एजेन्डा वन्न नसकेको बालिघरे प्रथा


रूपक पुरी
लोकप्रिय समाचार
बालिघरे प्रथा अर्थात वर्षभरि काम गरेपछि सेवाग्राहिवाट ज्यालास्वरूप निश्चित अन्न पाउने परम्परागत चलन । यो प्रथा गाउँघरमा नगदको चलनचल्ती कम भएको समयमा सुरु भएको विश्वास गरिन्छ । तर अहिले विकृति वन्दै गएको छ । जसकारण दलितहरू आर्थिक रूपमा शोषितमात्रै होईन , सामाजिक रूपमा पीडितसमेत भइरहेका छन् ।
पुस्तैनि पेशा सम्हाल्दै आएका सिन्धुपाल्चोकका अधिकाँश दलितसँग खेति कमाई गर्ने प्रयाप्त जग्गासमेत  छैन । सदरमुकाम र बजारमा बसेर ब्यवसायिक रूपमा पुर्ख्यौलि पेशा गर्नेहरूलाई अपवादमा राख्ने हो भने अधिकाँश दलितहरू दिनभरि श्रम गरे पनि विहान वेलुका हातमुख जोर्नसमेत धौ धौ पर्ने अवस्थामा छन् । आर्थिक कमजोरिका कारण आफ्ना छोराछोरिलाई राम्रो शिक्षा समेत दिन सकिरहेका छैनन् । जाँडरक्सी सेवन, फजुल खर्च गर्ने वानि आदिले यिनिहरूलाई साच्चिकै विपन्न वनाएको छ । आआफ्ना आवश्यकता परिपुर्तिका लागि श्रम र अन्नको लेनदेन गरिने यो प्रथा सुरु हुँदा आफैमा नराम्रो थिएन होला तर समयक्रमसँगै दलितहरूले यसलाई ब्यवहारिक बनाउन नसक्दा उनिहरू आफै ठगिदै आएका छन् ।
बालिघरे प्रथाको ब्यवहारिक पक्षलाई हेर्ने हो भने एउटा दर्जिले वर्षभरिमा एउटा परिवारका लागि झण्डै १० हजार वराबरको काम गर्नुहुन्छ । हसियाँ, चुलेसी , खुकुरिमा धार लगाउने , जोत्नका लागस प्रयोग गरिने फालि, करूवा आदि वनाउने विश्वकर्माले त त्योभन्दा वढि काम गर्छन् । पछिल्लो समयमा बजार छेउछाउका केही बिश्वकर्मा र दर्जिहरूले नयाँ काम गरेवापत नगद लिए पनि गाउँघरमा त्यस्तो अबस्था छैन । समयअनुसार आफ्नो श्रमको मूल्य आफैँ तोक्न नसक्ने उनिहरू पिता पुर्खाको पालादेखि लिदै आएको चार पाँच पाथी अन्नमा काम गर्छन् । ठुलो परिवार हुँदा एक मुरिसम्म अन्न पाउँछन् । जसको मूल्य तिन हजार पनि हुँदैन । किनकि दलितहरूलाई हेपेर काँचो तथा कमसल खालको अन्न दिने गरिन्छ । कबोलेको अन्न पनि सबैले एकमुष्ठ दिदैनन्, दलितहरूका अनुसार जतिपटक बोलायो त्यतिपटक धाउनुपर्छ ।
पछिल्लो समयमा फलाम तताउन प्रयोग गरिने कोइला दुर्लभ हुदै जाँदा विश्वकर्माहरूको लागत पनि वढ्दै गएको छ । उनिहरूले आबश्यकता परिपूर्तिका लागि खरिद गर्ने सामानको मूल्य पनि दिनानुदिन बढिरहेको हुन्छ । तर उनिहरूलाई सेवाग्राहिबाट पाउने अन्नको मूल्य भने खासै वढ्न सकेको छैन । अझै पनि गाउँघरमा धेरै बालिघरे हुने दलितले आफुलाई प्रतिष्ठित ठान्ने परम्परा छ । दलितहरूको अर्को कमजोरी भनेको सानातिना आवश्यकताहरू परिपूर्तिका लागि दाताहरूमा निर्भर हुनु हो । आफ्नो करेसाबारि बाँझै राख्ने उनिहरू सागपात, खुर्सानी , नुन, बेसारजस्ता आबश्यकताहरू पनि बिष्ट भनिने सेवाग्राहीबाट मागेर पूरा गर्न मन पराउछन् । जसले गर्दा उनिहरूलाई परनिर्भर मात्र बनाएको छैन , उनिहरूको सामाजिक प्रतिष्ठामा समेत ह्रास गराईरहेको छ । दलितहरूलाई यो कुरा बुझाउने काम कतैवाट भएको छैन ।

दलितहरूमा रहेको सबैभन्दा ठूलो कमजोरि भनेको आपसि एकताको अभाव हो । जसका कारण उनिहरूले सामुहिक रूपमा एकभएर आफ्नो श्रमको मूल्य आफै तोक्न सकेका छैनन् । एउटा विश्वकर्माले बालिमा काम गर्दिन , नगद चाहिन्छ भन्यो भने छिमेकमा रहेको अर्को विश्वकर्माले बालिमा काम गर्दिहाल्छ । जसले गर्दा दलितहरू आफै ठगिन पुगेका छन् । दशै तिहारमा भाग भुरोको रूपमा दर्जिले खसिको पुच्छर तथा विश्वकर्माले गर्दन उठाउने गरिदिदा उनिहरूको सामाजिक प्रतिष्ठा एक प्रकारले ध्वस्त नै भएको  छ ।
पछिल्लो तथ्यांक अनुसार दलितका क्षेत्रमा काम गर्ने गैरसरकारी सस्थामात्र सिन्धुपाल्चोकमा एक दर्जनभन्दा बढि छन् । तर कसैले पनि बालिघरे प्रथा उन्मुलनलाई आफ्नो एजेन्डा बनाएका छैनन् । जिल्लाका अधिकाँश दलित सँघसँस्था राजनितिक दलका भातृ सँगठनको स्तरबाट उक्लेर सामाजिक परिवर्तनको तहमा पुग्न सकेका छैनन् ।
राजनीतिक दलको जिल्ला नेतृत्व तहमा दलितहरूको राम्रै उपस्थिति छ । तर कसैले पनि बालिघरे प्रथा उन्मुलनलाई प्रमुख मुद्दा वनाएका छैनन् । यद्यपि सामाजिक रूपान्तरणको नारा भने लगाउन भने कसैले बाँकि राखेका छैनन् ।



, ,