गृह राजनीतिको सीमा र अस्थिरता






डा. पूर्ण सिलवाल
संयुक्त राज्य अमेरिकामा एउटा प्रख्यात भनाई छ “पार्टीसन पोलिटिक्स मस्ट स्टप एट द वाटर्स एज” । अर्थात, दलगत राजनीति पानीको किनारामा रोकिनै पर्दछ । विशाल राष्ट्र अमेरिकाको अन्तर्राष्ट्रिय सीमा पूर्वमा एट्लांटिक्र महासागर र पश्चिममा प्रसान्त महासागर पर्दछ । त्यसैले अमेरिकी दलगत आन्तरिक राजनीति समुन्द किनाराको पानीमा अर्थात अन्तर्राष्ट्रिय सीमानामा रोकिनु पर्दछ भन्ने भनाई यसैकारण रहन गएको हो । गृह राजनीति अन्तर्राष्ट्रिय सीमाभन्दा बाहिर लैजान र जान दिन हुंदैन । अन्यथा, यसले अस्थिरता बाहेक अरु केही निम्त्याउंदैन ।
सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरी निर्वाचन परिणाममा प्रभाव पारेको आरोपमाथि लामो र स्वतन्त्र छानविन भयो । बाह्य हस्तक्षेपले लोकतन्त्र कमजोर पार्दछ भन्ने अमेरिकी  समाजको स्पष्ट बुझाइ रहेको छ । त्यसैकारण, बाह्य राजनीतिक हस्तक्षेपलाई गम्भरीतापूर्वक लिने परम्परा रहेको अमेरिका लगायत परिपक्व लोकतन्त्र भएका अन्य मुलुकहरुमा राजनीतिक स्थिरता कायम रहेको छ । आन्तरिक मामिलामा बाह्य हस्तक्षेप र राजनीतिक अस्थिरतावीच गहिरो अन्तर सम्बन्ध रहेको हुन्छ । नेपाल दक्षिण एशियामा सबैभन्दा बढी राजनीतिक अस्थिरता भएको मुलुकको श्रेणीमा पर्दछ ।   
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा बिद्रोही नेता लरां डेजिरे कबिलाले युगाण्डा र रुवाण्डाको सैनिक सहयोगमा पूर्वी कङ्गो हुंदै एक पछि अर्को शहर तथा गाउं बस्तीहरु कब्जा गर्दै राजधानी किन्सासा पुगी राष्ट्रपति मोबुतुलाई सत्ताच्युत गरेर सन् १९९७ मा आफु राष्ट्रपति बने ।  राष्ट्रपति बनेको एक बर्षपछि उनले रुवाण्डा र युगाण्डाको सेना फिर्ता जान आदेश दिए । राजधानी किन्सासाबाट फिर्ता गए पनि पूर्वी कङ्गोमा युगाण्डा र रुवाण्डाको फौजले आफ्नो अधिपत्य कायम राखेर बस्योे । मुलुकको झण्डै आधा भूभागमा विदेशी सेनाको कब्जा कायम रहेपछि राष्ट्रपति कबिलाले एङ्गोला, जिम्बावे र अन्य क्षेत्रीय राष्ट्रहरुको सैनिक सहयोग लिए । यसरी शुरु भएको बाहिरी हस्तक्षेपको पक्ष र बिपक्षमा लड्न कैयन शसस्त्र बिद्रोही समुहहरु जन्मे । देशको पश्चिमी मागमा सरकारी सेना र पूर्वी भागमा बिदेशी सेनाको कब्जा कायम भई देश बिभाजित अवस्थामा पुग्यो । गृहयुद्ध रोक्ने उद्धेश्यले सन् २००० मा संयुक्त राष्ट्रसंघको तत्वावधानमा शान्तिसेना तैनाथ भयो । यसरी करिव २२ बर्ष देखि कङ्गो निरन्तर गृहयुद्धमा पिल्सिइरहेको छ । नेपालले पनि सन् २००० देखिनै