सिन्धुपाल्चोकमा लप्सीजन्य व्यवसाय फस्टाउदै

रूपक पुरी
लोकप्रिय समाचार
पछिल्लो केही वर्षयता सिन्धुपाल्चोकमा लप्सीजन्य व्यवसाय फस्टाउँदै गएको छ । जिल्लाका विभिन्न भागमा सञ्चालन गरिएका लप्सीजन्य उद्योगहरूले विभिन्न किसिमको परिकार उत्पादन गरिरहेका छन्  ।
जिल्लाको ठुलोसिरूवारी, ईर्खु, मार्मिङ, ठोकर्पा, कालिका, मेलम्ची, ज्यामिरे, शिखरपुर, नवलपुर, भोटसिपा र कुञ्चोकमा लप्सीजन्य वस्तु उत्पादनका घरेलु व्यवसाय सञ्चालन भईरहेको छ । यी उद्योगहरूले क्यान्डी, अचार, तितौरा, झोलपाउँ, पातपाउँ , लप्सी पाउडर,  मःम सुप, छोएला पाउँ जस्ता लप्सीजन्य बस्तु उत्पादन गर्दै आइरहेको सिन्धु विकास केन्द्रले जनाएको छ । जिल्लामा प्रशस्तै लप्सी उत्पादन हुँदै आइरहेकाले पनि यो व्यवसायको विस्तार भएको हो । जिल्लामा उत्पादित लप्सीमध्ये ६ लाख केजी लप्सी जिल्लामा सञ्चालित उद्योगहरूले नै प्रशोधन गरि विभिन्न किसिमका लप्सीजन्य वस्तु उत्पादन गरेको सिन्धु विकास केन्द्रको तथ्यांकमा छ । जिल्लामा खपत हुन नसकेको लप्सी काभ्रेको साँगा भञ्ज्याङका साथै राजधानीका विभिन्न ठाउँमा सञ्चालित उद्योगमा विक्री वितरण गरिदै आएको सिन्धु विकास केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाका किसानहरूलाई आवश्यक तालिम, प्रविधिको विकास, बजारीकरणमा सहयोग पु‍¥याउदै लप्सीजन्य वस्तुको उत्पादनलाई बढाउने कार्यक्रम रहेको छ । हाल जिल्लाका ३ सय ३० ले रोजगारीको अवसर पाईरहेका छन् । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार जिल्लाको २७० हेक्टर जमिनमा लप्सी उत्पादन हुने गरेको र जसबाट वार्षिक दुई हजार एक सय मेट्रिक टन लप्सी उत्पादन हुने गरेको छ । जिल्लामा प्रत्येक वर्ष दुई करोड ५२ लाख रूपैयाँको लप्सी बाहिरिने गरेको छ भने जिल्लाभित्र  नै प्रशोधन गरि ३० लाख रूपैयाँ बराबरको क्यान्डी र माडा बाहिरीने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

,