मेलमिलापकर्ता शान्तिका दुत उपाध्यक्ष लामा

जिल्लाको इन्द्रावती गाउँपालिकाले मेलमिलापकर्ताको क्षमता अभिवृद्दि तालिम सम्पन्न गरेको छ । तालिम इन्द्रावती गाउँपालिका न्यायिक समितिको आयोजना र प्राकृतिक श्रोत द्वन्द्व रुपाण्तरण केन्द्र नेपाल सिन्धुपाल्चोकको सह आयोजनामा मिति २०७६ पौष १० देखि ३ दिन सम्म सञ्चालन भएको थियो । तालिमको समापनमा कार्यक्रमको संचालन न्यायिक समिति सदस्य रविन्द्र खातीले गर्नु भएको थियो ।

  तालिम समापनको क्रममा इन्द्रावती गाउँपालिका उपाध्यक्ष मिरा लामा अधिकारीले नेपालको संविधानको धारा २१७ ले स्थानीय तहमा न्यायिक अधिकार प्रदान गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा १० बमोजिम प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गर्न सकिने भन्ने व्यवस्था अनुरुप प्राकृतिक स्रोत द्वन्द्व रुपाण्तरण केन्द्र नेपालको सहयोगमा तालिम प्राप्त मेलमिलापकर्ता उत्पादन गरी मेलमिलाप केन्द्र गठन गरी सञ्चालन आइ विवादहरु वडामा समाधान भइरहेको छ । यसै सन्दर्भमा मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गर्न जरुरी रहेकोले गाउँपालिकाले तालिम आयोजना गरिएको बताउनुभयो । उपाध्यक्ष लामाले यस गाउँपालिकाको मेलमिलाप केन्द्रलाई ७५३ स्थानीय तह मध्येको उत्कृष्ट बनाउन गाउँपालिका लागिरहेकोले सम्बन्धित सरोकारवालाहरुलाई सहयोग गर्न समेत आग्रह गर्नुभयो । मेलमिलाकर्तालाई वडामा शान्तिको दुत बनी दुवै पक्षको निष्पक्षतामा जोड दिई कार्य गर्न जानकारी गराउँदै मेलमिलापको क्षेत्रमा गाउँपालिका खर्च गर्न तयार रहेकोले योजना बनाई ल्याउन मेलमिलापकर्तालाई बताउनुभयो ।
सिन्धुपाल्चोक जिल्ला अदालतका श्रेष्तेदार लेखनाथ पौडेलले समापन कार्यक्रममा भनाई राख्दै स्थानीय तहलाई दिइएको अधिकारलाई प्रयोग गर्न कतिपय स्थानीय तह अलमल रहिरहेको अवस्थामा इन्द्रावती गाउँपालिकाको यस तालिमले आफुले अधिकार प्रयोग गर्ने अब्बल स्थानीय तह भएकोले अरु स्थानीय तहले पनि यसलाई सिकाइको रुपमा लिई वडा तहमा मेलमिलाप केन्द्र स्थापना गरि मेलमिलापबाट दुवै पक्षको जित सुनिश्चित हुने बताउनुभयो ।
कार्यक्रमको प्रमुख प्रशिक्षक एवं प्राकृतिक श्रोत द्वन्द्व रुपाण्तरण केन्द्र नेपालका कार्यक्रम संयोजक ठाकुर राम चौलागाईले तालिममा मेलमिलापकर्ताको हाल सम्मको अनुभव, देवानि र फौजदारी कानुनको जानकारी, मेलमिलाप सम्बन्धि कानुनि व्यवस्था, मेलमिलापकर्ताले जान्नुपर्ने सिपहरु लगायत न्यायिक कार्यविधिको बारेमा भूमिका अभिनय सहित तालिम सञ्चालन भएको बताउनुभयो । तालिम सहजिकरणका निमित्त सिन्धुपाल्चोक जिल्ला अदालत, नेपाल कानुन समाज र संस्थाका प्रशिक्षक बाट सहजिकरण भएको चौलागाईले बताउनुभयो । तालिम सहभागी वडा नंं. ११ का मेलमिलापकर्ता लाल कुमारी अधिकारीले तालिम समय सापेक्ष महत्वपूर्ण रहेको हामीले विगत देखि नै विवाद समाधान गर्दै आएकोमा समाधानको क्रममा अलमल रहेको अवस्थामा अबका दिनमा काम गर्न सहज हुने बताउनुभयो । यसैगरी वडा नं. १ का तालिम सहभागी बाबु लामाले तालिमले हामिलाई वडामा गएर आर्थिक, सामाजिक तथा अन्य कारणले न्याय नपाएका लाई वडामा नै न्याय दिन सहज भएको बताउनुभयो ।

,