त्याहां शान्ति सैनिक पठाई योगदान गर्दै आएको छ । प्राकृतिक श्रोतसाधनको दृष्टिले संसारकै धनी र विशाल देश कङ्गो अहिले विश्वको सबभन्दा गरिब र अस्थिर देशको श्रेणीमा पर्दछ । बाह्य हस्तक्षेपबाट क्षतविक्षत भएको देश कङ्गोबाट नेपालले प्रशस्त पाठ सिक्न सक्दछ । बाह्य हस्तक्षेपले राष्ट्रिय हितको पक्षपोषण गर्दैन, तर केही दल, समुह, गुट र ब्यक्तिहरुको भने हित हुन सक्दछ ।
आधुनिक नेपालको प्रारम्भ लोकतन्त्र स्थापनाबाट भयो । तर, लोकतन्त्रको स्थापना आन्तरिक बलबाट मात्र नभई आन्तरिक र बाह्य शक्तिको संयुक्त प्रयासबाट भएकोले आधुनिक नेपालको आन्तरिक मामिलामा बाह्य राजनीतिक हस्तक्षेपले संगसंगै प्रबेश पायो । त्यसपछिका प्रत्येक राजनीतिक परिवर्तनहरु राजनीतिक दलहरुबाट संचालित जनआन्दोलन र बाह्य मद्धतको तालमेलबाट मात्र हासिल भएकोले  नेपालको आन्तरिक मामिलामा वाह्य राजनीतिक प्रभाव अभिन्न अंग बन्न पुग्यो । एकतन्त्रीय राणा शासन १०४ बर्ष टिक्नु, २००७  सालमा स्थापना भएको बहुदलीय प्रजातन्त्र दश बर्षमात्र टिक्नु, पंचायत ब्यवस्था तीस बर्ष टिक्नु र पुनस्र्थापित बहुदलीय प्रजातन्त्र पन्ध्र बर्षमात्र टिक्नुले के प्रमाणित गर्दछ  भने जुन ब्यवस्थामा बढी राजनीतिक हस्तक्षेप हुन्छ त्यो व्यवस्था कम समयावधि टिक्दछ । निर्दलीय पंचायत ब्यवस्थामा भन्दा पुनस्र्थापित बहुदलीय ब्यवस्थामा बाह्य राजनीतिक हस्तक्षेपको मात्रा बढी थियो । माओबादी(सरकार शसस्त्र द्धन्दले पनि त्यो परिस्थिति श्रृजना ग¥यो । बाहय राजनीतिक हस्तक्षेप आफै आउंदैन,  आन्तरिक कारण र आन्तरिक शक्तिहरुलै निम्त्याउने गर्दछन् ।  बाह्य हस्तक्षेप आफै हिंडेर आउंदैन, बुई चढेरमात्र आउंदछ भन्ने उदाहरण कङ्गो र नेपालको इतिहासले सावित गरेको छ ।
राजनीतिक स्थिरताको पहिलो पूर्व शर्त गृह राजनीतिलाई नेपालकै सीमा मित्र कैद गर्न सक्नु हो । गृह राजनीतिलाइ कुनैपनि हालतमा अन्तर्राष्ट्रिय सीमाना भन्दा बाहिर जान दिनु हुंदैन । बाहिर लगि हालेमा शिघ्र अनुसन्धान गरी सम्बन्धित ब्यक्ति र समुहमाथि छानवीन अघि बढाउन सक्नु पर्दछ । राजनीतिक स्थिरता बिना शान्तिसुरक्षा कायम गर्न र आर्थिक बिकास गर्न सम्भव नभएकोले स्थिरता कायम राख्नु नेपालको एउटा महत्वपूर्ण राष्ट्रिय हित हो । यो राष्ट्रिय हितको प्रवद्र्धनको खातिर सबै आन्तरिक शक्ति र जनताले मलजल गर्नु पर्दछ । यसमा आंच आउने गरी कसैले कुनै गतिविधि गर्न हुंदैन र गरेको खण्डमा त्यो राष्ट्रिय हित विरुद्ध हुन जान्छ । नेपालको संविधानको धारा ५ मा राष्ट्रिय हित प्रतिकूलको