आलुले दिदैछ किसानलाई फाइदा
रूपक पुरी
लोकप्रिय समाचार
सिन्धुपाल्चोकको उच्च पहाडी क्षेत्रका साथै तल्लो क्षेत्रका किसानका निम्ति पछिल्लो समय आलु खेती आम्दानीको गतिलो माध्यम भएको छ । अन्य खेतीको तुलनामा आलु खेतीबाट बढी फाइदा हुने भएपछि किसान आलु खेतीमा आकर्षित भएका छन् । मेलम्ची र ईन्द्रावती नदी दायाँबायाँका खेतमा किसान आलु खेती लगाउन हौसिएका छन् । विगतमा गहुँ खेती लगाएर जीविकोपार्जन गर्दै आईरहेका किसान आलु खेतीमा समर्पित भएपछी यस क्षेत्रका बासिन्दाको आम्दानीमा निकै सुधार आएको ईन्द्रावती गाउँपालिका १२ भिमटारका वडाअध्यक्ष कमलरत्न दनुवार बताउनुहुन्छ ।
आलु खेती लगाएर नै यस क्षेत्रका किसानले वार्षिक करोडभन्दा बढी आम्दानी गरिरहेको स्थानीय किसान बताउँछन् । जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकका अनुसार हिउँदे र बर्खे गरि जिल्लामा पाँच हजार १५ हेक्टरमा आलु लगाइन्छ । यसबाट ६० हजार मेट्रिक टन आलु उत्पादन हुने कृषि कार्यायले जनाएको छ ।
जिल्लाको उच्च पहाडी भूभागमा उत्पादन हुने आलु पूर्णरूपमा अर्गा्निक हुने भएकाले पछिल्लो समय यहाँ उत्पादन हुने आलुले राजधानीमा समेत राम्रो बजार लिएको मुढे आलु विकास केन्द्रले जनाएको छ । यसलाई अझ व्यवस्थित र उत्पादनमूलक पार्दै किसानलाई आकर्षित गराउने हो भने सिन्धुपाल्चोकका किसानका लागि आलु खेती आम्दानीको भरपर्दो माध्यम बन्नेछ ।