ठडियो हिमाली मावि, विद्यार्थी र अभिभावकमा खुसीयाली


गोरखा । २०७२ सालको विनासकारी भूकम्पका कारण क्षतिग्रस्त सिरानचोक–६, सान्नानी भञ्जाङ गोरखाको हिमाली माविको भवन पुननिर्माण भएको छ ।  ४ वर्ष देखि जस्ताको अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयलाई जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) गोरखाले  नवनिर्मित नयाँ भवन हस्तान्तरण गरेको हो ।


इकाईले जाइकाको सहयोगमा करिब ८ करोड ४४ लाख लागतको ३ तलाका दुई ब्लक सहितको १८ कोठे नयाँ भवन भव्य समारोहका बीच विद्यालयलाई हस्तान्तरण गरेको हो । भवनमा कम्प्युटर ल्याव र लाइब्रेरीका लागि दुई हलसमेत रहेका छन् ।
२०७२ सालको विनासकारी भूकम्पको केन्द्रबिन्दु गोरखामा अवस्थित विद्यालयको भवन भूकम्पले पूर्ण ध्वस्त बनाएपछि  विद्यार्थीहरु जस्ताले  छाएको र बारेको अस्थायी टहरामा पढ्दै आएका थिए । जसले गर्दा घाम र पानीले पठन–पाठनमा समस्या पार्दै आएको थियो । पटक–पटक हुरी बतासले छाना उडाउँदा पढाइ नियमित हुन समेत समस्या थियो ।
जस्ताको अस्थायी छाप्रामा पढ्दै आएका विद्यार्थीहरु अब नयाँ भवनमा पढ्न पाउने भएपछि फुरुंग बनेका छन् । विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र प्रकाश थापा मगरले भवन उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नयाँ भवनमा पढ्न पाइने भएकोमा खुसीको कुनै सीमा नै नरहेको बताउँनु  भयो  । उँहाले छाप्रामा पढ्दा भूकम्पको सम्झना आइरहने भएपनि नयाँ भवन देखेर भूकम्प नै बिर्सिएको भन्नु हुँदै अब घाम र पानीको डर छैन–ठूलो पानी पर्नसाथ अब विद्यालय छुट्टी नहुने भयो भन्नु भयो  ।
यस्तै सोही कक्षाकी छात्रा सविना गुरुङले पनि शुभकामना मन्तव्यमा छाप्रामा पढ्दा घामपानीले सताउने गरेको गुनासो गर्दै अब पक्की भवनमा त्यो समस्या नआउने बताउँनु भयो  । ‘पानी पर्दा बाछिटाले पुरै रुझिन्थ्यो, हिलोमा कति साथीहरु लड्थे’– गुरुङले भन्नुभयो , ‘अब नयाँ भवन पाएपछि हिलोमा चिप्लिएर लड्नु पर्दैन ।’ टहरामा पढ्दा सधँै भूकम्पले झस्काइरहने भएपछि पक्की भवनले त्यो भुलाएको उहाँको भनाइ रहेको थियो ।
यस्तै, कक्षा ५ का छात्र निर्मल रानाले  छाप्रोमा पढ्दा एउटा कक्षाको हल्ला सबै कक्षामा पुगेर पढाइलाई अवरोध हुने गरेको स्मरण गर्दै अब छुट्टा छुट्टै कक्षामा पढ्न पाउने भएकामा खुसी लागेको बताउँनु भयो  । ‘अब आनन्दले पढ्न पाइने भयो’–उहाँले भन्नु भयो , अब विद्यालय पनि नियमित हुनेछ । कक्षा ५ कै  छात्रा सचिना गुरुङले जस्तामा पढ्दै आएको अवस्थामा अब पक्की नयाँ भवनमा पढ्न पाउने भएकामा आफुलाइ खुसी लागेको बताउँनु भयो  ।
भौगोलिक दूर्गमताका कारण विद्यालयको भवन निर्माणमा ढिलाइ भएको थियो । २०७४ पौषमा  निर्माण शुरु भएको विद्यालय २०७६ मंसिरमा २१ महिनामा सम्पन्न भएको हो । एक भव्य कार्यक्रमका बीच  विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको हो ।
नवनिर्मित भवनको साँचो जाइकाका चिफ इञ्जिनियर राजेश बोगटीले  पहिले जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)का प्रमुख बिष्णुप्रसाद मिश्रलाई हस्तान्तरण गर्नु भएको थियो । पछि इकाई प्रमुख मिश्रले साँचो प्रमूख अतिथि एवं गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतलाई, मन्त्री बस्नेतले सिरानचोक गाउँपालिकाका प्रतिनिधि एवं सामाजिक समितिका सभापति दिपक हमाललाई हस्तान्तरण गर्नु भएको थियो ।
सभापति हमालले साँचो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धीबहादुर गुरुङ र अध्यक्ष गुरुङले साँचो विद्यालयका प्रधानाध्यापक बुद्धीमान गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो ।