आचरण र कार्य संघीय कानून बमोजिम दण्डनीय हुनेछ भनी किटान गरिएको छ । बिदेशी हस्तक्षेप निम्त्याउने बोली र ब्यबहारहरु पनि राष्ट्रिय हित प्रतिकूलका कार्यहरु हुन् । राष्ट्रिय हितको प्रतिकूल हुनेगरी कार्यहरु गर्ने व्यक्ति र संस्थाहरुमाथि निगरानी राख्ने, सूचना संकलन गर्ने र कार्वाही गर्ने दायित्व सरकारको हो । यो कार्यलाई संस्थागत गर्नु अत्यावश्यक छ ।
विडम्बना, नेपालको गृह राजनीति लामो समय देखि राहदानीधारी बनेको अवस्था छ । राहदानीधारी भएकोले स्वेच्छाले यो विभिन्न बहानामा बिदेश भ्रमणमा जाने र आउने गर्दछ । भ्रमण पूरा गरी आउंदा उज्यालो अनुहार लिएर बिजयी मुद्रामा आउने गर्दछ । विदेशी राजधानीमा फुरुङ्ग भएर घरको नालीबेली सुनाउने, प्रतिबेदन गर्ने, छलफल गर्ने, सल्लाह तथा प्रेस्क्रिप्सन लिने र राजनीतिक उद्धेश्य बोकी नेपाल आएका बिदेशीहरुसंग साछी विना अलगअलग गोप्य भेटघाट गर्ने तथा ब्यहोरा गोप्य राख्ने जस्ता आचरण नेपालीे गृह राजनीतिमा पनि देखिएको छ । राहदानीधारी राजनीतिले आफ्नो अन्तर्राष्ट्रिय सीमाना कहां टुङ्गिन्छ र अर्को देशको सीमाना कहांबाट शुरु हुन्छ भन्ने होश पाउंदैन । विदेशी राजधानीमा पुगेपछि आफ्नो ताकत, कर्तब्य र हैसियत सबै बिर्सन्छ । यसले शिघ्र र दीर्घकालमा मुलुकलाई पार्ने अहितको हिसावकिताव बिर्सन्छ र सम्झने चेष्टा पनि गर्दैन । यसले विदेशी राजधानीमा बोलेका कुराहरु आफ्नै समुह भित्र पनि बे्रकिङ्ग न्यूज बन्ने गर्दछ । यस्तो गतिविधिले गृह राजनीतिक वातावरणमा नयां तरंग र आकार दिने सम्मको प्रभाव पार्दछ । गृह राजनीतिका पात्रहरुलाई कहिले मिलाई दिन्छ त कहिले झगडा पारिदिन्छ । कहिले प्राकृतिक र कहिले अप्राकृतिक गठबन्धन बनाइदिने काम गर्दछ । भांडाकुटी खेलमा जस्तै यो खेल निश्चित नियम, सिद्धान्त र नैतिकताको परिधिभित्र खेलाइंदैन ।
दुई देशका राष्ट्रिय हितहरुवीच विवाद वा टकराव भएमा बलियो राष्ट्रले कमजोर राष्ट्रमाथि अनेक तरिकाले हस्तक्षेप गर्ने गर्दछ ।  बाह्य हस्तक्षेप साधारणतया दुई अवस्थामा हुने गर्दछ ( आफ्नै देशभित्रको भैmझगडा गहिरिएर अरु देशको लागि समेत सुरक्षा चुनौति बनेको अवस्थामा एक वा एकभन्दा बढि आन्तरिक पक्षले हस्तक्षेपको लागि बाह्य शक्तिलाई अनुरोध गरेमा र बाह्य देशले उस्को राष्ट्रिय हित र रणनीतिक योजना अन्तर्गत हस्तक्षेपको लागि अनुकूल परिस्थिति श्रृजना गरेमा । आन्तरिक शक्तिहरुवीच स्वार्थको टकराव र झैझगडाको स्थिति, राजनीतिक वा शसस्त्र द्धन्दले श्रृजना गरेको बिषम परिस्थिति, लामो राजनीतिक अस्थिरता र आन्तरिक