नजिक भयो स्याउको गाउँ


रूपक पुरी
लोकप्रिय समाचार
आन्तरिक तथा बाह्य पर्यटकका लागि परिचित हेलम्बु सडक यातायातले नजिक भएको छ । केही वर्ष अघिसम्म ३ दिन लाग्ने हेलम्बुको यात्रा १ दिनमा छोटिएको छ । यसले विदेशी मात्रै होईन, आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तव्य बन्दै गएको छ हेलम्बु । करिव २०÷२५ वर्ष पहिले हेलम्बुलाई स्याउको गाउँ भनेर चिनिन्थ्यो तर अहिले हेलम्बु तिब्बती संस्कृतिले सजिएको गुम्वाको गाउँ बन्न थालेको छ । यस क्षेत्रको नुर्वुङ गाउँमा विस्तार हुँदै गएको अलैंचीको खेतीले पनि यस क्षेत्रलाई नयाँ नाम दिन थालेको स्थानीय वासिन्दा बताउँछन् । ७ वर्ष अघि सुरू भएको अलैंची खेती यहाँका वासिन्दाको प्रमुख नगदे बाली समेत बनेको छ । अलैंची खेती नै जीविकोपार्जनको स्रोत बनेको नुर्बुङका किसान गोपि भण्डारी बताउनुहुन्छ । नुर्बुङमा अलैचिका लागि उपयुक्त वातावरण, ओसिलो र चिसो ठाउँ भएकाले यसको खेतीमा स्थानीय वासिन्दाको आकर्षण बढ्दै गएको हो । सडक यातायातको विकासले नजिक हुँदै गएको हेलम्वुको परिचित तार्केघ्याङ गुम्वामा भ्रमणमा जाने आन्तरिक पर्यटकले यस क्षेत्रलाई रूचाएका छन् । यस क्षेत्रका हरेक वडामा २ देखि ३ वटासम्म गुम्वा छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने वौद्द गुम्वा, स्थानीय कला संस्कृति, आमायाङ्ग्री पर्वत, मेलम्चीघ्याङ, सूर्य पिक पनि यस क्षेत्रका विशेषता बनेका छन् ।

,