नवनिर्मित विद्यालय भवन समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले प्रदेश सरकार सार्वजनिक शिक्षाको सुदृढीकरणमा प्रतिबद्ध रहेको बताउँनु भयो  । दूर्गममा रहेको यस विद्यालयलाई आवासिय बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री बस्नेतले भौतिक सुविधा सम्पन्न भएपछि अब शैक्षिक सुधारमा लाग्नुपर्ने बताउँनु भयो  ।
सार्वजनिक विद्यालयको गुणस्तर सुधार गरी अभिभावकको पहिलो रोजाइको बनाउनुपर्नेमा जोड दिँदै बस्नेतले सिकाइलाई विज्ञान प्रविधि, सीप र रोजगारीसँग जोड्नुपर्नेमा जोड दिनु भयो  । सूचना प्रविधियुक्त सिकाइको विकल्प नभएको भन्दै उनले विद्यालयमा विज्ञान प्रयोगशाला र सूचना प्रविधिको विकासका लागि सहयोग गर्ने आश्वासन दिनु भयो  ।
सिरानचोक गाउँपालिकाका प्रतिनिधि एवं सामाजिक समितिका सभापति दिपक हमालले इकाइले बनाइदिएको नयाँ भवनको संरक्षण गर्दै यसमा  विद्यार्थी भर्ने र उनीहरुलाई गुणस्तरीय शिक्षा दिने जिम्मा गाउँपालिकाले लिने बताउँनुभयो  । भौतिक पूर्वाधारको समस्या समाधान पछि अब विद्यालयलाई नमूना बनाउने दिशामा आफूहरुको ध्यान केन्द्रित रहेको उहाँको भनाइ रहेको  थियो । गाउँपालिकाबाट विद्यालयलाई सबैखाले सहयोग गर्न आफू तयार रहेको भन्दै हमालले  स्थानीय अभिभावकहरुलाई सामुदायिक विद्यालयमै छोराछोरी पढ्न पठाउन आग्रह समेत गर्नु भयोे ।
यस्तै, विद्यालयलाई नयाँ भन हस्तान्तरण गर्दै आयोजना इकाई प्रमुख विष्णुप्रसाद मिश्रले भूकम्पले भवनसँगै भत्काएका विद्यार्थी, शिक्षक र अभिभावकका मनहरु भवनको पुनर्निर्माणसँगै पुनर्निर्माण हुने आशा व्यक्त गर्नुभयो ।  अब नयाँ बनेको भवनको संरक्षण गर्ने र यसमा विद्यार्थी भर्ने र गुणस्तरीय शिक्षा दिने काम स्थानीय सरकार र विद्यालय परिवारको भएको उहाँको भनाइ थियो । गोरखामा विद्यालय पुनर्निर्माण पछिल्लो दिनमा दु्रत गतिमा अगाडि बढीरहेको भन्दै मिश्रले सार्वजनिक शिक्षाको सवलीकरणमा सबैपक्ष एक भएर लाग्नुपर्ने बताउँनु भयो  । ‘अब केही समयपछि कोही पनि बालबालिका अस्थायी टहरामा पढ्नु पर्दैन ।’ उहाँले  भन्नु भयो  ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धीबहादुर गुरुङले नवनिर्मित विद्यालय भवनको रेखदेख गर्ने र त्यसमा विद्यार्थी भराउने जिम्मा आफुहरुको भएको बताउँनु भयो  ।
विद्यालयका प्रधानाध्यापक बुद्धीमान गुरुङलेले नयाँ भवनले आफूहरुको भूकम्पको पीडा भुलाएको बताउँनुभयो  । उँहाले ठूलो हावा चल्नसाथ र ठूलो पानी पर्न साथ विद्यालय बन्द गर्नुको विकल्प थिएन,अब विद्यालय नियमित हुने भो,  भन्नु भयो  ।
अब विद्यालयमा टाढाबाट आउने विद्यार्थीहरुका लागि छात्रावास र अत्याधुनिक विज्ञान प्रयोगशालाको आवश्यकता औंल्याउँदै उहाँले स्थानीय समुदायमा जनचेतनाको कार्यक्रम सञ्चालन गरिदिन समेत प्रदेश सरकारसँ आग्रह गर्नूभयो । नयाँ भवन बनेसँगै विद्यालय छाडेका ५ विद्यार्थी पुनः फर्किएका उहाँले बताउँनुभयो  ।
 भौतिक सुधारसँगै अब विद्यालयको पुरा ध्यान शैक्षिक सुधारमा केन्द्रित हुने भन्दै प्रअ गुरुङले  नयाँ भवन जति सुन्दर छ अब त्यसमा शिक्षण सिकाइ पनि त्यति नै सुन्दर हुने प्रतिबद्धता जनाउँनुभयो  । भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उहाँले आगामी दिनमा समेत सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

स्थानीय अभिभावक निलबहादुर गुरुङले भौतिक समस्याले विद्यालय सञ्चालनमा परेको समस्या नयाँ भवन बनेसँगै समाधान भएको बताए । सधैं छोराछोरी विद्यालय पठाउन डर लाग्थ्यो, अब निर्धक्क पठाउने छौं ।  गुरुङले भन्नु भयो । यस्तै, अर्की अभिभावक विमाया गुरुङले विद्यालयको नयाँ भवन बनेकोमा खुसी लागेको बताउँनु भयो ।
गोरखा सदरमुकामदेखि ८ कोश उत्तर दुर्गममा रहेको विद्यालयमा हाल २१५ विद्यार्थी अध्ययनरत छन् । नयाँ भवन हस्तान्तरण  कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरुसमेत प्रस्तुत गरेका थिए ।

, , , , , , ,