बाह्रबिसेको आन्दोलन बन्द गर्ने र प्रतिवेदन समिति बुझाउने २ बुँदे सहमति
नेत्र बस्नेत
लोकप्रिय समाचार
सिन्धुपाल्चोकको बाह«बिसे नगरपालिकाले सडकपेटी अतिक्रमण गरी बनाइएका घरटहरा भत्काएको विरोधमा स्थानीयले गर्दै आएको आन्दोलन वार्ताद्धारा समाधान गरिएको छ । आईतबार बाह«बिसे नगरपालिका स्थित बजार क्षेत्रमा अस्थायी संरचनाहरु हटाउने कार्यको अवरोधको विषयमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोककी प्रमुख गोमादेवी चेम्जोङको समन्वयमा बाह«बिसे नगरपालिकाका प्रमुख, उप–प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख, स्थानीय सरोकार समुहका सदस्यहरु, विभिन्न कार्यालयका प्रमुखहरु लगायत अन्य व्यक्तित्वहरुको उपस्थितिमा वार्ता टोली र नगरपालिका बिच छलफल गरी पाँच सदस्यीय समिती गठन गरिएको छ । 

सो समितिबाट यही मिति माघ १० र १२ गते भित्रमा प्रतिवेदन लिने, प्रतिवेदन प्राप्त पश्चात छलफल गरी नगरपालिकाबाट निर्णय कार्यान्वयन गर्ने र तत्कालको लागी वार्ता टोली पक्षबाट अन्दोलनको गतिविधि बन्द गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी चेम्जोङका अनुसार आन्दोलनकारीले आन्दोलन बन्द गर्ने र प्रतिवेदन समिति बनाउने गरी सहमति भएको छ ।जस अनुसार सातदिन भित्रमा बाह«बिसे नगरपालिका वडा नम्बर ९, ४ र ३ का वडाअध्यक्षले बजारको पुनः रिपोर्ट बनाएर प्रतिवेदन बुझाउने र कार्यान्वयन गर्ने सहमति भएको छ । जसको लागि बाह्रबिसे नगरपालिकाको तर्फबाट राजश्व प्रमुखलाई संयोजक तोकिएको छ । चेम्जोङका अनुसार राजश्व प्रमुखको नेतृत्वमा बनेको टिमले मापदण्ड भित्र रहेका बाँकी टहरा कति भत्काउने वा अन्य अवरोध कति हटाउने भनेर प्रतिवेदन पेश गर्नेछ र सोही अनुसार कार्यान्वयन हुनेछ । उक्त प्रतिवेदन टिममा संयोजक युगबहादुर खड्का, सदस्य सुरेन्द्र नेपाल, ३ नम्बरका वडाअध्यक्ष टेकबहादुर भण्डारी, ४ का वडाध्यक्ष ज्ञानेन्द्र प्रसाद श्रेष्ठ र वडा नम्बर ९ का अध्यक्ष सानुकान्छा तामाङ रहनु भएको छ । यस अघि नगरपालिकाले सडकपेटी अतिक्रमण गरी बनाइएका घरटहरा भत्काएको अभियानको समर्थन र विरोधमा प्रदर्शनसँगै दुवै पक्षले पत्रकार सम्मेलन गरेका थिए। नगरपालिकाको कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै बाह«बिसे नगरपालिकाका प्रमुख निम्फुञ्जो शेर्पाले स्थानीयका समस्या समाधानमा नगरपालिका हरदम तयार रहेकाले कुनै पनि असंयमित कार्य नगर्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको थियो । हालको सँरचनाहरुलाई ब्यवस्थित गर्ने क्रममा नगरपालिकाको कार्यपालिका बैठक तथा आगामी नगरसभाबाट बजेटको ब्यवस्था गरी पैदल मार्ग , ढल सुधार, प्रतिक्षालय निर्माण, शौचालय तथा स्थानीयको माग र आवश्यकताको आधारमा काम गर्ने समेत शेर्पाले प्रतिबद्धता जनाउनु भएको छ । उहाँका अनुसार नगरपालिकाले सडकपेटी अतिक्रमण गरी बनाइएका घरटहरा