श्रोता क्लबको अभियानले सेवाग्राहीलाई सजिलो, निःशुल्क पाइने औषधीको नाम नेपालीमा पनि

दिपक खत्री
दमको रोगबाट ग्रसित उनी हरेकपटक स्वास्थ्य चौकी जाँदा औषधि किनेर खाने गर्नुहुन्थ्यो । दम बढेपछि जाँचका लागि नातिनी लिएर स्वास्थ्य चौकी पुगेकी भोटेकोशी गाउँपालिका–५ मार्मिङ कि पेम्साङ शेर्पा (६५) त्यतिबेला देखि औषधि किन्नु परेन । जतिबेला स्वास्थ्य चौकीमा टाँसिएको बोर्ड नातिनीले पढेपछि बोर्डमा स्वास्थ्य चौकीमा निःशुल्क पाइने ३५ प्रकारका औषधिको नाम नेपालीमा पनि लेखिएको थियो । शेर्पालाई दम बढेपछि धेरैपटक नातिनीले औषधि पसलबाट किनेर लैजाने गरेकी थिइन् । स्वास्थ्य चौकी आएको बेला आफूले किन्ने गरेको औषधिको नाम नेपालीमा पनि निःशुल्क पाइनेको सूचीमा देख्नुभयो ।

त्यहाँ लेखिएको थियो, डेक्सामियासोन(इन्जेक्सन) दम, ‘सालब्युटामोल (ट्याब्लेट) दम ।’ आफूले सँधै किन्ने गरेको औषधिको नाम त्यहाँ भएपछि नातिनीले यो औषधी पनि यहाँ पाइन्छ भनेर सोधेकी थिइन् । निःशुल्क पाइने औषधिको नाम नेपाली भाषाकै लेखिएकाले पनि नाम पढ्न सहज भएको हो । ‘मलाई दमको औषधि सित्तैमा पाइन्छ भन्ने थाहा थिएन,’ शेर्पा भन्नुहुन्छ, ‘आफू पढेलेखेको नभएपछि यहाँ टाँसेको बोर्ड पढ्न पाइन, अरु कसैले पनि भनेनन् ।’ उनले नातिनी लिएर स्वास्थ्य चौकी नआएको भए यसपटक पनि ओषधि किनेर लैजाने बताउनु भयो । यसअघि यही स्वास्थ्य चौकीमा आउँदा औषधि किन्नुपथ्र्याे। अब देखि भने किन्न नपर्ने उहाँले बताउनु भयो । ‘नातिनीले पढेपछि हामीले सोध्यौं, यहाँ सोधेपछि सित्तैमा हो भनेर औषधि दिनुभयो ।’ रोगको जाँच गर्ने यस अघिका स्वास्थ्य चौकी इञ्चार्ज हेल्थ असिष्टेन्टले औषधि यही पाइन्छ भन्नेबारे जानकारी गराएनन् । उहाँले नजिकैको औषधि पसलमा किन्न पठाउने गरेका थिए । स्थानीय अमृता श्रेष्ठलाई पनि स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि पाइन्छ भन्नेबारे जानकार थिएन । उच्च रक्तचापकी विमारी श्रेष्ठलाई पनि आफूले सेवन गर्ने औषधि निःशुल्क पाइन्छ भन्नेबारे स्वास्थ्य चौकीमा सूची टाँसेपछि थाहा भयो । त्यहाँ एटिनोलोज (ट्याब्लेट र्) उच्च रक्तचाप कम गर्ने ’ भनेर लेखिएको थियो । ‘यसअघि औषधि किनेर खाने गरेकी थिएँ,’ अमृता भन्नुहुन्छ, ‘स्वास्थ्य चौकीमा निःशुल्क पाइन्छ भनेर नेपाली भाषामै औषधि र रोगको नाम राखेपछि थाहा पाएँ ।’ उनले स्वास्थ्य चौकीमा सूची टाँसेपछि धेरै गाउँवासीलाई आफूले निःशुल्क पाइने औषधिहरुको नाम थाहा भएको बताउनु भयो । स्वास्थ्य चौकीले निःशुल्क पाइने औषधि पनि नदिएको गुनासो आउन थालेपछि स्थानीय मार्मिङ रेडियो स्रोता क्लबले अभियान थालेको थियो । गाउँका युवाहरुलाई समाजप्रति उत्तरदायित्व बनाउने, समाज विकासका लागि सामाजिक छलफल गराउने उद्धेश्यले एफएचआइ, यूयस एआइडीको सहयोगमा इक्वेल एक्सेसको साझेदारीमा सञ्चालित पारस्पारिक जवाफदेहिता स्थानीय अभियान अन्तर्गत रेडियो स्रोता क्लब गठन गरिएको थियो। क्लबमा यो विषयमा छलफल भएपछि स्रोता क्लवले स्वास्थ्य चौकीमा निःशुल्क पाइने औषधिबारे गाउँवासीलाई जानकारी गराउन अभियान सञ्चालन गरेको क्लबको अध्यक्ष याङ्लमु शेर्पाले बताइन् । ‘यहाँका अशिक्षित तथा महिला बृद्धबृद्धालाई लक्षित गरि हामीले निःशुल्क पाइने औषधिको नाम नेपालीमा टाँस्न लगाएका हौं,’ उहाँले भन्नुभयो । यो विषयमा मामिङ स्थानिय सभामा पनि छलफल भयो । क्लबमा छलफल चलेपछि स्वास्थ्य चौकी अवलोकन गर्न टोली गएको थियो । अब्यवस्थित देखेपछि सुधारका लागि क्लबले अभियान चालेको उहाँले बताउनु भयो । ‘पहिलाको हेरी स्वास्थ्य चौकी अहिले निकै ब्यवस्थित र सुधार भएको छ ।’ स्वास्थ्य चौकीले पनि क्लबको अभियानलाई साथ दिएको छ । चौकीका इञ्चार्ज हेल्थ असिष्टेण्ट रामोधर चौधरीले जनतालाई सेवा हुने भएपछि क्लबको अनुरोधलाई स्वीकार गरेको बताउनु भयो । ‘उहाँहरुले निःशुल्क पाइने औषधिको नाम सबैले बुझ्ने गरि टाँस्न लगाउनुभयो,’ उहाँले भन्नुभयो, ‘हामीले कुन रोगका कुन औषधि हो सबै खुलाएर टाँसेका छौं।’ चौधरीले स्रोता क्लबको अभियानले अहिले सेवाग्राहीलाई सजिलो भएको दाबी गर्नुभयो ।

, ,