७८ झण्डा फहराउँदै गुफाडाँडामा शैक्षिक तथा जलवायु दिवस सम्पन्न

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लामा एक भव्य समारोहका बिच जलवायु दिवस मनाइएको छ । ७७ वटै जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखहरुले आआफ्नो जिल्लाको पहिचान हुने गरि राष्ट्रिय झण्डा समेत फहराइएको उक्त दिवसको कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको हो । गत वर्ष प्रथम जलवायु सम्मेलन गरेको स्थानमा यस वर्ष जलवायु दिवस मनाइएको हो । यस अवसरमा जलवायु परिवर्तनको असर, प्रभाव र क्षतिबारे शैक्षिक स्तरमा वकृत्वकला प्रतियोगिता समेत भएको थियो ।

यो प्रतियोगितामा जिल्लाका १२ वटै स्थानीय तहका विद्यालयका छात्रछात्राले भाग लिएका थिए । १२ प्रतिस्पर्धी मध्ये चौतारा साँगाचोकगढी नगरपालिका १२ स्थित जनजागृति माविकी प्रजिता पराजुलीले प्रथम स्थान हासिल गर्न सफल हुनु भएको थियो । त्यसै गरीे त्रिपुरा सुन्दरी गाँउपालिकाका मंगलामाई माविकी उर्मिला तामाङले द्वितीय स्थान हासिल गर्नु भएको थियो भने लिसङ्खुपाखरका निर्मल उप्रेतीले तृतीय स्थान हासिल गर्नु भएको थियो । भोटेकोशी गाँउपालिका भिमसेन माविकी गंगा कार्की ले शान्त्वना स्थान हासिल गर्नु भएको थियो । पर्यटकीय स्थल मेलम्ची ९ गुफाडाँडामा ७७ जिल्लाका जिल्ला समन्वय समिति सहित ७८ नेपालको झण्डाको वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले झण्डोत्तलन गरेर कार्यक्रमको उद्धघाटन गर्नु भएको थियो । कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री बस्नेतले औद्योगिक राष्ट्रले संचालन गरेका उद्योगबाट उत्सर्जित कार्बनबाट जलवायुमा असर परेको बताउनु भयो । उँहाले नेपाल जस्ता केही मुलुकले ठूला औद्योगिक राष्ट्रको थिचोमिचो सहनु परेको बताउनु भयो  । जलवायु दिवस र भ्रमण वर्ष  २०२० को अवसरमा कार्यक्रम भएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताउनु भयो । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जलवायु परिवर्तन र असरका विषयमा नेतृत्व गर्दै यस वर्ष पनि गुफाडाँडामा जलवायु दिवस मनाएको हो  । जिल्ला समन्वय समिति महासंघसँगको समन्वयमा मेलम्ची नगरपालिकामा रहेको गुफाडाँडामा शिक्षा तथा जलवायु दिवस मनाइएको हो । गत वर्ष १० बुँदे गुफाडाँडा घोषणा पत्र जारी  गर्दै, देशभरका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखसहित जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत सरोकारवालाहरुको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्नुभएको सम्मेलन स्थल गुफाडाँडामै यस वर्ष जलवायु दिवस मनाइएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ्गले बताउनु भएको छ । गत वर्ष भएको प्रथम राष्ट्रिय जलवायु सम्मेलनको पूर्व सन्ध्यामा जिल्लामा जलवायु परिवर्तनले पारेको असरको विस्तृत अध्ययन गरिएको थियो । प्रारम्भिक अध्ययन अनुसार विगत ३० वर्षमा (सन् १९८७—२०१७) सिन्धुपाल्चोक र आसपासको जिल्लामा रहेको जलवायु मापन केन्द्रको तापक्रम र वर्षा तथ्यांकको विश्लेषण गरिएको थियो ।

, , ,