प्रसिद्ध गढीमाई मेला सुरु

लोकप्रिय समाचार
विरगंज बारा जिल्लाको गढीमाई नगरपालिका–१ बरियारपुरमा रहेको ऐतिहासिक गढीमाई मेला मङ्सिर १ गतेदेखि सुरु विधिवत् रूपमा सुरु भएको छ । विश्वमै सबैभन्दा बढी बलि दिइने मेला भनेर प्रख्यात रहेको सो प्राचीन मेला एक महिनासम्म चल्ने भएको छ । गढीमाई मन्दिर मेला सञ्चालन तथा विकास समितिका अनुसार देशविदेशबाट मेला भर्न आउनु हुने भक्तजनहरुलाई व्यवस्थित गर्नका लागी विभिन्न व्यवस्था गरिएको छ । देशविदेशबाट मेला भर्न आउने सर्वसाधारण पर्यटकका लागि ६०० भन्दा बढी शौचालय राखिने र ठाउँठाउँमा धर्मावलम्बीहरुका लागि विश्रामस्थल राखिएको छ । प्रत्येक पाँच वर्षमा लाग्ने उक्त धार्मिक मेला भर्न नेपाल भारतलगायत विभिन्न देशबाट हिन्दु धर्मवालम्बीहरुका साथै पर्यटकहरु आउने गरेका छन् । मुख्य गरी राँगा, खसीबोका बली हेर्न पर्यटक आउने गरेका स्थानीयवासीको भनाइ रहेको छ  । गढीमाई मेलाको मुख्य आकर्षण भनेको बलि नै रहेको र यहाँ भाकल गर्ने र भाकल पूरा भएपछि बलि दिन आउनेहरुको सङ्ख्या अहिलेदेखि नै बढ्दै आएको पञ्चवर्षीय मेला मूल समितिले जनाएको छ । मङ्सिर १७ गते बोका तथा १८ गते राँगाको बलि दिइने साइत जुरे पनि अहिलेदेखि नै सो ठाउँमा भक्तजन तथा व्यापारीहरु भिड लाग्ने क्रम सुरु भएको छ । मेलामा दर्शनार्थीलाई प्रवेश गर्न कलैया, कवही, सिम्रौनगढ, मटिअर्वा र बरियारपुर गरी पाँच प्रवेशद्वार राखिनुका साथै मेला क्षेत्रमा सुरक्षा चुनौतीलाई चुस्त र दुरुस्त पार्न मेला परिसरमा करीब ८० सिसीटिभी क्यामेरा जडान गरिने गढीमाई मन्दिर व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष रामचन्द्र साहले बताउनुभयो। उँहाका अनुसार मेलालाई व्यवस्थित बनाउन कलैया, मझरिया, मधवन, गञ्जभवानीपुर, मलहनी, विजलपुर, अर्नाहालगायतका गाउँका १० हजारभन्दा बढी क्षेत्रफलमा १० हजार जति स्टलहरु राखिने व्यवस्था गरिएको छ ।  २०५२ मा बली चढाउन आएको खसी, बोकामा रोग देखापरेको कारण यस बर्ष उक्त स्थानमा पशुहरु स्वस्थ छ वा छैन भनी जाँच गर्नका लागि बाराको कलवाको मधवनचोक, भुरहाचाक, इन्र्वाचोक, बरियारपुर, भवानीपुर तथा गढीमाई स्कूलमा अस्थायी पशुसेवा तथा उपचार पोष्ट राखिएको छ । पञ्चवर्षीय मेला मूल समितिले टाढा–टाढाबाट आउने भक्तजनहरुले बलि दिने चौपाया खरीद गर्न नसकेमा सो बराबरको रकम चढाउनसमेत व्यवस्था गरिएको छ । मेलामा मुख्य रूपमा राँगा, खसी, बोका र परेवा चढाउने परम्परा रहेको छ । नेपलीहरुको मात्र नभई विदेशीहरुको पनि आस्थाका केन्द्र रहेको यो मेलाको व्यवस्थापनमा कुनै पनि कमी हुन नदिन नगरवासीहरु लागी परेको गढीमाइ नगरपालिकाले जनाएको छ ।