अघिल्लो वर्षभन्दा सन् २०१९मा मानवअधिकार उल्लंघन वृद्धि

लोकप्रिय समाचार
अघिल्लो वर्ष भन्दा सन् २०१९ मा मानवअधिकार उल्लंघनमा बढोत्तरी भएको छ । मानवअधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकले पुस १७ गते एक कार्यक्रमको बीच सो कुरा सार्वजनिक गरेको हो । इन्सेक जिल्ला प्रमुख नातिबावु धितालले सन् २०१९ मा भएका मानवअधिकार उल्लंघनका घटना सर्वजनिक गर्दै अघिल्लो वर्षको भन्दा यस वर्ष घटनामा वृद्धि भएको बताउनुभयो । धितालका अनुसार अघिल्लो वर्ष ५९ वटा मानवअधिकार उल्लंघनका घटना भएकोमा यस वर्ष ८१ वटा घटना भएको छ ।

सन् २०१९ सकिएको भोलिपल्ट पुस १७ गते चौतारामा सिन्धुपाल्चोक जिल्लाको मानवअधिकारको अवस्थाबारे गरिएको समीक्षा कार्यक्रममा इन्सेकका प्रमुख नतिबावु धितालका अनुसार सन् २०१९ को जनवरी देखि डिसेम्बर ३० सम्ममा ब्यक्तिगत हत्याका ८ वटा, गोलीद्धारा घाइतेका १, हिरासतमा यातना दिएको घटना ३, गिरफ्तारीका घटना ३, पुनःगिरफ्तारी १, कार्यस्थलमा कुटपिटका घटना १, बालअधिकार उल्लंघनका घटना ३०, महिला अधिकार उल्लंघनका घटना ३१, जातिय भेदभाव ३, विस्फोट तथा आगजनीका २ वटा गरी जम्मा ८१ वटा घटनामा ९८ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ । समिक्षा कार्यक्रममा जिल्ला  समन्वय  समितिका उपप्रमुख बालकुमारी सापकोटाले इन्सेकको तथ्यांकले जिल्लामा मानवअधिकार उल्लंघनका घटनाहरु विगत वर्षको भन्दा यस वर्ष बढेको देखिएकोले सबै पक्ष संवेदनशील भएर घटना न्यूनीकरण अभियानमा लाग्न अनुरोध गर्नुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले प्रहरी लगायत बिभिन्न निकायको सचेता कार्यक्रमले घटनाहरु प्रहरी कार्यालय सम्म आउने क्रममा वृद्धि भएको उल्लेख गर्दै मानवअधिकार संरक्षणमा प्रहरी सधै क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सचिवालय सदस्य रामचन्द्र बस्नेतले मानव अधिकार संरक्षणमा राजनीतिक दलहरुको भूमिका प्रष्ट हुन जरुरी भएको र प्रतिबन्धीत समुहलाई गिरफ्तारी गरिएको घटनालाई मानवअधिकार संग हेर्न हुने की नहुने भन्ने कुरामा स्पष्ट हुन आवश्यक रहेको बताउनुभयो । राप्रपाका प्रतिनिधि हरिबहादुर नेपालले सबै पक्षको भूमिकाले मात्र मानवअधिकारको संरक्षण हुने कुरा औल्याउनुभयो । जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख कृष्णप्रसाद सुवेदीले भूकम्प पछि जिल्लाका सबै बिद्यालयहरु बालअधिकार मैत्री बनेको र सबै निकायमा बालबालिकाको सहभागिता रहेको उल्लेख गर्नुभयो । गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य राजेन्द्र शर्र्माले स्थानिय सरकारमा दर्ता भएका र त्यहि मिलापत्र भएका घटनाहरु उल्लेख गर्नुपर्ने सुझाव दिनुभयो भने सवारी जाँचका घटनालाई पनि मानवअधिकार संग जोड्नुपर्ने बताउनुभयो । जिल्ला नेपाल वार इकाइका सदस्य सशिनाथ आचार्यले प्रहरी समक्ष नआएका र लुकेर बसेका घटनाहरु धेरै हुन सक्छन् । ती घटनाहरुको खोजी इन्सेकले गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

,