दुई स्थानमा स्वास्थ्यकर्मीसहित आइसोलेसन वार्ड अन्य स्थानमा तयारी तिब्र

अर्जुन शर्माः चौतारा
कोभिट–१९ अर्थात् कारोना भाइरसको उच्च सतर्कता अपनाउँदै सिन्धुपाल्चोकका दुई  स्थानमा आइसोलेसन वार्ड स्थापना भएको छ । जिल्ला स्वस्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा आइसोलेसन वार्ड तयार भइसकेको जानकारी दिनुभएको छ । “दुई ठाँउमा वार्ड स्थापना भइसकेको छ अन्य ठाँउमा तयारीको अन्तिम चरणमा छौँ” उहाँले भन्नुभयो । उहाँका अनुसार यास्तो वार्डमा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गरिने छ ।

चापागाइका अनुसार चौतारा र बाह्रबिसे सँगै सात स्थानमा आइसोलेसन वार्ड स्थापना गरिने भएको छ ।
 जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसे सहित अन्य सात स्थानमा आइसोलेसन वार्ड सञ्चालनमा ल्याउन लागिएको छ । चौतारा अस्पताल र बाह्रविसेमा एक सय शैयाको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइ सकिएको भन्दै उहाँले अन्य स्थानमा केही दिनभित्रै सञ्चालनमा ल्याउने जानकारी दिनुभएको छ  ।
जिल्लामा हालसम्म तयार भएका आइसोलेसन बाहेक चौतारा साँगाचोकगढी नगरपालिकाको मेलचौर, त्रिपुरासुन्दरी, गाउँपालिकाको तौथली मेलम्चि, जलबिरे र पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनीमा बढी क्षमताका आइसोलेसन वार्ड सञ्चालनमा ल्याउने तयारी छ ।
जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, गैरसरकारी संस्था लगायत सरोकारवाला निकायसँगको बहुपक्षीय र संयुक्त बैठकको छलफलपछि स्वास्थ्य कार्यालय आइसोलेसन वार्डको तयारीमा जुटेका चापागाईँले जानकारी दिनुभएको छ ।

, ,