राहतको मुखसम्म देख्न पाउँदैनन् किसान

रूपक पुरी
लोकप्रिय समाचार
सरकारले प्रत्येक वर्ष कृषि क्षेत्रमा करोडौं रूपैयाँको लगानी गरेपनि त्यो रकम वास्तविक कृषकसामु आईपुग्न नसकेको गुनासो कृषकहरूले गरेका छन्। स्थानीय तह अन्तर्गत रहेका कृषि शाखा, पशु शाखा र विभिन्न गैरसरकारी संस्थाहरूमार्फत अपारदर्शी ढंगबाट रकम खर्च हुने भएकोले वास्तविक किसानले लाभ लिन नसकेको किसानहरूको भनाई छ ।कृषकहरूका नाममा सिन्धुपाल्चोकमा मात्रै वार्षिक करोडौं रूपैयाँ खर्च हुन्छ, मेलम्ची नगरपालिका ९ ज्यामिरेका अगुवा कृषक वासुदेव कटुवालले भन्नुभयो, तर त्यो रकमको एक अंश पनि हाम्रो गाउँमा आईपुगेन। सरोकारवाला निकायले मनपरि गर्दा ब्यवसायिक उत्पादनमा लागेका कृषकहरूले सुविधा पाउन नसकेको उहाँको भनाइ छ ।झोलामा गाईपालन, बंगुरपालन, कुखुरापालन, बाख्रापालन, तरकारीखेती लगायतका योजनाका फाईल बोकेर हिँड्नेले ऋणसमेत सजिलै पाउँछन् तर हामी व्यवहारमै व्यवसायिक उत्पादनमा लाग्नेलाई कसैले नहेरेको ईन्द्रावती गाउँपालिका १२ भिमटारका प्रमोद दनुवारले बताउनुभयो । जिल्लाको सबै  ठाउँमा यातायात सञ्चालन हुन थालेपछि किसानहरू व्यवसायिक कृषि प्रणालीमा आकर्षित छन् । गाईपालन, बाख्रापालन, बंगुरपालन, माछापालन, तरकारी खेती, सुन्तला खेती र बेसार, अदुवा खेती जस्ता कृषि उत्पादन प्रणालीमा युवाको आकर्षण समेत बढ्दै गएको छ । आफ्नै लगानीमा उत्पादनमा लागेका कृषकहरूले राम्रै आम्दानी गरिरहेको देखेर यसप्रति आकर्षित हुनेहरू धेरै भएपनि लगानीको अभावमा उनीहरू उत्पादनमूलक काममा लाग्न पाएका छैनन्। कृषि सम्बन्धी योजना बनाएर झोलामा मात्रै सिमित बनाउनेहरूले नै सरकारी सुविधा र ऋणसमेत सजिलै पाउने परिपाटीको कारण वास्तविक किसान निरास हुन परिरहेको छ ।वास्तविक किसानलाई सुविधा दिएर कुनै व्यवसायप्रति आकर्षित गर्न सकेमात्र आर्थिक विकास हुन सक्छ । पाँचपोखरी थाङपाल गाउँपालिकाका किसान   ठुलिमाया बञ्जराले बताउनुभयो। उहाँका अनुसार पहुँच पु¥याउन नसक्ने हामी जस्ता हजारौं कृषकले सरकारले किसानका लागि पठाएको कतिपय सुविधाबाट समेत वञ्चित हुनपरेको छ ।घर आँगनमै आईपुग्ने यातायातका साधनबाट किसानको उत्पादन सजिलै बजारसम्म पुग्ने वातावरण समेत तयार भएपनि लगानीको अभाव एकातिर छ भने अर्कोतर्फ कृषिसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय शहरी क्षेत्रभन्दा बाहिर जान सकिरहेका छैनन्। सरकारले अनुदान बापत दिने मल र बीउबिजन समेत समयमा नपाएपछि कसरी कृषि उत्पादन बढ्ला ? कृषकहरू बताउँछन् ।हाल सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा कुरिलो, तरकारी, पशुपालन, माछापालनको व्यवसाय किसानहरूले गरिरहेपनि त्यसका लागि कृषकहरूले रत्तिभर पनि सुविधा नपाएको किसानहरूको भनाइ छ । योजनाको सहि छनोट र अनुगमन गर्ने निकाय सक्रिय हुने हो भने मात्र वास्तविक किसानले सरकारी अनुदान उपभोग गर्न पाउने अवस्था रहेको छ ।

,