सिंगो सिन्धुपाल्चोक जिल्लाको ध्यान ईन्द्रावतीमा, कसले मार्ला बाजी

रुपक पुरी
लोकप्रिय समाचार
सिन्धुपाल्चोकको एकमात्र उपनिर्वाचन हुन गईरहेको ईन्द्रावति गाउँपालिका ८ मा नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टीबिच कडा प्रतिष्पर्धा हुने भएको छ । एक स्थानबाट मात्रै  चुनाव हुने  भएकाले सिँगो जिल्लाको ध्यान ईन्द्रावतिमा खिचिएको छ । सत्ता पक्ष र प्रतिपक्ष दुबै दलका शिर्ष नेता निर्वाचन प्रचारदेखी घरदैलोमा खटिएका छन् ।  वडाअध्यक्ष पदका लागि कात्तिक २७ गते ५ जनाको उम्मेदवारी मनोनयन दर्ता परेता पनि संघीय समाजवादी नेपालका उम्मेदवार प्रकाश श्रेष्ठले उम्मेदवारी फिर्ता लिदै काँग्रेसलाई सघाउने घोषणा गर्नुभएको छ । उपनिर्वाचनमा नेपाली काँग्रेसका राले तामाङ असोक, नेकपाका केदारनाथ आचार्य, राप्रपा सँयुक्तवाट ढकबहादुर श्रेष्ठ  र राप्रपाका रनबहादुर श्रेष्ठविच प्रतिष्पर्धा हुने भएको छ । यसअघि काँग्रेसले जितेको वडा नम्बर ८ का तत्कालीन वडाअध्यक्ष धनवहादुर श्रेष्ठको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । नेपाली काँग्रेसका जिल्ला सभापति बिकास लामा  र नेकपाका जिल्ला अध्यक्ष झम्क नेपालको गृह क्षेत्र भएकाले दुवैलाई आफ्नै उम्मेदवार जित्नुपर्ने दवाव परेको छ ।पहिलो स्थानिय तहको चुनावमा एक हजार १६ मत खसेको थियो भने ९ सय ४४ मत मात्रै  सदर भएको थियो । तर पछिल्लो समय १ सय ८३ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तत्कालीन निर्वाचनमा माओवादी केन्द्रका वडाअध्यक्षका उम्मेदवार केदारनाथ आचार्य धनबहादुर श्रेष्ठ सँग ९ मतको फरकमा निर्वाचन हार्नुभयो । वडाअध्यक्ष विजयी श्रेष्ठले ३६४ र पराजित आचार्यले ३५५ मत ल्याउनुभएको थियो । तत्कालीन एमालेले २२९ र राप्रपा उम्मेदवारले ४ मत मात्रै  पाउनुभएको थियो ।तत्कालीन एमाले र माओवादी केन्द्रको एकता प्रक्रियापछि साझा उम्मेदवार आचार्यको जित्ने सम्भावना देखिएपनि ईन्द्रावति गाउँपालिकाको प्रमुख  उपप्रमुख काँग्रेसबाट विजयी भएकाले नेपाली काँग्रेसको जनलहर पनि उत्तिकै रहेको विश्लेषकहरू बताउनुहुन्छ ।

, ,