माथिल्लो भोटेकोशी बाट परीक्षण प्रसारण सुरु


राम केसी
चौतारा २१ मंसिर ÷ पटक–पटकको प्राकृतिक प्रकोपबाट झण्डै ६ वर्षदेखि बन्द रहेको निजीक्षेत्रबाट संचालित ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाबाट आज देखि परिक्षण प्रशारण गरिएको छ ।


सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत तातोपानीमा बाँधस्थल र फुल्पिङकट्टी झिर्पुमा विद्युतगृह रहेको आयोजनाबाट परिक्षण प्रशारण गरिएपनि आगामी १५ दिनपछि ब्यापारिक उत्पादन गरिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत बिक्रम स्थापितले जानकारी दिनुभयो ।
हाल दुबै युनिट सञ्चालनमा ल्याइए पनि नदीमा पानीको बहाव कम भएको कारण दैनिक २२ देखि २५ मेगावाट मात्र विद्युत् उत्पादन भएको प्रमुख कार्यकारी अधिकृत स्थापितले बताउनुभयो ।
उक्त आयोजनाको पुनःनिर्माणको लागि दुई वर्षअघि रु ७ अर्बमा चिनियाँ कम्पनी सिनो हाइड्रो व्युरो ११ संग सन् २०१९ को डिसेम्बरसम्म सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको थियो । सो आयोजनालाई २०७१ साउन १७ गतेको जुरे पहिरोले प्रशारण लाईनका केहि टावरमा क्षति पुगेपछि चार महिनासम्म बन्द भएको थियो र मर्मत पछि  पुनः सञ्चालनमा आए लगत्तै २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिको पराकम्पनले क्षति पुर्याएपछि मर्मत कार्य हुँदै गर्दा २०७३ असार २१ गते आएको भोटेकोशी बाढीले तहसनहस पारी पछि २०७४ सालमा पुनःनिर्माणको काम सुरु भएको हो । त्यसैगरि गत असार तेस्रो साता चाकुखोलामा आएको बाढीले पनि आयोजनाको प्रसारण लाइनको पाँचवटा टावरलाई क्षती पुराएको थियो । भूकम्प र बाढीले तीन किलोमिटर सुरुङ र विद्युत्गृह बाहेक सबैलाई क्षति पुर्याएपछि सम्पूर्ण संरचनालाई नयाँ रूपमा जडान गर्नु परेको आयोजनाले जनाएको छ । रासस

, , , ,