मकै वाली जोगाउन टिन ठटाएर गस्ती


अशोक पराजुली÷साँगाचोक
जंगली जनावर बाँदर, बँदेल र दुम्सीले मकैबाली नष्ट गर्न थालेपछि यहाँका किसानहरु चिन्तित बनेका छन् । दिउँसो बाँदर र रातीको समयमा बँदेल र दुम्सीले यहाँको मुख्य बालीको रुपमा रहेको मकैबाली नष्ट गरेपछि यहाँका किसानहरु चिन्तित बनेका हुन ।


चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ११ र १२ का अधिकांश ठाउँमा मकैबाली  जंगली बँदेलले नष्ट गर्न थालेको किसानहरुले बताएका छन् । चौ.सा.गढी न.पा. वडा नं १२ छोटेडाँडाका किसानहरुले त रातको समयमा बारीमा टिन ठटाएर गस्ती नै गर्ने गरेका छन् । स्थानिय किसान रामचन्द्र गिरीका अनुसार गाउँले सबैले आलोपालो राती बारीमा डिउटी गर्छाैँ तर पनि मकै जोगाउन सकिएको छैन । सबै मकैको बोट बँदेलले सोतर पारेको छ । केहि उपाए गर्दा पनि वाली जोगाउन नसकिएको उँहाको दुखेसो रहेको छ ।
     त्यस्तै वडा नं ११ गैराथोक, पौवाथोक, कटुञ्जेपानी,पोखरे,पानीचौर,फलाँटे,शाहीथोकका  किसानहरुको पिडा पनि उस्तै छ । रातभरी बँदेल, दुम्सी आएर मकै सिध्याउँछ, दिउसो बाँदर । बाँदर धपाउन सबै काम छाडेर आफुहरुले मकैको गोठालो लाग्नुपरेको स्थानिय हरी बहादुर पुरीले बताउँनु भयो  । खाना पनि राम्रोसँग आरामले बसेर खान पाउनु छैन । बाँदर आयो भनेपछि जुठै हात दौडनुपर्छ, उँहाले दुखेसो पोख्नु भयो  ।
पाक्ने समय हुन लागेको मकै बँदेल, दुम्सी र बाँदरले नष्ट गर्न थालेपछि किसानहरु भोकमरीको समस्या उत्पन्न हुने चिन्तामा छन् । बाँदरले किसानले लगाएका कुनै पनि अन्नपात घरमा भित्र्याउन नपाउँदै सिध्याउँछ । अन्नवाली मात्रै नभएर आँप, अनार, आरु जस्ता फलफुल पनि नष्ट गरेको छ । स्थानिय हरी बहादुर भारतिले  “बाँदरको आतंक बढ्दै गएकोले नियन्त्रणको लागि नगरपालिकाले नै पहल गरिदिनु पर्ने माग गर्नु भयो  । नत्र खेती गर्ने किसान अब भोकभोकै मर्नुपर्ने अवस्था आउँछ । त्यसैले बरु बिकास पछि गराँैला पहिला किसानका समस्या समाधान गरी काम गरी खाने वातावरण बनाइदिन नगरपालिकालाई हाम्रो विशेष अनुरोध छ ।” भारतीको भनाइ रहेको छ ।
साँझ विहानको छाक टार्नको लागि लगाएको मकै वाली बँदेल, दुम्सी तथा बाँदरले सखाप पार्दा परिवार पाल्न नै समस्या हुने देखिएको किसानहरुको भनाई रहेको छ । 

, , ,