बन्देउमा प्रहरीको अँखा शिविर तथा सचेतना कार्यक्रम

 अशोक पराजुली 
लोकप्रिय समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जिल्लाको बन्देउमा सवारी चालकहरूको अँखा परिक्षण तथा सवारी नियम सम्बन्धि सचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख  प्रहरी उपरिक्षक प्रज्वल महर्जनले जिल्लामा पछिल्लो ३ महिनामा जिल्लामा ठुलो मानवीय क्षति हुनेगरी सवारी दुर्घटना भएको र त्यस्ता दुर्घटनालाई न्यूनीकरण गर्नको लागि प्रहरीले जनचेतनामूलक कार्यक्रम गरेको बताउनुभयो । प्रहरी प्रमुख महर्जनका अनुसार ७० प्रतिशत सवारी दुर्घटना सवारी चालकका कारण भएको देखिएको छ भने ३० प्रतिशत दुर्घटना भने पुराना सवारी साधन,सडकको अवस्था र यात्रुहरुको लापरबाहीको कारण हुने गरेको छ ।

त्यसैले राज्य संयन्त्रले मात्रै भन्दा पनि यात्रुहरूले पनि यस्ता कुरामा सचेतता अपनाउन पर्ने र चालकलाई सजग गराउन पर्ने बताउनुभयो । सवारी चालकहरुले आफ्नो जिम्मेवारी यात्रुहरुलाई गन्तव्यसम्म सकुशल पुर्याउनु आफ्नो जिम्मेवारी हो भन्ने सम्झनुपर्ने  बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी रामकृष्ण घिमिरेले कतिपय सवारी चालकहरुको अँखाको दृष्टि कमजोर भएका कारण पनि दुर्घटना भएका छन् । त्यसैले चालकहरूले अँखा परिक्षण गर्नु आवश्यक रहेको बताउनु भयो । पछिल्लो समय सवारी दुर्घटना धेरै बढेको बताउदै उहाँले सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि राज्य संयन्त्र ,यातायात व्यवसायी र यात्रु सबै सचेत हुनुपर्ने बताउनुभयो ।
त्यस अवसरमा आफ्नो अँखा परिक्षण गराएका चालक मान बहादुर कार्कीले सवारी दुर्घटनाको कारण के हो भन्ने त अनुसन्धानबाटै पत्ता लाग्ला तर अँखा कमजोर भएर दुर्घटना भएको भन्ने चै होइन । २२ बर्षदेखि सवारी चलाउदै आएका चालक कार्कीले चालकनै सचेत भएको खण्डमा दुर्घटना कम हुने बताउँनु भयो  । पछिल्लो समय जिल्लामा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीले जिल्लाका विभिन्न राजमार्गहरुमा सवारी चेकजाँचलाई कडाइ गरेको भने सवारी चालकहरुलाई विभिन्न  जनचेतनामूलक कार्यक्रम गरि सचेत गराउने गरेको छ ।

,