सुरु भयो सिन्धुपाल्चोकको गौराती जात्रा, दर्शनार्थीहरुको घुइँचो


रूपक पुरी
लोकप्रिय समाचार
जुगल हिमालले एकनाससँग चिसो सिरेटो हावा फ्याँकेको फ्याँक्यै छ । त्यसको कुनै प्रवाह छैन, व्रतालुहरूले बालेको दीपले रातलाई दिनझै बनाएको छ । केटाकेटी, तन्नेरी र बुढापाका लोकगित र भजनमा झुम्मिएका छन् ।


चारैतिरबाट बजेको माईकले पनि दर्शकको ध्यान उत्तिकै खिचेको छ । सबै व्यस्त छन्, मस्त छन्, आआफ्नै धुनमा ।यो कुनै  कथाकारले आफ्नो कथा सजाउन रचेको शब्दहरू होईनन् । कात्र्तिक पुर्णिमाको रात सिन्धुपाल्चोककै प्रख्यात गौराती भीमेश्वरको मेलाको दृश्य थियो त्यो । हरेक वर्ष  कात्र्तिक पुर्णिमाको दिन गौराती मेला लाग्ने गर्दछ ।
सदरमुकाम चौताराबाट चार किलोमिटर उत्तरमा अवस्थित सो मन्दिरमा सिन्धुपाल्चोकका विभिन्न  गाउँ, काभ्रे, दोलखा, रामेछाप, भक्तपुर, काठमाडौं, ललितपुर, चितवन, गोर्खा लगायतका दर्जनभन्दा बढी जिल्लाका हजौ नरनारीले मेला भरेको गौराती विकास समाजले जनाएको  छ ।
पूर्णिमाको रात मात्र जाग्राम बसी बत्ती बाल्ने व्रतालुको संख्या पन्ध्र हजारभन्दा बढि रहेको समाजको दावी छ । चारसय २५ वर्ष वढि पुरानो मानिएको सो मन्दिरमा चौताराबाट गुठियारहरूले भीमेश्वरको रथलाई बाजागाजासहित पूर्णिमाको साँझ यहाँ ल्याएर मिलन गराएका थिए ।
गौरातीबाट मंगलबार पुर्णिमाको साँझ परम्परागत कुसुलेहरूले बाजागाजासहित पुनः फर्काईएको रथलाई चोकचोकमा पूजाआजा गरि चौताराको पुरानो बजारमा रहेको भीमेश्वरको मन्दिरमा भित्राएपछि विधिवत् रूपमा मेला सकिने छ । सदरमुकाम चौताराका नेवार समुदायले मेलालाई चाडकै रूपमा लिने गरेका छन् । मेलामा विभिन्न भेगबाट आएका बूढापाकाहरूले रातभर लोकसंस्कृति झल्काउने भजन गाएर बुढो शरिरको तुजुक देखाए । मन्दिर परिसर वरिपरी तामाङ नाच, तामाङ सेलो, काठे नाच र श्लोक भन्नेको ताति नै लागेको थियो ।
हालको गौराती डाँडामा भर्खरै व्याएको गाईले सधैं लुकेर दूध दिने गरेको र सो स्थानबाट दिव्य स्वरूप प्रकट भै मेरो पुजाआजा गरे भलो हुने बताएपछी पुजाआजा सुरू भएको किम्वदन्ति छ । गाईले राति दूध चढाएपछी त्यस ठाउँको नाम गौ+राति गौराति रहन गएको धार्मिक मत छ । यस मेलामा भक्तजनहरुलाई मनोरञ्जन दिलाउनको निमित्त हरेक वर्षझैँ मङ्गलबार पनि सांस्कृतिक कार्यक्रम गरिएको छ । प्रदेश नं ३ को सामाजिक विकास मन्त्री युवराज दुलाल शरदको प्रमुख आतिथ्यतामा गौरातीमा भएको सांस्कृतिक कार्यक्रमले दर्शनार्थीहरुलाई मनोरञ्जन दिलाएको थियो ।
जिल्ला समन्वय समितिका उपप्रमुख बाल कुमारी सापकोटा, चौतारा सागाँचोकगढी नगरपालिका प्रमुख अमानसिं तामाङ लगायत जिल्लाका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । मेलालाई भव्य र सभ्य रुपले सम्पन्न गर्नको लागि आयोजकले गत वर्षहरुको भन्दा अझ व्यवस्थित गरेको देखिन्थ्यो भने मेलामा कुनै किसिमका अप्रिय घटना हुन नदिनको लागि बाक्लो सुरक्षाकर्मीहरुले गस्ती गरेका थिए ।
स्वास्थ्य कार्यालले निःशुल्क स्वास्थ्य सेवाको समेत व्यवस्था गरेको थियो ।  मेलामा खुल्ला रुपले हुने गरेको मदिरा बिक्री वितरण समेत यस वर्ष बन्द गरिएको थियो भने भ्रमण वर्षको सफलताको लागि र धार्मिक पर्यटक भित्राउने उद्धेश्यले चौतारा टुँडिखेलमा रमाइलो मेलाको समेत सञ्चालन गरिएको छ । चौताराको पुरानो बजार स्थित गुठी घरबाट भिमसेनको मूर्तिलाई रथमा लगी पुर्णिमाको रात गौराती भिमेश्वरको मन्दिरमा मिलन गराई एकादशीको दिन पुनः फर्काइने चलन रहेको छ ।
गौराती भिमेश्वर मेलाको अवसरमा सरकारी पूजा हुने चलन रही आएो छ । सोही चलन अन्तर्गत चौतारको पुरानो बजार स्थित भिमसेन मन्दिरमा चौतारा सागाँचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले पूजा गर्नु भएको थियो । चौतारा सागाँचोगढी वडा नं ५ को कार्यालयबाट बाजागाजा सहित नगर प्रमुखले पूजा लगेर भिमसेनथानको पूजा गर्नु भएको थियो ।    

,