शक्तिहरुले राष्ट्रिय स्वार्थभन्दा दल वा समुहगत स्वार्थलाई सर्वोपरि मानी क्रियाकलाप गरेको अवस्थामा बाह्य हस्तक्षेपको लागि अनुकूल वातावरण बन्दछ । बाह्य शक्तिले पनि आफुसंग पहिचान मिल्ने, राजनीतिक आस्था मिल्ने, आफ्नो स्वार्थ अनुकूलको मुद्धा बोकेको वा स्वार्थ अनुकूल काम गराउन सकिने र तात्कालीन गृह राजनीतिमा उदयीमान शक्तिको रुपमा देखापरेकोे शक्तिको पक्षमा उभिने गर्दछ ।  राजनीतिक नेतृत्व र नीति निर्माताहरुमा सामरिक संस्कृतिको अभाव र राष्ट्रिय हित तथा राष्ट्रिय सुरक्षावारे ज्ञान तथा अनुभवको कमी भएमा बाह्य हस्तक्षेपलाई सजिलो बनाइदिन्छ ।
राज्यहरुको विलय, जन्म वा विघटन आन्तरिक कलह र बाह्य हस्तक्षेपको संयुक्त कारणबाट नै भएका छन् । बाह्य हस्तक्षेप आन्तरिक र वाह्य शक्तिहरु वीचको सहकार्यबाट नै सम्भव हुन्छ । बिभिन्न देशका अनुभवलाई हेर्दा हस्तक्षेपमा संयन्त्रको काम मुख्यतया हस्तक्षेप गरिने मुलुकका पात्रहरुबाट नै लिइन्छ । हस्तक्षेप कार्यान्वयनको लागि विभिन्न हतकण्डाहरुको उपयोग गरिन्छ । प्रलोभन दिने देखि फकाउने, उक्साउने, हप्काउने, थर्काउने, धम्क्याउने, चेतावनी दिने, सुक्ष्म ब्यवस्थापन गर्ने, आपूर्तिमा बन्देज लगाउने र सैनिक हस्तक्षेपसम्मका तरिकाहरु यसका उदाहरण हुन् । बाह्य राजनैतिक हस्तक्षेप प्रायस् गरिव र कमजोर देशहरुमा हुने गर्दछ । व्याप्त गरिवी, बेरोजगारी र राज्यको कमजोर इण्टेलिजेन्स र काउण्टर इण्टेलिजेन्स क्षमता यसका प्रमुख कारणहरु हुन् ।
नेपालको विगतका घटनाहरुलाई केलाउने हो भने बाह्य शक्तिहरुले कुटनीतिक संयन्त्र भन्दा आफ्ना गुप्तचर विभागलाई बढि क्रियाशिल बनाएकोे र रणनीतिक तहमा भन्दा कार्यान्वयन तहमा बढि रुची देखाएको आरोप लाग्ने गरेको छ । नेपालले चाही वार्ताको टेवलमा बसेर समस्याको समाधान गर्ने क्षमता प्रदर्शन गर्ने भन्दा मिडियाबाजी वा सडकमा ओर्लिएर प्रदर्शन वा आरोप लगाउने प्रबृत्ति देखिएको छ । नेपालले कुटनीतिक र राजनीतिक तहमा सिधै कुटनीतिक वार्ता गरेर आपसी समझदारी बढाउने, समस्याहरु माथि स्पष्ट छलफल गर्ने र संयुक्त रुपमा सम्बोधन गर्ने उपाय अपनाउनु पर्दछ । २००७ साल यताका राजनीतिक अस्थिरताको श्रृंखलालाई विश्लेषण गरेर पाठ सिक्ने हो भने अहिले प्रत्येक राजनीतिक दल, नेता, संघसंगठन, प्रबुद्ध समुह र आम नेपालीको पहिलो र महत्वपूर्ण कर्तब्य भनेको बाह्य हस्तक्षेपको संयन्त्र आफु नवन्ने र यसको पक्षमा नउभिने अठोट गरेर राष्ट्रभक्ति प्रदर्शन गर्नु हो ।


(लेखक अवकासप्राप्त उपरथी हुनुन्छ) [email protected]


, , ,