पशुपालनमा प्रोत्साहन गर्दै दुई गाउँपालिका

रूपक पुरी
लोकप्रिय समाचार
चौरीको विमा गरेर र पशुपालनमा अनुदान दिएर हेलम्बु र त्रिपुरासुन्दरी गाउँपालिकाले पशुपालनमा प्रोत्साहन गरेको छ। हेलम्बु गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण चौरीको विमा गरेको छ । गाउँपालिका भित्रका सम्पूर्ण चौरीको सरकार र किसानको संयुक्त लगानीमा पशु विमा अन्तर्गत किसानले तिर्नुपर्ने विमांक गाउँपालिकाले उपलब्ध गराउने भएको छ । ७५ प्रतिशत सरकारी र २५ प्रतिशत किसान स्वयंको लगानीमा यो विमा कार्यक्रम आधारित रहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । खर्कमै पुगेर गाउँपालिकाले चौरीको विमा गराएको छ। विमासँगै गाउँपालिकाले चौरी गोठका लागि मोबाईल चार्जर र बिजुली बाल्न मिल्ने सोलार प्यानल पनि वितरण गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिकाले भने धुस्कुनका ७० जना किसानलाई गाईभैसी किन्न अनुदान दिएको छ। धुस्कुन कृषि सहकारी मार्फत गाउँसरकारले अनुदान उपलब्ध गराएको छ । भैंसी खरिदका लागि ५० जनालाई ३० हजारका दरले र गाई खरिदका लागि २० जनालाई १५ हजारका दरले अनुदान दिईएको छ । चालू आर्थिक वर्षमा त्रिपुरासुन्दरी गाउँपालिकाले धुस्कुन कृषि सहकारीका लागि १८ लाख रूपैयाँ गाई भैंसी खरिदका लागि अनुदान उपलब्ध गराएको र सहकारीले आफ्ना ७० जना सदस्यलाई सो अनुदान प्रदान गरेको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष सुकदेव रिसालले बताउनुभयो। सहकारीका अध्यक्ष बलराम न्यौपानेले दुग्ध पकेट क्षेत्र वनाउने उदेश्यले उक्त अनुदान दिन थालिएको बताउनुभयो ।

,