चेलीको थर परिवर्तन नहुने समुदाय

रूपक पुरी
लोकप्रिय समाचार
हिन्दु समाजमा जस्तो तामाङ समाजमा छोरी चेलीको थर परिवर्तन हुँदैन। जुन कुलमा जन्मेको हुन्छ, त्यही थरमा जिवनभर रहन्छ ।
मेलम्ची नगरपालिका ९ ज्यामिरेका प्रेमबहादरु तामाङका अनुसार तामाङ थरको चेली घले थरको केटासँग विवाह भए पनि उहाँ घले हुनुहुन्न । तामाङ सामाजिक नियम अनुसार तामाङ नै रहनुहुन्छ । श्रीमानको घरको सदस्यले सम्बोधन गर्दा तामाङनी भनेर नै बोलाउँछन्। अर्थात् जन्मको थरनै जिवनभर आफ्नो थर रहन्छ ।
थर परिवर्तन हुनु र नहुनुमा सांस्कृतिक मूल्य र मान्यताहरू जिम्मेवार हुन्छ भन्नुहुन्छ पाँचपोखरी थाङपाल गाउँपालिका ४ थाङपालकोटका नाक्पो तामाङ । उहाँका अनुसार तामाङ समाजमा माइती र कुटुम्वबिचको सम्बन्ध गाढा हुन्छ ।  आफ्नो थरको यश राख्न वा कूलको रक्षा गर्न चेली तथा माईतीको समान दायित्व हुन्छ । यसो हुनाले आमाबाबाको मृत्युपश्चात पनि चेली र माईतिबिच आवतजावत भई नै रहन्छ । तर हिन्दु समाजमा चेली माईत आउनुको अर्थ जन्मको माया मात्रै हो । आमाबाबु मरेपछि मायाको धागो झिनो हुन्छ । तामाङ समाजमा चेली माईति आउनुको अर्थ माया मोह मात्रै  होईन, समाज प्रदत्त अधिकार नै हो । आमाबाबु नरहे पनि माईतिले चेलीको  रेखदेखको पूर्ण जिम्मेवारी वहन गर्नुपर्छ ।
मेलम्ची नगरपालिका ९ ज्यामिरेका सोम बहादुर तामाङका अनुसार तामाङ समाजमा नारिहरूको ईच्छा विपरित विवाह गरिदैन । विवाहमा छोरीको राजिखुसिको ठुलो महत्व छ । यदि कसैले जवरजस्ती वा अपहरण गरेर लगेपनि छोरीले विराजिको मत जाहेर गरेमा हप्ता वा महिना दिनपछि पनि घरमा फिर्ता ल्याइन्छ ।
तीन चारवटाको आम बने पनि चेलीले आफ्नो लोग्नेप्रति अनिच्छा प्रकट गरेमा माईतिले फिर्ता ल्याउँछन्  र चेलीको ईच्छा अनुसारको अर्को कुटुम्वसँग पुनः विवाह गरिदिनुपर्दछ । घरजमको मामलामा चेलीको विचार नै सर्वाेपरि मानिन्छ ।
चेलीको मृत्यु भएमा माईतिको उपस्थिति र स्वीकृति विना लास जलाउन पाउँदैनन् । अन्तिम मृत्यु संस्कार अर्थात्  घेवामा  कुटुम्वले माईतिलाई निम्तायर ताम्वा, तान्वा र लामा आदिको उपस्थितिमा लामो डाजेङमा चेलीको हाड पुर्व शर्त अनुसार फिर्ता गर्दछन् । माईतिले चेलीको रूईवाला चरि अर्थात् घरको प्रतीक हाड ग्रहण गर्दछन् । यसरी तामाङ चेली जुन थरमा जन्मिन्छिन् र हुर्किन्छिन कुटुम्वको घर गएपनि आफ्नो थर, आफ्नो अस्तित्व, आफ्नो जन्म थरमै कायम हुने आईते तामाङ बताउनुहुन्छ ।
माईतिले सामाजिक जिम्मेवारिपूर्वक चेलीको हाड ग्रहण गरेपछि सो चेलिको अस्थिलाई पवित्र धर्मस्थल स्वयम्भु, बौद्ध वा नमोबुद्धमा लगेर बुद्ध लाई चढाईन्छ । सम्भव नभए सो ठाउँमा अस्ति पुर्‍याउन मुल लामालाई अनुरोध गरिन्छ ।
त्यसपछि वर्ष वर्षमा ती पवित्र स्थलहरूमा चेली अध्याँरोमा छट्पटिरहेको होलिन भनेर उज्यालो र शान्तिका लागि चेलीको नाममा नाङ्सान वत्ति बाल्ने गरेको तामाङहरू बताउँछन् । तामाङ चेलीमा थर परिवर्तन नहुनुका कारणहरू उनीहरूको सामाजिक प्रक्रियावाट प्रष्ट हुन्छ ।
थर परिवर्तन भनेको चेलीको अस्तित्व विलिन हुनु हो, आवतजावतको बाटो बन्द गर्नु हो, चेली आफ्नो लोग्नेको दासी बन्नु हो भन्ने विचार तामाङ समुदायमा पाईन्छ ।

,