विषादी रहित तरकारी खेतीमा किसानको आकर्षण, संकलन केन्द्रले तरकारी बेच्न सजिलो

दीपक खत्री, सिन्धुपाल्चोक               
पछिल्लो दश वर्षको तथ्याङ्क हेर्दा नेपालमा तरकारी खेती र उत्पादनको दर बढेको छ । गत वर्ष २ लाख ८६ हजार ८ सय ६४ हेक्टर जग्गामा तरकारी खेती भएको र ३० लाख ५८ हजार २ सय ३० मेट्रिक्टन उत्पादन भएको कृषि मन्त्रालयको तथ्याङ्क छ । तथ्याङ्क मात्रै बढेको छैन, तरकारी खेती गर्ने किसानको आम्दानी पनि बढेको छ । जिल्लामा स्थानीय सरकारहरुले व्यावसायिक तरकारी खेती गर्ने किसानका लागि प्राविधिक र आर्थिक सहयोग गर्दै आएका छन् । पछिल्लो समय धेरै जिल्लामा विषादी रहित तरकारी खेतीमा किसानको आकर्षण बढेको छ । गाउँ गाउँमा खुलेका संकलन केन्द्रका कारण तरकारी बेच्न बजार भौतारिनुपर्ने बाध्यताबाट किसानलाई छुट्कारा मिलेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ छापका हिरामाया श्रेष्ठले बारीमा साग, लसुन, गोलभेंडा, धनियाँ लगायतका तरकारी लगाउनुभएको छ । उहाँ हरेक दिन बिहान तरकारी बोकेर गाउँमै खुलेको तरकारी संकलन केन्द्रमा आउनुहुन्छ । घर फर्कंदा थैलीभरी पैसा लिएर फर्कनुहुन्छ । एक घर एक टनेल अभियान चलेपछि छापमा ८० प्रतिशत भन्दा बढि टनेल बनेका छन् । टनेलमा उत्पादन हुने तरकारीमा प्राङगारीक मल प्रयोग गरिन्छ । यसरी उत्पादन भएको तरकारी, संकलन केन्द्रमा जम्मा गरेर बजारिकरण ह’ुदै आएको छ ।  संकलन केन्द्रका अध्यक्ष दुर्गामाया श्रेष्ठ संकलन केन्द्रले किसानहरुलाई सजिलो भएको बताउनुहुन्छ । गाउँमा फलेका तरकारी विषादी रहित भएकै कारण बजारमा माग धेरै छ । छापले मात्रै माग धान्न नसकेपछि इर्खु लगायत आसपासका गाउँबाट पनि संकलन केन्द्रमा तरकारी ल्याउने गरिएको वडा न ५ का सदस्य कोमल बहादुर श्रेष्ठले बताउनुभयो। तरकारी संकलन केन्द्र खुलेपछि व्यवसायिक तरकारी खेतीमा लाग्ने किसानको सङ्ख्या पनि बढेको छ। तरकारी फलाएर राम्रो आम्दानी हुने भएपछि किसान खुशी भएका छन् । 


, ,