भत्काउनु अघि विभिन्न चरणमा छलफल भएको समेत बताउनु भएको छ । नगर प्रमुख शेर्पाले स्थानीय बजारबासी, व्यापारी सँग अन्तरक्रियात्मक छलफल, एक हप्तासम्म माइकिंगद्धारा सूचना प्रवाह गरिएको समेत बताउनुभयो । सार्वजनिक जग्गाको मापदण्डको सम्बन्धमा अरनिको राजमार्ग क्षेत्रमा २०३४ सालमा नै सडक कार्यालयबाट सडकको सेन्टरबाट २५ मिटर दायाँबायाँ सडक क्षेत्रभित्र पर्ने भनिएपनि कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार नभएको र नगरबाट अनुमति नदिएका घरटहरा मात्रै हटाईएको प्रमुख शेर्पाले जानकारी दिनुभयो । यसै गरी स्थानिय सरोकार समितिले भने चण्डेश्वरी होटलमा पत्रकार सम्मेलन गर्दै घर टहरा भत्काउँदा निश्चित मापदण्ड नअपनाएको, भेदभावपूर्ण तरिकाले घर टहरा भत्काउँदा स्थानीय जनताको सम्पत्ती अत्यधिक मात्रामा क्षति पुगेकाले आन्दोलन गर्नुको विकल्प नभएको बताएका थिए । राजनैतिक आस्थाका आधारमा टहरा भत्काउनु गलत काम भएको स्थानीय सरोकार समितिका संयोजक तथा बाह«बिसे नगरपालिका वडा नम्वर ४ का वडाअध्यक्ष ज्ञानेन्द्र प्रसाद श्रेष्ठले बताउनुभयो । संयोजक श्रेष्ठले जिल्लाको उच्च स्तरबाटै वार्ताको वातावरण निर्माण गरी स्थानीयलाई क्षतिपूर्ति प्राप्त हुने वातावरण निर्माण गरिदिन समेत आग्रह गरेपछी जिल्ला प्रशासन कार्यालयले वार्ता गर्न सहमति जुटाएको थियो । स्थानीय सरोकार समितिले चण्डेश्वरी होटलमा पत्रकार सम्मेलन गर्ने बेलामा अकस्मात ढुंगा प्रहार भएपछी झडपको स्थिती सृजना भएपनी प्रहरीले संयमता अपनाउँदा कुनै पनि अप्रिय घटना घट्न पाएन। बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काउन सुरु गरेपछि स्थानीयले विरोध गरेसँगै निषेधाज्ञा जारी गरिएको थियो । शुक्रबारबाट घरटहरा भत्काउन सुरु गरेपछि शनिबार स्थानीयले नारा जुलुश गरेपछि निषेधाज्ञा जारी गरिएको हो ।शनिबार बजार क्षेत्रमा नारा जुलुस गरी नगरपालिकाको कार्यालयमा तालाबन्दी एवं केही गमला समेत तोडफोड भएको थियो । नगरपालिकामा स्थानीयले लगाएको ताला भने प्रहरीले खुलाएको छ । हुलदङ्गा र अशान्ति हुन सक्ने सम्भावना देखिएकोले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को (३.क) बमोजिम निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रज्ववल महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार विहान ८ बजेबाट बेलुकी ५ बजेसम्मका लागि अर्को व्यवस्था नभए सम्मका लागि देहायका चार किल्ला भित्र हुलदङ्गा वा अशान्ति गर्ने उदेश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस भेला जम्मा हुन नपाउने गरी आदेश जारी गरिएको थियो । बाह्रबिसे बजारबाट पूर्वमा ३०० मिट, पश्चिममा, भोटेकोशी खोला, उत्तरमा ईलाका प्रहरी कार्यालय, बाह्रविसे न.पा. ४ र दक्षिणमा बाह्रविसे बजारबाट पिस्कर र क्षमादेवी जानेबाटोको सुनकोशी चोक सम्म निषेधाज्ञा जारी गरिएको थियो ।

, ,