पर्याप्त नहुने र मानवीय सेवाका सबै निकायसंग हातेमालो गर्दै भवन निर्माण गरिने सभापति महतले कार्यक्रममा जानकारी दिनु भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० को निर्वाचित वडा अध्यक्ष समेत रहनु भएका सभापति महतले नेपाल सरकारको विपद व्यवस्थापन सम्बन्धि नीति तथा कार्यक्रम अन्तरगत उपशाखाको कार्यक्षेत्र रहेको चौतारा साँगाचोकगढी नगरपालिकाको पाँचवटा वडा क्षेत्र भित्र सम्भावित प्राकृतिक प्रकोपको विपदमा तत्काल मानवीय सेवाका लागि राहत उद्धार तथा विपद व्यवस्थापनका लागि समेत महत्व रहने निर्माणाधीन भवनका लागि उपशाखा क्षेत्र अन्तरगतका सबै वडाका प्रमुखसंग समन्वय भई रहेको र केही आर्थिक सहयोगका लागि समेत सकारात्मक भूमिका रहेको बताउनु भएको छ ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखा अन्तरग रहेको १७ वटा उपशाखा मध्ये जल्केनी उपशाखाले पहिलो जग्गा प्राप्ती गरेको हो । भूकम्प पश्चात उपशाखाहरुको भवन निर्माणका लागि भूकम्प पनर्लाभ कार्यक्रममा प्रस्ताव गरेता पनि हालसम्म नवलपुर उपशाखाको मात्र भवन निर्माण भएको र स्थानीय पहलकदमीमा उपशाखा भवन निर्माणको थालनी जल्केनी उपशाखाबाट शुरु भएकोमा खुशी व्यक्त गर्र्दै सिन्धुपाल्चोक जिल्ला शाखा पनि शुरुमा झोलाबाटै कार्याललय सञ्चालन गर्नुपर्ने वाध्यताको स्मरण गर्दै उपशाखाले पनि हरेक विपदको कठिन परिस्थितिमा पनि प्रवाह गरेको मानवीय सेवाको प्रशंसा गर्दै भवन निर्माण लाई पूर्णता दिन सबैको योगदानको आवश्यकता रहेको कार्यक्रमका प्रमुख अतिथि राजेन्द्रमान ताल्चाभडेलले बताउनु भएको छ ।  जल्केनी उपशाखाका नि वर्तमान सभापति साधुराम खतिवडाले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा उपशाखा पूर्व सभापति खड्गबहादुर कार्की लगायतले मन्तव्य राख्नु भएको थियो ।

, , ,