खानेपानी मन्त्रीद्वारा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा


सिन्धुपाल्चोक जिल्लालाई भदौ २० गते खुल्ला दिसामुक्त घोषणा गरिने भएको छ । सदरमुकाम चौतारामा एक भव्य समारोहका बिच खानेपानी मन्त्री विना मगरको प्रमुख आतिथ्यतामा खुल्ला दिसामुक्त जिल्ला घोषणा हुन लागेको हो । यसपट उक्त कार्यक्रमको अन्तिम तयारी भइ रहेको जिल्ला समन्वय समितीले जनाएको छ । 

सिन्धुपाल्चोक जिल्लामा रहेका तीन नगरपालिका र नौ गाउँपालिका गरी जम्मा  १२ वटा स्थानीय तहको पालिकाहरुमा खुल्ला दिसामुक्त घोषणा भइसकेपछी जिल्लालाई नै घोषणा गर्न लागिएको जिल्ला समन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्गले जानकारी दिनु भयो । उहाँका अनुसार भाद्र २० गते सबै पालिकाका  पदाधिकारी कर्मचारी जिल्ला स्थित सरकारी कार्यालयका साथै स्थानीय नागरिकहरुको उपस्थितीमा मन्त्री मगरद्वारा खुल्ला दिसामुक्त सिन्धुपाल्चोक घोषणा गर्न लागिएको हो ।  कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग, वन ,वातावरण तथा पर्यटन मन्त्री अरुण नेपाल, पूर्व कानुनमन्त्री एवम सांसद शेर बहादुर तामाङ, सांसदहरु, नेता तथा उच्च पदस्थ अधिकारीहरु समेतको सहभागीता रहने भएको छ । नेवार समुदायको धिमेवाजा, स्काउट, नेपाली सेनाको न्याउली बाजा सहितको भव्य ¥यालीका साथै राष्ट्रिय कलाकारहरुको बेजोड सांस्कृतिक कार्यक्रमको मुख्य आर्कषण रहने र भव्य समारोहका बिच जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने तयारी भइरहेको जिल्ला स्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिका संयोजक समेत रहनु भएका तामाङले जानकारी दिनुभयो । खुला दिसामुक्त जिल्ला घोषणा कार्यक्रमलाई भव्य र ऐतिहासिक बनाउन विभिन्न समितिहरु गठन गरेर कामलाई तिव्रता दिइएको समेत तामाङले जानकारी दिनुभयो । २०७२ सालमा नै सम्पन्न गरि सक्ने गरी तयारी भएको यो घोषणा कार्यक्रम भुकम्पका कारण रोकीएको थियो । साविक ७९ गाविसमा घोषणा गरेर २०७२ असार मसान्त सम्ममा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न लागिएको भएता पनि वैशाख १२ र२९ को भुकम्पका कारण यो अभियान रोकिएको थियो ।  त्यस पछी  नेपालको संविधान अनुसार स्थानीय सरकारको संञ्चालन भइ स्थानीय १२ वटै तहबाट यो घोषणा भए पछी जिल्लालाई भाद्र २० गते खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्न लागिएको हो । उक्त घोषणा सभामा विभिन्न व्यक्ति तथा संस्थाहरुलाई समेत सम्मान गरिने भएको छ ।

,