मौसम बदलीको कारण जुगलमा रुघा खोकी

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका गुम्बामा मौसमी रुघाखोकी र ज्वरोका कारण २०० भन्दा बढी बिरामी परेपछी सबैको ध्यान त्यस तर्फ केन्द्रीत भएको छ  । जुगल गाँउपालिकामा यसरी रोगले ग्रसित भए पछी बाग्मती प्रदेश सरकारका सामाजिक बिकास मन्त्री युवराज दुलाल शरदले तत्काल स्वास्थ्य परीक्षण गरि नागरिकको उपचारमा सहयोग गर्न सम्बन्धित सबैमा अनुरोध गर्दै अनाबश्यक शङ्काको भरमा त्रसित नहुन बिरामीहरुलाई अनुरोध गर्नु भएको छ । बाग्मती प्रदेश सरकारका सामाजिक विकासमन्त्री दुलालले जुगल गाउँपालिकाको गुम्बामा देखिएको भाइरल रुघा, खोकी, ज्वरोको बारेमा अनुसन्धान र नमुना संकलन गर्न स्वास्थ्यकर्मीको टोली पुगिसकेको भन्दै कोरोनाको संक्रमण नदेखिएको र संयमता अपनाउन सबैमा आग्रह समेत गर्नू भएको छ ।

यसैबिच बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले बाग्मती प्रदेश भरिनै कोरोना भाईरस नभएको मन्त्रालयको प्रवक्ता दिपेन्द्र सुवेदीद्वारा जारी विज्ञप्तीमा जनाएको छ । वुधबार प्रकाशित विज्ञप्ती अनुसार हालसम्म प्रदेशमा कुनैपनि शंखास्पद बिरामी नदेखिएको हुँदा विशेषज्ञको अनुसन्धान र निदान एवं किटानीविना कुनै पनि अपवाह र भ्रममा नपर्न अनुरोध गरिएको छ । जुगल गाउँपालिका गुम्बामा रुघाखोकी लाग्ने स्वास फेर्न समस्या देखिने भएपछि गाउँपालिकाले तत्काल स्वास्थ्यकर्मी परिचालन गरेर रोगको पहिचान गर्न र उपचारका लागि सहयोग गर्न सरकारसँग माग गरेको थियो । मागमा छिमेकी राष्ट्र चिनमा भएको कोरेना भाइरसको जस्तो हुन सक्ने हो की भन्दै समयमा नै सरकारको ध्यानाकर्षण समेत गराएको हो । रुघा खोकी बाट सिंगो गाउँ बिरामी परेपछि गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ र जल्बीरे स्वास्थ्य कार्यलयका डा. पिताम्बर खनाल सहितको नेतृत्वमा चिकित्सकहरुको टोली गाउँमा पुगेर उपचार सुरु गरेको र त्यस्ता गम्भीर खालका कुनै पनि रोगहरु फेला नपरेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा दत्त चापागाईले जानकारी दिनु भएको छ ।
विशेष गरी बालबालिका र वृद्धाहरु बढी मारमा परेको गुम्बामा पुगेको चिकित्सकहरुको टोलीले जानकारी दिएका छन् । यो समाचार तैयार पार्दासम्म कोरोनाको कुनै पनि संकेत देखिएको छैन । डाक्टर पिताम्बर खनालले कोरोनाको सङ्केत सम्म पनि नदेखिएको र बिरामीहरुलाई गुम्बामा रहेको स्थानीय सामुदायिक स्वास्थ्य केन्द्रमा राखेर उपचार गराइरहेको बताउँनु भएको छ । यसै विच स्वास्थ्य मन्त्रालयले सिन्धुपाल्चोकमा फैलिएको सामान्य रुघाखोकीलाई कोरोना भाइरसको आशंका गरेर गलत हल्ला फैलाईएको बताएको छ । चिसोका कारण मौसम परिवर्तन सँगै यस्तो रुघा खोकी र ज्वरो समेत आउने गरेको मन्त्रालयले जनाएको छ । यसै गरि जिल्ला विपद् व्यवस्थापन समितीका अध्यक्ष समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले मौसमी रुघा खोकीका कारण यस्तो हुन सक्ने बताउँदै विभिन्न समाचार माध्यममा आएको जस्तो कोरना भाइरस नभएको र स्वास्थ्यकर्मीहरु उत्त, स्थानमा गई रोगको परिक्षण गरिरहेको बिज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ ।

, , , , , ,